धर्बेन्द्र झा
जनकपुरधाम, असार २५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फरक क्षमता भएका व्यक्तिको जीविकोपार्जनमा देखिएका समस्या समाधानका लागि तीनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा अस्ट्रेलियन एड तथा सी.वि.एम ग्लोवलको सहयोगमा लाइफ नेपालले बुधबार आयोजना गरेको अपाङ्गता, जलवायु परिवर्तन र जीविकोपार्जन सम्मेलन २०८२ को उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले फरक क्षमता भएकाहरुको क्षमता पहिचान गरी सीपमूलक तालिम प्रदान गर्दा जीविकोपार्जनमा सहजता हुने भन्दै प्रदेश सरकारले समेत यस विषयमा गम्भीर भएर कामकाज अघि बढाएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असरबाट अपाङ्गता भएका व्यक्तिहरु समेत प्रभावित भएको भन्दै फरक क्षमता भएका व्यक्तिका लागि कुन–कुन ठाउँमा लगानी गर्ने हो भन्ने विषयमा एउटा रोडम्याप तयार हुनु पर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेशको शिक्षाको अवस्था कमजोर रहेको भन्ने विषय एसइईको परीक्षा नतिजाले प्रष्ट देखाएको भन्दै शिक्षा सुधारका लागि सुरुकै कक्षादेखि सुधार गर्नुपर्ने बताउनुभयो ।
उहाँले अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै विद्यालयको स्थापना हुनुपर्ने भन्दै त्यसका लागि पनि प्रदेश सरकारले छलफल अघि बढाएको बताउनुभयो । मुख्यमन्त्री सिंहले पुरानो कृषि प्रणालीबाट समाज रुपान्तरण हुन नसक्ने भएकाले कृषिलाई आधुनिकीकरण गरी बैज्ञानिक प्रणालीबाट खेतीपाती गर्दा उत्पादनमा बढोत्तरी हुने भएकाले प्रदेश सरकार अब त्यसतर्फ ध्यान दिएको बताउनुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिहरुको जीविकोपार्जनमा देखिएका चुनौतीहरु पहिचान गरी त्यसको समाधानतर्फ सबैले एकजुट भइ लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले यस प्रकारको सम्मेलनले अपाङ्गता भएकाहरुको अधिकार स्थापित गराउन सहयोग पुगेको भन्दै अपाङ्गता भएकाको अधिकारको कार्यान्वयनको सवालमा जनकपुरधाम उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा अपाङ्ग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासवानसहितका बक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरु अझै समाजमा अपहेलित हुनेगरेको र राज्यले दिएका अधिकार पाउन नसकेको बताएका थिए ।
सम्मेलनमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कार्यान्वयनको विषयमा सहभागी भएकाहरुले सात बुन्दे घोषणापत्र समेत जारी गरेको लाइफ नेपालका कार्यक्रम संयोजक पूजा शर्माले जानकारी दिनुभयो ।