• ५ जेठ २०८१, शनिबार

मतदातामा आएको परिवर्तन

blog

 काठमाडौँ, वैशाख २६ गते । विगतका भन्दा अहिलेको स्थानीय तहको निर्वाचनमा मतदाताको माग परिवर्तन भएको छ । स्थानीय तहको निर्वाचनका क्रममा यतिबेला सबै राजनीतिक दलका उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । उम्मेदवारले भेटेका मतदाताले विगतको भन्दा फरक माग गर्ने गरेका छन् । 

मतदाताले उम्मेदवारसँग मत मान्ने क्रममा भौतिक विकाससँगै सामाजिक र आर्थिक विकासका कार्यक्रम पनि ल्याउनुपर्ने माग गर्ने गरेका छन् । उपत्यकाका नगरपालिकामा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेकाहरूले २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा अहिले मतदाताको मागमा परिवर्तन आएको अनुभव सुनाउँछन् । 

पहिलो स्थानीय तहको निर्वाचनमा उपत्यकाका मतदाताले खानेपानी, ढल, सडक, सार्वजनिक जग्गा संरक्षण गरी पार्क निर्माण र फोहोर व्यवस्थापनलगायतका मागलाई प्राथमिकतामा राख्ने गरेका थिए । अहिले भने पालिकामै सीप, पालिकामै रोजगारमूलक कार्यक्रम स्थानीय तहले ल्याउनुपर्ने माग गरेका छन् । 

उपत्यकाका नगरपालिकामा विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेकाहरू २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा अहिले मतदाताको मागमा परिवर्तन आएको अनुभव सुनाउँछन् ।

ललितपुरको गोदावरी नगरपालिकाका निवर्तमान प्रमुख तथा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार गजेन्द्र महर्जनले मतदाताको मागमा पहिलाको तुलनामा केही परिवर्तन भएको बताउँदै भन्नुभयो, “हामीले यस पाँच वर्षमा खानेपानी, स्वास्थ्य पूर्वाधार, शैक्षिक अवस्थाको सुधारलगायतका काम गरेका छौँ । अब अधुरा रहेका सोही काम पूरा गरी रोजगारमुखी कार्यक्रम ल्याउन मतदाताले आग्रह गरेका छन् ।”  

उहाँले निर्वाचनका क्रममा मतदाताको घरदैलोमा जाँदा भौतिक पूर्वाधारको विकाससँगै सामाजिक र आर्थिक विकास पनि सँगसँगै लैजानुपर्ने माग र सुझाव आएका छन् भन्दै मतदाताको माग र सुझावलाई आत्मसात् गर्दै अगाडि बढ्ने बताउनुभयो ।

काठमाडौँको तारकेश्वर नगरपालिकाका निवर्तमान उपप्रमुख तथा नेकपा (एमाले)बाट नगर उपप्रमुखका उम्मेदवार भवानी डोटेल (धिताल)ले अहिले मतदाताले भौतिक पूर्वाधारको मागभन्दा पनि नगरपालिकामा सुशासन कायम गरी निर्वाचित भएपछि पनि समय समयमा मतदाताको घरदैलोमा आउन आग्रह गरेको बताउनुभयो । 

उहाँले यस अवधिमा नगरपालिकाले नागरिकको अपेक्षाअनुसार नै भौतिक विकास गरे पनि मतदाताले भने भौतिक विकासको मागलाई भन्दा सीप प्रवद्र्धन गरी रोजगारमुखी कार्यक्रम ल्याउन आफूहरूलाई सुझाव दिएको बताउनुभयो । 

उहाँका अनुुसार मतदाताको चाहना स्थानीयस्तरमा रोजगारी सिर्जना हुने प्रकृतिका योजना बनाई कार्यान्वयन गर्ने, नागरिकलाई व्यावसायिक तालिम प्रदान गरी स्थानीय तहमै रोजगारका लागि पालिकाले ब्याजमा अनुदान दिनुपर्ने, आर्थिक रूपमा विपन्न समुदायका नागरिकलाई रोजगारको व्यवस्था गर्नुपर्ने माग मतदाताले राख्ने गरेका छन् । 

भक्तपुरको मध्यपुर थिमि नगरपालिका नेकपा (माओवादी केन्द्र) नगर उपप्रमुखका उम्मेदवार विजय श्रेष्ठले मतदाताले नगरपालिकाले रोजगारमुखी कार्यक्रम बनाई कार्यान्वयन गर्न आफूहरूलाई सुझाव दिएको बताउनुभयो । “भौतिक विकासको मागै नभएको चाहिँ होइन,” उहाँले भन्नुभयो, “भौतिक विकाससँगै मानवीय विकास र रोजगारमूलक कार्यक्रम नगरपालिकाले ल्याउन मतदाताले सुझाव दिएका छन् ।”  

चाँगुनारायण नगरपालिका वडा नं. १ एमालेका वडाध्यक्षका उम्मेदवार ईश्वर थापाले वडाबाट सहज रूपमा सेवा प्रवाह हुनुपर्ने, नागरिकले खोजेको बेलामा वडा समितिका पदाधिकारी भेटिनुपर्ने माग गरेका छन् । 

नगरपालिकाको फोहोर व्यवस्थापनमा दीर्घकालीन योजना बनाउनुपर्ने, प्रत्येक घरमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, खेतीयोग्य जमिनमा घर निर्माण भइरहेकाले उत्पादनयोग्य जमिनमा घर निर्माण गर्न स्थानीय तहले रोक्नुपर्ने, सार्वजनिक जमिन अतिक्रम हुँदै गएकाले तिनको संरक्षण गर्नुपर्ने, पशुपालनलाई व्यावसायिक रूपमा पाल्ने व्यवस्था स्थानीय सरकारले गर्नुृपर्ने माग मतदाताले गरेका छन् । 

सहरी क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी कम हुँदै गएकाले स्थानीय नागरिकले नगरपालिकाभित्रकै सामुदायिक विद्यालयमा पठनपाठन गराउने वातावरण बनाउनुपर्ने, पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले दीर्घकालीन योजना बनाउनुपर्ने मतदाताको माग छ  ।