• ११ असार २०८२, बुधबार

‘हुलाक सेवा विश्वसनीय र भरपर्दो बनाउँदा राजस्व बढ्छ’

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिर : मन्त्री गुरुङको सचिवालय

काठमाडौँ, असार ११  गते । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई  विश्वसनीय र भरपर्दो र द्रुत बनाउन सके राजस्व वृद्धिमा ठुलो टेवा पुग्ने बताउनु भएको छ ।

हुलाक सेवा विभागले आज आयोजना गरेको आर्थिक वर्ष २०८१-८२ को प्रगति समीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै मन्त्री गुरुङले हुलाकको कुरिअर सेवा अझै प्रभावकारी बनाउन जोड दिनुभयो । 

उहाँका अनुसार सबैभन्दा पहिला आधुनिक हुलाक र स्मार्ट हुलाक बनाउन पुरानो ऐन फ्यालेर नयाँ ऐन बनाउनु पर्नेछ । यसको लागि मन्त्रालयले सक्रिय रुपमा लागेको पनि जानकारी दिनुभयो । 

साथै, आधुनिक हुलाकको रुप रेखा स्वरुप मन्त्रालयले हुलाक नीतिसमेत निर्माण कार्य अन्तिम चरणमा पुगेको मन्त्री गुरुङले सुनाउनु भयो । पछिल्लो समय इन्टरनेटको दुनियाँमा सेवा छिटो र छरितो ढङ्गले प्रदान गर्न कर्मचारीले उसै अनुसार दक्षता प्रदर्शन गर्नुपर्ने निर्देशनात्मक सुझाव उहाँले दिनुभएको थियो । “यो वर्ष हामी हुलाक ऐन ल्याउछौँ र स्थानीय हुलाक संरचनालाई अझै प्रभावकारी बनाउने योजनाहरुमा लाग्छौँ”, उहाँले भन्नुभयो,“यसका लागि कर्मचारीहरुको भरपुर सहयोग र साथ चाहिन्छ ।”

मन्त्री गुरुङले यसै वर्षभित्र स्थानीय तहमा भएका वडास्तरका हुलाक कार्यालयमा एउटा वा दुईवटा मोटर वाइक साधन उपलब्ध गराउनु पर्ने बताउनु भयो । जनताको सेवासँग प्रत्यक्ष सरोकार राख्ने हुलाकमा सवारी साधन अनिवार्य हुनुपर्ने उहाँको धारणा छ । त्यसैगरी सबै हुलाक कार्यालय आइटी फ्रेन्डली हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

आगामी आर्थिक वर्षमा बजेट पर्याप्त नभएको भए पनि आवश्यकताका आधारमा बजेट थप गर्न र अन्य स्रोतहरु जुटाउन आफूले हरदम प्रयास गर्नेसमेत मन्त्री गुरुङले प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालय हुलाक सेवाको वृद्धि र विकासका लागि सधैँ सकारात्मक रहेको बताउँदै हुलाकलाई इकमर्स  जोड्ने प्रयत्न रहेको बताउनुभयो ।

विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवालाई जनताको घरदैलो सम्मै पुराउन स्थानीय तहसँग सहकार्य गर्दै आएको बताउनुभयो । स्थानीय तहमा रहेका भवनहरु निकै जीर्ण छन् । तिनको संरचनागत निर्माणमा सीमित स्रोत र साधनका बाबजुत पनि विभागले पहल गरेको महानिर्देशक पंगेनीले सुनाउनुभयो । “हामी सीमित स्रोत र साधनका बाबजुत पनि हुलाक सेवाको स्तर उन्नतिमा खटिएका छौँ ।” उहाँले भन्नभुयो ।