काठमाडौँ, भदौ १६ गते । नाटक ‘काँचो धागो’ मा गण्डकी प्रदेशमा बोलिने बोलचालको भाषादेखि लिएर मगर जातिको ठाडोभाकाको लोकगीत, सङ्गीत र नृत्यका साथै गन्धर्वको गीतको मौलिकता भल्किन्छ । समाजमा देखिने समाजिक बेथितिलाई नाटकमा पेचिलो ढङ्गमा पस्कन माहिर निर्देशक तथा लेखक आशान्त शर्माले यस पटक पनि नाटक ‘काँचो धागो’ मार्फत दर्शकलाई भावनामा बग्न बाध्य बनाएका छन् । काठमाडौँको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको नाटकमा मानवीय स्वभाव, सम्बन्ध, भावना, चाहनालाई प्रकृति तथा वातावरणसँग जोड्न खोजिएको छ ।
गौरादी गाउँपालिकाको कपासे डाँडामा जागिरे बुहारी सविता (मीरा खड्का) को सहारामा जीवन बिताइरहेकी ८४ वर्षीय लाउर्नी (आयुष्मा मगर) को जीवन कहिले बत्ती कातेर र त कहिले टपरी बुनेर बितिरहेको हुन्छ । त्यसैमाथि गाउँमा बाँदरले आतङ्क पनि उधुम छ । गाउँको मकै बारी खुँदेर मकै खाइदिने बाँदरको आतङ्कका कुरा नाटकमा देखाउन खोजिएको छ । यसैबिच लाउर्नी आमा र उनको घरमा आइरहने मुख्य लाउरे/बाँदर (मुक्ति) को सम्बन्धको कुराले नै नाटकलाई अगाडि बढाउने काम गर्छ । नाटकमा बितिसकेका लाउरेले कसरी बाँदरका रूपमा कसरी पुनर्जन्म भन्ने कुरा पनि प्रस्ट्याउन खोजिएको छ । के साँच्चै अझै पनि मानिसको पुनर्जन्म हुन्छ ? यदी हुन्छ भने लाउर्नी र लाउरेको मिलन यो युगमा सम्भव छ ? नाटकभित्र लाउर्नी विदेशमा रहेको छोरा र नातिको पनि पर्खाइमा रहेको देखाइन्छ । के लाउर्नीको यो पर्खाइ यही युगमा सम्भव छ त ? नाटकले यिनै कुरालाई कथामार्फत खोतल्न खोजिएकोे छ ।
लामो समयपछि नाटक निर्देशनमा फर्केका निर्देशक शर्माको निर्देशकीय पक्ष तारिफयोग्य छ । पुनर्जन्म जस्तो कुरालाई अहिलेका समाजसँग जोडेर नाटकमार्फत केही सन्देश दिन खोज्नु पनि साहसिक कुरा हो जुन साहस निर्देशक शर्माले उठाएका छन् । शर्माले यस पटक पनि दर्शकको भावनालाई बुझ्ने प्रयास गरेका छन् र त्यही अनुसार नाटकको निर्देशन तथा परिकल्पनाबाट बाजी मारेका छन् । लाउर्नी, बुहारी सविता, ठुलालगायतको अभिनयले पनि नाटक मनमोहक बनेको छ । नाटकको अर्को राम्रो पक्ष भनेको यसको गीत सङ्गीत हो । आशान्त शर्माको सङ्गीत, कविर काफ्का र मुक्तिको गीत तथा कमल ओली र विजय महर्जनको वाद्यवादनले दर्शकलाई मन्त्रमुग्ध बनाउँछ ।