• १६ भदौ २०८२, सोमबार

राजमार्गको गगनेखोलाको सडक अवरुद्ध

blog

कालिकोटको गगनेखोलाको सडकमा खसेका ढुङ्गाहरू । तस्बिरः नौरते नेपाली

नौरते नेपाली

सिँजा (जुम्ला), भदौ १५ गते । कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा गएराति पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको गगनेखोलामा ठुलो ढुङ्गा सहितको पहिरो आएर सडक अवरुद्ध भएको हो । 

उक्त ढुङ्गा फुटाउन ब्रेकरको प्रयोग भरहेको हुँदा सडक सुचारु हुन करिब ३ घण्टा जति समय लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले बताउनुभयो । भदौ १३ गते सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२, कालेखोला, एसमोड, गगने खोलामा भत्किएको सडक मर्मत गरी सुचारु भइसकेको चौधरीले बताउनुभयो । गगने खोलामा ठुला ढुङ्गाहरू खसेर सडकमा झरेको हुनाले फुटाउने कार्य जारी छ ।

अविरल वर्षाको कारण डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध भएको छ । वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी दिएको उहाँले बताउनुभयो ।