भाइबहिनीहरू ! बाबुआमाको मृत्यु भएका वा कोही संरक्षक नभएका बालबालिकालाई टुहुरा भनिन्छ । रेखदेख र पालनपोषण गर्ने कोही नभएका बालबालिकालाई अनाथ भनिन्छ । यस्तै टुहुरा र अनाथ बालबालिकाको संरक्षण गर्ने उद्देश्यले नेपाल बाल सङ्गठनको स्थापना २०२१ सालभदौ ४ गते गरिएको हो ।
तत्कालीन मुमा बडामहारानी रत्न शाहले आफ्नो जन्मदिन पारी भदौ ४ बाल सङ्गठन स्थापना गर्नुभएको थियो । लामो समय बाल सङ्गठनको अध्यक्षमा उहाँ नै रहनुभयो । २०४६ सालमा प्रजातन्त्रको पुनः प्राप्तिपछि बाल सङ्गठनको अध्यक्षमा रीतासिंह वैद्य नियुक्त हुनुभयो । २०७७ सालबाट बाल सङ्गठनको अध्यक्षमा विद्या उपाध्याय न्यौपाने हुनुहुन्छ ।
नेपाल बाल सङ्गठनलाई बालमन्दिर भनेर पनि चिनिन्छ । यो एउटा सामाजिक संस्था हो । यो स्वतन्त्र र नाफा नकमाउने संस्था हो । बालबालिकामाथि हुने सबै प्रकारका दुव्र्यवहार, शोषण र अन्यायको अन्त्यका लागि बाल अधिकारका गतिविधि सञ्चालन गर्ने उद्देश्य बाल सङ्गठनको रहेको छ ।
यो संस्थाले टुहुरा र अनाथ बालबालिकालाई ल्याएर बालमन्दिरमा संरक्षण दिने, हेरचाह गर्ने र शिक्षादीक्षा प्रदान गर्ने काम गर्दछ तर यसरी बालबालिका ल्याउँदा स्थानीय निकाय, प्रहरी प्रशासनको उपस्थितिमा उनीहरूको अनुमति लिएर मात्र बालमन्दिरमा ल्याइन्छ ।
२०७७ साल कात्तिक २२ गते बाल सङ्गठनले आफ्नो गतिविधि, अवस्थाबारे सर्वसाधारणलाई जानकारी दिन श्वेतपत्र जारी गरेको थियो । काठमाडौँ महानगरपालिका–१, नक्सालमा बाल सङ्गठनको केन्द्रीय कार्यालय रहेको छ । लगभग १०२ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा पश्चिमा कलाशैलीमा निर्माण भएको दरबार रहेको छ । सो भवनलाई सीता महल भनिन्छ । सो दरबार तत्कालीन प्रधानमन्त्री भीमशमशेरको हो । उनकी महारानीको नाम सीता थियो । उनकै नामबाट सो भवनको नाम राखिएको हो । भूकम्पले क्षतविक्षत भएको यो भवनको प्रबलीकरण भइरहेको छ । प्रबलीकरणलाई अङ्ग्रेजीमा रेक्ट्रोफिटिङ भनिन्छ । पुराना भवनलाई पुरानै शैलीमा पुरानै निर्माण सामग्री प्रयोग गरी मर्मत गर्ने कार्यलाई प्रबलीकरण भनिन्छ ।
बाल सङ्गठन अन्र्तगत नौ जिल्लामा १० बालगृह सञ्चालनमा छन् । ती १० बालगृहमा ३५८ बालबालिका संरक्षित छन् । ती बालबालिकाको हेरचाहका लागि २३ जना आवासीय कर्मचारी रहेका छन् । बाल सङ्गठनको केन्द्रीय कार्यालयमा ८७ जना बालबालिका छन् । सिफलको बाल संरक्षण गृहमा १०३, मकवानपुरको भीमफेदी बालगृहमा ३३, काभ्रेपलाञ्चोक पाँचखालको समाज कल्याण बाल गृहमा ३०, दोलखाको गौरीशङ्कर बालगृहमा ३०, कपिलवस्तु बालगृहमा ३०, म्याग्दी बालगृहमा १३, गोरखा बालगृहमा २२, सर्लाही बालगृहमा १० जना बालबालिका रहेका छन् । ।