• २६ असार २०८२, बिहिबार

रोपाइँ सकियो, खेत हरियालीमा परिणत

blog

रोपाइँ सकिएपछि हरियालीमा परिणत हुँदै धनगढीको खेत । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, असार २६ गते । यस वर्षको रोपाइँ कैलालीमा सम्पन्न भएको छ । जेठ अन्तिमतिरबाट किसानले रोपाइँ थालेका थिए । असार अन्तिमतिर रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

गएको आइतबार नै जिल्लामा लगभग सबैतिर रोपाइँ सकिएको केन्द्रका प्रमुख टेक विष्टले बताउनुभयो । उहाँले गतविगतको तुलनामा अचेल चाँडै रोपाइँ सकिने गरेको उल्लेख गर्नुभयो । रोपाइँ सकिएपछि खेत हरियालीमा परिणत हुन थालेको छ ।

कृषि उर्वर भूमि मानिने कैलालीमा ९१ हजार हेक्टर कृषि योग्य जमिन रहेको छ । जसमध्ये यसवर्ष ६७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सो कार्यालयका अनुसार गतवर्ष यहाँ प्रति हेक्टरमा ३.४ मेट्रिकटनको दरले धान फलेको थियो । यसवर्ष उत्पादन केहि हदसम्म बढ्ने सम्भावना रहेको जनाइएको छ ।


जिल्लामा गतविगतको तुलनामा अगाडि नै धान रोपाइँको काम पूरा भइरहेको कृषि ज्ञान केन्द्र प्रमुख विष्टले बताउनुभयो । उहाँले भन्नुभयो,“बूढापाकाहरुलाई सोध्दा पहिले पहिले साउन १५ गतेसम्म धान रोपाइँ भएको बताउँछन् । अहिले विभिन्न सिँचाइ सुविधाहरु छन् । त्यसकारण किसानले अलि चाँडै रोपाइँ सम्पन्न गर्दै आएका छन् । यसलाई कृषिमा एक हिसाबले फड्को मारेको मान्न सकिन्छ ।”

मलका लागि तछाडमछाड 
रोपाइँ सकिएपछि किसान रासायनिक  मलको जोहोमा दगुर्न थालेका छन् । मल अभावका कारण मल पुगेको सहकारीमा उनीहरुको तछाडमछाड भइरहेको छ ।  

युरियाका लागि जिल्लाको कैलारी गाउँपालिका–७ स्थित हरियाली कृषि समूहमा बुधबार बिहानैदेखि किसानको लाइन लागेको थियो । युरिया पाउन मुस्किल रहेकाले सहकारीमा बिहानैदेखि किसान मलको पर्खाइमा लाइनमा बसेको स्थानीय लालुराम चौधरीले जानकारी दिनुभयो ।