• १६ भदौ २०८२, सोमबार

मिथिलाञ्चलमा आज भदैया रैब पर्व मनाइँदै

blog

तस्बिरः सञ्जीतकुमार मण्डल÷रासस

जलेश्वर (महोत्तरी),  भदौ १५ गते ।  पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख, समृद्धिको कामना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज महिलाहरू भदैया रैब पर्व मनाइरहेका छन् ।

मिथिला क्षेत्रका गाउँगाउँमा आज बिहानदेखि बर्तालु महिलाहरूले घरघरमा ठेकुवा (सक्खर हालेर बनाइएको एक प्रकारको पकवान) पकाएर, केरा, मकै, काँक्रो, स्याउलगायत फलफूल, अक्षता, सुपारी र पानसहितका वस्तु लिएर रैब पर्व मनाउन सुरु गरेका छन् । 

आज बर्तालु महिलाहरु फलफूल, मीठाइ र पकवानसहितका पूजा सामग्रीसहित नजिकैको पोखरी, तलाउ वा नदीमा गई सूर्यदेवतालाई अर्घ्य चढाउँदै पर्व मनाउने जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । 

रैब सूर्य देवताकै पूजा उपासना गरी मनाइने पर्व हो । भदौमा मनाइने भएकाले यसलाई भदैया रैब पर्व पनि भनिन्छ । पोखरी, तलाउ वा नदीमा स्नान गरी, सूर्य देवतालाई पूजा सामग्रीको अर्घ्य दिएर बर्तालुहरू आ–आफ्ना घरमा जान्छन् भने घर पुगेर आँगन वा पिँढीमा फेरि नेउज हाल्ने गर्दछन् ।

नेउज हाल्ने क्रममा बर्तालुहरू भुइँलाई पानी र गङ्गाजलले लिपेर, केराको पातमाथि सक्खर हालेर बनाइएको खीर र केरा चढाउने गर्दछन् । यस क्रममा प्रत्येक परिवारबाट कति जनाले रैब पर्व गर्ने हो, त्यसका लागि प्रत्येक एक जनाका लागि दुईवटा नेउज (दुई स्थानमा प्रसाद चढाउने) हाल्ने गर्नुपर्छ ।

पर्वमा अरुका लागि पनि अरुले नेउज (प्रसाद चढाइदिने)हाल्न सक्छन् । आफ्नो परिवारका कुनै सदस्य बाहिर रहेको वा घरमा आउन नसक्ने अवस्थामा रहेको बेला अरुको नाममा अरूले नेउज हाल्ने गर्दछन् ।

नेउज हालिसकेपछि (प्रसाद चढाइसकेपछि) बर्तालुहरूले फलफूल ग्रहण गर्न सक्छन् । आज राति उनीहरूले नुनबिनाको खानेकुरा (फलफूल, खीर, केरा, स्याउ)लगायत वस्तु नै खाएर बस्ने चलन छ । 

त्यसैगरी अब आजैदेखि मिथिलाञ्चलका प्रत्येक गाउँठाउँका प्रायःजसो महिलाले प्रत्येक आइतबार रैब पर्वका लागि दिनभरि उपवास बस्ने र बेलुका नुनबिनाको खानेकुरा खाएर छ महिनासम्म रैब पर्व मनाउनेछन् । कोहीकोहीले भने महिनाको एउटा आइतबारको दिनमात्र उपवास बसेर पनि याे पर्व मनाउने चलन रहेको जलेश्वर–८ की बर्तालु रेणुदेवीले बताउनुभयो । 

मिथिला क्षेत्रमा परम्परागत रूपमै यसपर्व सुख, समृद्धि र विशेषगरी आरोग्यताका लागि मनाउने परम्परा रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव राय बताउनुहुन्छ । रासस