• २७ पुस २०८१, शनिबार

बिरुडामा वर्णन गरिने सिलङ्गो सङ्कटमा

blog

तस्बिरः गोरखापत्र

बैतडी समाचारदाता 

बैतडी, भदौ २१ गते । 

‘सिलङ्गो फुले जस्तै फुल्नू 

दुबो जस्तै फैलिनू,  

हिमालमा हिउँ छउन्जेलसम्म जिउनू’

गौरा पर्वमा बिरुडाको प्रसाद (पञ्च अन्न) बाँड्ने बेला आशिष वचनमा उच्चारण गरिने लोपोन्मुख वनस्पति सिलङ्गो संरक्षण नहुँदा सङ्कटमा परेको छ । दशकअघि जिल्लाका अधिकांश ठाउँमा पाइने सिलङ्गो पछिल्लो समय जलवायु परिवर्तन र जथाभाबी सडक निर्माणले सङ्कटमा परेको छ ।  

सिलङ्गो नेपालमा मात्रै पाइने सधैँ हरियो पात रहिरहने लोपोन्मुख वनस्पति हो । बाह्रै महिना हरियो पातको छाया र सुवास दिने सिलङ्गो सुदूरपश्चिमतिर आशीर्वादसँग जोडिएको महत्वपूर्ण बिरुवा हो । यो बिरुवा काट्नु हुँदैन भन्ने धार्मिक मान्यता छ । चैतदेखि जेठसम्म फुल्ने सिलङ्गोको मन्त्रमुग्ध पार्ने बास्ना कोसौँ टाढासम्म पुगेर सुवास फैलाउँछ ।

नेपाल सरकारले संरक्षित वन घोषणा गरेको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेक वन र सिगास गाउँपालिकाको सिगास संरक्षित वनमा सिलङ्गो पाइन्छ । पछिल्लो समय स्थानीय तहको सरकारले संरक्षित वनमा डोजरले सडक खन्दा सिलङ्गो सङ्कटमा परेको डिभिजन वन कार्यालय बैतडीका वन अधिकृत दिलीपकुमार यादवले बताउनुभयो । उहाँले पर्यावरणीय अध्ययन नगरी सडक खन्दा अन्य वनसँगै सिलङ्गो पनि सङ्कटमा परेको बताउनुभयो । वन कार्यालयले स्थानीय सरकारलाई वन विनाश हुने गरेर सडक निर्माण नगर्न पत्राचार गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । 

धर्तीबाटै लोप हुन लागेको अति सङ्कटापन्न प्रजातिमध्येमा सिलङ्गो केही धार्मिक अगुवाले गौरा पर्व मनाउने स्थानमा रोपेर संरक्षण गरेका छन् । सिलङ्गो लोप हुँदै जान थालेपछि बैतडीको पाटन नगरपालिका–१०, धुराका नारायणदत्त भट्टले वासुलिङ्गको गौरा मनाउने ठाउँ खलो (मैदान) मा सिलङ्गो रोपेको बताउनुभयो । 

सिलङ्गो धार्मिक बिरुवा भएकाले यसको बोट रोप्ने व्यक्तिले मोक्ष प्राप्त गर्ने र सन्ततिलाई सुख हुने विश्वासका कारण उक्त बिरुवा रोपेको उहाँले बताउनुभयो । नेपाल सरकारले सिलङ्गोलाई सङ्कटापन्न वनस्पति घोषणा गरेका कारण यो बिरुवा पाइने ग्वाल्लेक वन र सिगास वनलाई संरक्षित वन घोषणा गरेको सिगास वन सबडिभिजन कार्यालय बैतडीका वन अधिकृत हेम सहनीले बताउनुभयो ।

ग्वाल्लेक र सिगास संरक्षित वन क्षेत्रमा सिलङ्गो, लौठसल्ला, सतुवा, पाँचऔँलेलगायत जडीबुटी पाइन्छ । यो क्षेत्र चितुवा, कालो भालु, रातो फ्याउरो, घोरल, झारललगायतका जनावरको वासस्थान पनि मानिन्छ । 

समुद्री सतहबाट दुई हजार पाँच सय मिटर उचाइमा रहेको पवित्र ग्वाल्लेक वन र समुद्री सतहबाट दुई हजार नौ सय मिटर उचाइमा रहेको सिगास धुरामा सिलङ्गो, प्राकृतिक लौठसल्ला र हिमालयन सेतो चन्दनसहित बहुमूल्य जडीबुटी रहेको तथ्याङ्क छ । जिल्ला वन कार्यालय बैतडीले यी दुवै वनलाई संरक्षित वन घोषणा गर्न परिषद् गठन गरेर कार्ययोजनासमेत अघि बढाएको छ । यद्यपि स्थानीय सरकारले संरक्षित वनमा सडक निर्माण गर्ने काम भने रोकिन सकेको छैन ।