• १२ साउन २०८१, शनिबार

स्थानीय तह निर्वाचन- २०७९

निर्वाचनको सबै तयारी पूरा, निर्धक्कसाथ मतदान गर्न आह्वान

blog

निर्वाचन आयोगको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । साथमा आयोगका अन्य आयुक्त । तस्बिरः सुजन गुरुङ

काठमाडौं, वैशाख २७ गते । स्थानीय तह सदस्य निर्वाचन २०७९ को सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी गराएको छ । मौन अवधि सुरु हुनुअघि मंगलबार विशेष पत्रकार सम्मेलनमार्फत् आयोगले सो जानकारी गराएको हो । 

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने मतदानलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान गर्नुभयो । निर्वाचनको सबै तयारी पूरा भइसकेकाले निर्धक्क भएर मतदानमा सहभागी हुन उहाँले मतदातालाई आग्रह गर्नुभयो । मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्थासहित सुरक्षा व्यवस्था चुस्त र भरपर्दो बनाइएकाले निर्धक्कसाथ मतदानमा सहभागी हुन उहाँले आग्रह गर्नुभयो । 

निर्वाचन सम्पन्न गराउन सञ्चार माध्यमले उत्साहजनक सहयोग गरिरहेको र आगामी दिनमा पनि सो सहयोगको अपेक्षा व्यक्त गर्नुहुँदै उहाँले सञ्चार माध्यमलाई धन्यवाद व्यक्त गर्नुभयो । शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सम्पन्न गराउनमा मिडियाको भूमिका महत्वपूर्ण रहने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको बताउनुभयो । “वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोग मतदाताहरुलाई हार्दिक अपिल गर्दछ” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, स्थानीय तह सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पूरा भइसकेको आयोगले जानकारी गराएको छ । “यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन्” विज्ञप्तिमा भनिएको छ, “यो निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरुबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्दैछन् ।” 

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरुसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरु आ–आफ्नाे मतदान केन्द्रमा पुगिसकेको आयोगले जानकारी गराएको छ । “स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा छन् । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्” विज्ञप्तिमा उल्लेख छ । 

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइसकिएको आयोगले जनाएको छ । वैशाख २८ र २९ गते सबै मतदानस्थलहरुमा मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरुबाट मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकाबारे जानकारी दिने कार्यक्रम रहेको पनि आयोगले जनाएको छ । 

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरुमा निवेदन दिएका मतदातालाई वैशाख २८ र २९ गते सम्बन्धित मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गरिने पनि आयोगका प्रवक्ता पौडेलले बताउनुभयो । “बढीभन्दा बढी मतदाताहरुलाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन सरकारी संचारमाध्यम लगायत आमसञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रब्यदृश्यको माध्ययमबाट विभिन्न जानकारीमूलक सन्देशहरु प्रसारण भइरहेका छन्” आयोगले विज्ञप्ति मार्फत भनेको छ, “मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवकलगायत मतदान कार्यमा खटिने सम्पूर्ण जनशक्तिहरुलाई विभिन्न चरणमा आवश्यक तालिम तथा प्रशिक्षणको कार्य समेत सम्पन्न भई मतदान स्थलमा पुगिसकेका छन् ।” 

“निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता विपरीत भएका कार्यहरु हटाउन आदेश दिने, स्पष्टीकरण सोध्ने, सचेत गराउनेजस्ता कार्यहरु भइरहेका छन्” विज्ञप्तिमा भनिएको छ, “आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि आयोगले उल्लङ्घनका घट्नामा तत्काल कारवाही गर्न सक्ने अधिकार समेत दिई १९ वटा उच्चस्तरीय टोली संवेदनशील ठानिएका विभिन्न स्थानहरुमा परिचालन गरेको छ ।”

अनुगमन टोलीलाई निर्वाचनको गोपनीयतामा प्रतिकूल असर नपर्नेगरी निर्वाचन कार्यसँग सम्बन्धित दृश्यको छायाङ्कन गर्न आवश्यकताअनुसार भिडियो क्यामेरा वा अन्य विद्युतीय उपकरण प्रयोग गरी दृश्य छायाङ्कंन गर्नसक्ने आयोगले प्रष्ट पारेको छ । विज्ञप्तिमा भनिएको छ, “मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी त्यस्तो कार्य भएगरेको पाइएमा तत्काल आवश्यक कारवाही गरी आयोगलाई जानकारी गराउने अधिकार दिइएको छ ।”

मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने आयोगले प्रष्ट पारेको छ । सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिहरुको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्नुपर्ने भएकाले मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनहरुलाई आयोगले निर्देशन दिएको जनाएको छ । 

“निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक हुन्छ” विज्ञप्तिमा भनिभएको छ, “यो अवधि मतदानको समयभन्दा ४८ घन्टा अगाडि अर्थात् वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि शुरु हुँदैछ ।” यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने आयोगले प्रष्ट पारेको छ ।

राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री राखिएको भएमा तत्काल हटाउनु पर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न नहुने आयोगले जनाएको छ । “सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन नहुने हुँदा यस बमोजिम आचरण पालन गरिदिन सम्बन्धित सबैमा आयोगले आग्रह गरेको छ” आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आवतजावतमा रोक

मतदानको कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावतमा आयोगले रोक लगाएको छ । मतदान हुने दिन आन्तरिक रुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ । “उम्मेदवार र अत्यावश्क सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध गराउने व्यवस्था गरिएको छ” विज्ञप्तीमा अगाडि भनिएको छ, “निर्वाचनमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौन अवधि शुरु भएपछि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेका क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन गर्न सख्त निषेध गरिएको छ ।”

अनुगमनको संरचना

निर्वाचन आचारसंहिता उल्लङ्घनको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाइएको आयोगले जनाएको छ । आयोगको अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध गरिएको आयोगले जनाएको छ । 

विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमनका लागि अधिकार प्रत्यायोजनसहित विशेष अनुगमन टोली खटाइएको पनि आयोगले जनाएको छ । सो टोलीले आचारसंहिता विपरीत दल र उम्मेदवारले झण्डा, चिन्ह र गाडी प्रयोग गरेमा, अनाधिकृत रुपमा सामानको ओसारपसार वा नगद वा जिन्सी वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो । 

उहाँकाअनुसार निर्वाचनमा सुरक्षाको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाइएको छ, जसअन्तर्गत नेपाली सेनासहित तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ । पत्रकार सम्मेलनमा आयोगका आयुक्तहरु रामप्रसाद भण्डारी, ईश्वरीप्रसाद पौड्याल, डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर ज.ब.रा. र आयोगका सचिव गोकर्णमणि दुवाडीको समेत सहभागिता थियो । 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।