• २७ पुस २०८१, शनिबार

कक्षाले युवामा ल्यायो रूपान्तरण

blog

रुपान्तरण कक्षामा सहभागी किशोर किशोरी ।

अविनाश चौधरी

धनगढी, भदौ १९ गते । कैलालीको ग्रामीण क्षेत्रका युवा रूपान्तरण कक्षामा सहभागी भएर सकारात्मक कार्यमा अग्रसर भएका छन् । कैलारी गाउँपालिका–८ का युवा रूपान्तरण कक्षामा सहभागी भई सकारात्मक कार्यमा अग्रसर भएका हुन् । 

उनीहरू साप्ताहिक रूपमा रूपान्तरण कक्षामा सहभागी हुने गरेका छन् । कक्षामा सिकेका कुरा अन्यत्र अरूलाई सिकाउने गरेको रूपान्तरण कक्षामा सहभागी युवा सुमित चौधरीले बताउनुभयो । उहाँले रूपान्तरण कक्षामा सहभागी भएपछि समाजमा देखा परेको कुरीतिविरुद्ध व्यक्तिगत र समूहमार्फत जनचेतना फैलाउने काम गर्दै आएको उल्लेख गर्नुभयो । “सडक नाटकमार्फत हामीले कुरीतिविरुद्ध सचेतना फैलाउने काम गर्दछौँ” उहाँले भन्नुभयो । 

रूपान्तरण कक्षामा किशोर तथा युवालाई प्राथमिक उपचारदेखि लिएर यो उमेरमा व्यक्तिगत सरसफाइ, पोषणयुक्त खाना, यौन तथा प्रजनन अधिकार, यौन तथा यौनिकता, महिनावारी, यौनजन्य रोगको सङ्क्रमण, एचआइभी एड्स, सुरक्षित मातृत्वबारे सिकाउने गरिएको छ । यसैगरी किशोरावस्थामा हुने शारीरिक परिवर्तन, हुन सक्ने लैङ्गिक हिंसा र त्यसलाई न्यूनीकरण गर्ने उपाय, यौनजन्य हिंसा, बालविवाह, घरेलु हिंसा लगायतको बारेमा सिकाउने गरिएको छ ।

यस्तै, किशोर किशोरी बस्दै आएको समुदायमा प्राकृतिक स्रोतको पहिचान, त्यसको सदुपयोग, प्रकोप व्यवस्थापन, बचत, जीविकोपार्जनका विकल्पहरू रोजगारी, उद्यम लगायतका बारेमा उनीहरूलाई शिक्षा दिने गरेको साथी शिक्षक नृपबहादुर चौधरीले बताउनुभयो । उहाँले रूपान्तरण कक्षामा सहभागी हुने किशोर किशोरीले सिक्ने तथा सिकाउने काम गरिरहेको उल्लेख गर्नुभयो । 

“आफूले सिकेका कुराहरू किशोर किशोरीले अरूलाई सिकाउँदै समाज रूपान्तरणको सकारात्मक कार्यमा लागेका छन्” चौधरीले भन्नुभयो । 

रूपान्तरण कक्षामा सहभागी भएका किशोर किशोरीमा सकारात्मक परिवर्तन देखिने गरेको जनप्रतिनिधिको भनाइ छ । सो वडामा २०७४ सालबाट रूपान्तरण कक्षा सञ्चालन हुँदै आएको छ । त्यसमा सहभागी किशोर किशोरीहरूको जीवनमा सकारात्मक परिवर्तन आएको र उनीहरू समाज परिवर्तनमा क्रियाशील रहेको वडा अध्यक्ष तारामल कठरियाले बताउनुभयो । “रूपान्तरण कक्षा किशोर किशोरीको लागि धेरै प्रभावकारी छ” उहाँले भन्नुभयो । 

कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले समाज परिवर्तनमा युवाको ठुलो भूमिका रहने गरेको उल्लेख गर्दै उनीहरूलाई सही बाटो देखाउन जरुरी रहेको औँल्याउनुभयो । पछिल्लो समय लागुऔषधको दलदलमा युवापुस्ता फसिरहेको भन्दै उहाँले विभिन्न दुर्व्यसनबाट जोगाउन पनि किशोर किशोरीलाई जीवनोपयोगी कुरा सिकाउन आवश्यक रहेको बताउनुभयो ।