• २६ असार २०८२, बिहिबार

डाइभर्सन मर्मत गरी खुलाउने तयारी

blog

बाढीले क्षति पु-याएको हेवाखोलाको डाइभर्सन मर्मतका लागि परिचालन गरिएको एक्साभेटर । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, असार २६ गते  । मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ र फिदिमलाई सिमाना छुट्याएर बग्ने हेवाखोलामा निर्माण गरिएको डाइभर्सनमा बाढीले क्षति पु-याएपछि सडक अवरुद्ध भएको छ । मङ्गलबार अपराह्नदेखिको अविरल वर्षासँगै आएको बाढीले हेवाखोलामा निर्मित डाइभर्सनमा क्षति पुगेको थियो ।

जसका कारण मङ्गलबार साँझदेखि मेची राजमार्गको पाँचथर–ताप्लेजुङ खण्डमा यातायात अवरुद्व भएको छ । पानीको सतहले डाइभर्सन पार गरेर दुई वटा ह्युमपाइप हल्लाउनका साथै ह्युमपाइप थिचेका ढुङ्गा, बालुवा बगाएका कारण सडक अवरुद्व भएको सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमले बताउनुभयो ।

उहाँका अनुसार खोलामा पानीको सतह घटेकाले बिहानैदेखि डाइभर्सन मर्मतका लागि एक्साभेटर परिचालन गरिएको छ । मर्मत कार्य सम्पन्न गरेर सवारी आवागमन गराउन प्रयास भइरहेको छ ।  पाँचथर सदरमुकाम फिदिमसहित तल्लो तटीय क्षेत्रमा करिब एक सातादेखि खडेरी लागिरहेको थियो । 

यसैबिच मङ्गलबार अपराह्न फालेलुङ र फिदिमको माथिल्लो भेगमा अविरल वर्षा भएपछि खोलामा बाढी आएको हो ।