रवीन्द्र उप्रेती
बर्दिबास, असार ११ गते । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवालले खेल क्षेत्रसँग सम्वद्ध अब्यवस्थित तथा अधुरा संरचनाहरुको ब्यवस्थापन र पूर्वाधारको विकाश गरि खेल गतिविधि चलायमान बनाउन मधेश प्रदेश सरकार योजनावद्ध रुपमा अघि बढेको बताउनु भएको छ ।
उहाँले मधेशको विकाशका लागि खेल क्षेत्रको विकाश अपरिहार्य भएको बताउदै बर्दीबाससमेत अन्य जिल्लाका अब्यवस्थित खेल पूर्वाधारको विकाश गर्न र राष्ट्रिय गौरवको रामजानकी अन्तर्राष्ट्रिय स्टेडियमलाई नीति कार्यक्रममा समावेश गरिएको बताउनुभयो ।
मन्त्री जयसवालले बर्दीबास–३ स्थित गौरीडँडामा नवनिर्मित खुलामञ्च तथा खेलमैदान प्रवेशद्वारको बुधबार उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘खेलकुदका नयाँ संरचना निर्माण गर्ने, अब्यवस्थितलाई ब्यवस्थित गर्ने र अधुरा संरचना पुरा गरि प्रदेशको खेल क्षेत्रलाई अग्रगति दिने योजनालाई बजेटमै ब्यवस्था गरिएकोले आर्थिक वर्ष ०८२/८३ मा प्रदेशको खेल क्षत्रेले अग्रगति लिने विश्वाशमा छौं ।’
स्थानीय गौरीडाँडाका जनताको आफनै सहयोग श्रमदान र बर्दीबास नगरपालिकाको आर्थिक सहयोगमा नव निर्मित प्रवेशद्वार उदाहरणीय कार्य भएको बताउदै गौरीडाँडा खुलामञ्चको ४ विगाहा २ कठ्ठा क्षेत्रफलको विकाशका लागि प्रदेश सरकारले सहयोगको दायरा बढाउदै जाने विश्वाश दिलाउने भयो । प्रवेशद्वारको उचाई २२ फिट र चौडाइ २० फिट छ ।
संघीय राजधानीलाईं जोडने मधेश प्रदेशकै प्रवेशद्वारको रुपमा रहेको बर्दीबासमा विकाशका अनेकन संभावना रहेकाले यसलाई खेल पर्यटनसंग जोडन पनि प्रदेश सरकार योजनावद्धरुपमा अघि बढेको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘गौरीडाँडा खुलामञ्चको विकाशमा प्रदेश सरकार सकारात्मक छदै छ । अर्कोतिर बर्दीबासमै रहेको सैनिक पृतनामा पनि रंगशाला निर्माणको योजना अघि बढेकोले यस क्षेत्रको विकाश, पर्यटन प्रवद्र्धन र ब्यापारलाई चलायमान बनाउने छ ।’
मन्त्री जयसवालले भरखरै खेलकुद ऐन पनि बनेको र खेलकुद परिषद पनि गठन भइसकेकोले लामो समयदेखि अन्यौल र अनिश्चियमा परेको जनकपुरस्थित अन्तर्राष्ट्रिय स्तरको रामजानकी रंगशालाको निर्माणको गति अघि बढेको बताउनुभयो ।
गुठीसँग जग्गा सम्झौताको वार्ता अन्तिम चरणमा पुगेकोले यो रङ्गशालाको निर्माणले मधेश प्रदेशकै खेल संसारमा नयाँ क्षितिज खोल्ने धारणा राख्नु भयो ।
उहाँले भन्नुभयो, ‘मधेश प्रदेश खेलकुदको उर्वर भूमि भएकोले यस क्षेत्रको संस्थागत विकाश गर्नुको विकल्प छैन । हामी वीरगंजलगाएत प्रदेशका सवै ठाँउको खेल मैदान ब्यवस्थापनको गतिविध अघि बढाउने तयारीमा छौं ।’
कार्यक्रममा बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्रीले मधेश र पहाडको संगममा रहेको बर्दीबासको खेल क्षेत्रलाई उचाइमा पुर्याउन प्रदेश सरकारको भूमिका अपरिहार्य रहेको धारणा राख्नुभयो ।