• ११ असार २०८२, बुधबार

हेमजामा रोपाइँ महोत्सवको तयारी

blog

गत वर्ष फेवा फाँटमा भएको रोपाइँ महोत्सव । फाइल तस्बिर

फडिन्द्र अधिकारी

लेखनाथ, असार ११ गते । वर्षभरी अनेकथरी मेला, महोत्सव भइरहने पर्यटन राजधानी पोखरा असार १५ भव्य तवरले मनाउने तयारीमा छ । यसपालिको असार १५ मा पोखरा महानगरपालिका वडा २६ गुँदेताल किनार र वडा २५ हेमजामा रोपाइँ महोत्सव हुँदैछ ।

पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने उद्देश्यसहित रोपाइँ महोत्सव हुन लागेको आयोजकको भनाइ छ । गुँदेताल किनारको तालबेसी फाँटमा राष्ट्रिय धान दिवसको अवसरमा पोखरा पर्यटन परिषद्ले महोत्सव आयोजना गर्न लागेको हो । परिषद्ले आयोजना गर्दैआएको रोपाइँ महोत्सवको २० औँ शृङ्खलामा स्थानीय शान्तिप्रेमी आमा समूह तालबेसीले पनि सहकार्य गरेको छ । 

परिषद्का अध्यक्ष तारानाथ पहारी महोत्सवमा धान रोप्नेसहित विभिन्न प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम हुने बताउनुहुन्छ । रोपाइँ महोत्सवमा स्वदेशी र विदेशी पर्यटकको समेत सहभागिता रहनेछ । 

महोत्सवमा हिलो खेल्ने, हिलोमा माछा समात्ने, डोरी तान्ने, हिले दौडजस्ता प्रतियोगिता हुनेछन् । महोत्सवमा स्वदेशी र विदेशी पर्यटक र महिला र पुरुषका छुट्टाछुट्टै हिले दौड प्रतियोगिता हुने बताइएको छ ।  

दौडमा पहिलो र दोस्रो हुनेहरुले क्रमः पाँच हजार र तीन हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् । रोपाइँ महोत्सवले गुँदे तालसहित समग्र साविक लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले बताउनुभयो । महोत्सव आयोजना गर्न ४३ सदस्यीय मूल आयोजक समिति, १९ विभिन्न उपसमिति बनाइएको छ । 

‘आलुगाउँ’ का रुपमा पहिचान बनाएको पोखरा–२५, हेमजामा पनि देवीस्थान सेवा समाजको आयोजनामा पाँचौ हेमजा हिले महोत्सव हुँदैछ । देविस्थान टोलको विष्णुपादुका मन्दिर परिसरमा हुने महोत्सवलाई कृषकको सम्मान र युवालाई प्रोत्साहनका लागि निरन्तरता दिइएको आयोजक समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले बताउनुभयो । 

महोत्सवमा पुरुष तथा महिला रस्साकस्सी, पुरुष तथा महिला हिले दौड, घैटो फुटाउने, हिलोमा माछा समात्ने, धान रोप्ने, हिले नाच, हल गोरु दौड लगायतका प्रतियोगिता हुने महोत्सव मूल आयोजक समिति संयोजक चन्द्रकला पोखरेलले जानकारी दिनुभयो ।