• २७ पुस २०८१, शनिबार

प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह

blog

समुद्घाटन समारोहमा मुख्यमन्त्री सतीशकुमार सिंह र शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारी । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, भदौ १८ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले शिक्षा क्षेत्रलाई सुधार्न प्रदेशको प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । 

मङ्गलबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेको “याज्ञवल्क्य सदन” समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मधेशका मुख्यमन्त्री सिंहले प्राविधिक शिक्षा सबै क्षेत्रमा उपयुक्त हुने हुँदा प्राविधिक शिक्षालाई बढावा दिनुपर्ने बताउनुभएको हो । उहाँले लोकसेवा होस वा अन्य सेवा होस्, प्राविधिक शिक्षाको सबै क्षेत्रमा आवश्यक पर्ने हुँदा प्रदेशको शिक्षा क्षेत्र सुधार्नका लागि प्राविधिक शिक्षामा जोड आवश्यक रहेको जिकिर गर्नुभयो । 

मन्तव्यकाे क्रममा मुख्यमन्त्री सिंहले शिक्षक र विद्यार्थीको अनुपान समायोजन नहुँदा शिक्षाको अवस्था खस्किँदै गएको बताउनुहुँदै उहाँले शिक्षा क्षेत्रलाई मजबुत बनाउन र गुणस्तरिय बनाउन प्रदेशमा शिक्षक अवभावको समस्यालाई समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षकको संख्यामा वृद्धि गरी कम्तीमा एक शिक्षकमा ४५ विद्यार्थी पठनपाठनको व्यवस्था मिलाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले ७०-८० जना विद्यार्थीलाई एकजना शिक्षक छन्, त्यसकारण शिक्षक र विद्यार्थीको अनुपान समायोजन गरी एक शिक्षकमा कम्तीमा ४५ जनाभन्दा बढी विद्यार्थी नहुने गरी शिक्षक र विद्यार्थीको अनुपात मिलाउनुपर्छ ।”

यसै क्रममा उहाँले विद्यार्थी फुर्सदका समयमा घुम्न र रमाउनका लागि प्रदेशको आठ वटै जिल्लामा शैक्षिक पार्क निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। प्रदेशको शैक्षिक अवस्था सुधारका लागि प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयले शिक्षा नीति ल्याउने योजना बताइरहेको जानकारी दिनुभयो ।   

यस्तै सोही विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार मिश्रले पहाड र मधेश शिक्षण प्रणलीमा धेरै भिन्नता भएकै कारण शिक्षाको गणस्तण खस्किदै गाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडमा एक शिक्षकमा २५ जना विद्यार्थी पढाइन्छ भने मधेशमा एक शिक्षकमा ७०÷८० विद्यार्थी पढाउनुपर्ने अवस्थाका कारण शिक्षा कमजोर हुँदै गएको हो ।”

प्रदेश सरकारद्वारा निर्मित उक्त भवनको उद्घाटन मुख्यमन्त्री सिंह तथा प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार सिंहको अध्यक्षतामा आयोजित उक्त समुद्घाटन कार्यक्रममा सोही विद्यालयका प्राध्यापक संजयकुमार झालगायतको उपस्थिति थियो ।