रामकृष्ण बोहरा
बागलुङ, असार ११ गते । पश्चिम बागलुङको निसीखोला गाउँपालिकाले भेडापालनको लागि एक करोड बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२–८३ को अनुमानित बजेट प्रस्तुत गर्दै पालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीले भेडापालनका लागि –१ करोड १२ लाख रुपियाँ बजेट छुट्टयाएको जानकारी दिनुभयो ।
निसीखोलाको भूगोल अधिकांश लेकाली बस्ती हो । पशुपालन र आलुखेती गरेर स्थानीयले जीवन निर्वाह गर्दैआएका छन् । मध्यपहाडी लोकमार्गले रुकुम जोडेकाले मध्यभागमा भने यातायातको सहज पहुँच बढेको छ । तर ग्रामीण क्षेत्रका अधिकांश नागरिक भने पशुपालन र कृषि क्षेत्रमा आवद्व छन् ।
गाउँपालिकाले पनि कृषि र पशुपालनको क्षेत्रमा लगानी र कार्यक्रम जोडेको छ । निसीखोलाका अधिकांश किसान निसेल ढोर, बुकी र रुकुमतर्फको लेकमा पशुचरनका लागि पुग्ने गर्छन् ।
भेडा मासुका लागि बिक्री गरिन्छ भने गाईभैसी दुधका लागि उपयोगी छन् । वर्षातमा स्थानीय निसेलढोरदेखि बुकीसम्म पशु चरनका लागि पुग्ने गर्छ । ठूला चाडपर्वमा निसेलढोर पुगेर धेरै व्यवसायीले भेडाच्याङग्रा खरिद गर्छन् । ‘पशुपालनका लागि निसीखोला उर्वर भएकाले बजेटमा प्राथमिकता दिइएको हो’ उपाध्यक्ष घर्तीले भन्नुभयो ।
भेडापालनलाई व्यवसायलाई व्यवस्थित र नयाँ पुस्तालाई आर्कषित गर्नसके समृद्व निसीखोलाको सपना साकार हुने उहाँको आशा छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड २४ लाख २१ हजारको बजेट विनियोजन गरेको छ ।
यसवर्ष पर्यटन क्षेत्रलाई समेत प्राथमिकता दिँदै ५० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । निसीखोलाको ऐतिहासिक महत्व बोकेको ‘रिग ताल’ संरक्षण तथा व्यवस्थापनका लागि १० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिका कार्यालय घेराबार र पार्किङमा ५० लाख बजेट छुट्याएको छ ।
समानीकरण अनुदानततर्फ संघीय सरकारबाट ९ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट प्राप्त हुने आय संघीय सरकार १० करोड ८२ लाख ६४ हजार, सशर्त अनुदान चालु संघीय सरकार २३ करोड ९१ लाख, सशर्त अनुदान पुँजीगत संघीय सरकार ४६ लाख, समपुरक अनुदान संघीय सरकार एक करोड ५२ लाख, विशेष अनुदान संघीय सरकारबाट १ करोड १२ लाख, समानीकरण अनुदान गण्डकी प्रदेश सरबारबाट १ करोड १५ लाख ८३ हजार प्राप्त हुने अनुमान गरिएको छ ।