• १२ पुस २०८१, शुक्रबार

फोहोरको दीर्घकालीन समाधान

blog

झन्डै दुई हप्तादेखि राजधानीका सडकमा थुपारिएका फोहोरका थुप्रो शनिबार बिहानदेखि उठाउन थालिएको छ । विडम्बना नै मान्नुपर्छ यसरी फोहोर उठ्दा राजधानीवासीले ठूलो हर्ष मान्नुपर्ने अवस्था सिर्जना भएको छ । कुनै पनि मुलुकको राजधानी सहरमा यस प्रकारको परिस्थिति निर्माण हुनु वास्तवमै विडम्बनापूर्ण हो । राजधानी सहर भनेको समग्रमा मुलुकको परिचय एवं मुहार चित्र हो । यसका विविध पक्षले मुलुकका बारेमा बोलिरहेको हुन्छ । अन्तर्राष्ट्रिय नाम र प्रतिष्ठा राजधानीलाई हेरेरै बन्ने गर्छ ।

नेपालको राजधानी काठमाडौंमा बारम्बार फोहोरका डुङ्गुर थुप्रिनु अहिले मात्र कुनै नौलो विषय होइन । राजधानीवासीका लागि त यो जीर्ण रोग हो । केही समयको अन्तरालमा यो फोहोर थुप्रने क्रम दोहोरिरहेको पाइन्छ । यही फोहोर मैलाकै परिणामस्वरूप काठमाडौँ विश्वकै प्रदूषित सहरको श्रेणीमा अग्रपङ्क्तिमा पर्न खतरा बढेको छ ।

सांस्कृतिक, ऐतिहासिक तथा कला नगरीको चिनारी बनाएको काठमाडौं आज फोहोर सहरका रूपमा दुर्गन्धित रूपमा चिनिनु सम्पूर्ण नेपालीका लागि खुसीको विषय होइन । यसर्थ काठमाडौंको फोहोर दीर्घकालीन व्यवस्थापन आजको अनिवार्य आवश्यकता हो ।

मुलुक अहिले स्थानीय तहको निर्वाचनको सँघारमा जुटिरहेको सन्दर्भमा काठमाडौँका सचेत मतदाताले पनि यहाँको फोहोर व्यवस्थापन गर्ने ‘गफ’ दिने भन्दा वास्तवमै काम गर्ने उम्मेदवारलाई विजयी गराउनुको विकल्प छैन । काठमाडौंको विगतको गौरवपूर्ण गाथालाई पुनर्जीवित गर्न पनि यो जरुरी छ । 

भक्तपुरबाहेक काठमाडौँ उपत्यकामा रहेका १७ वटा महानगरपालिका तथा नगरपालिकाहरूबाट निस्किएको फोहोर उत्सर्जनस्थल नुवाकोटको सिसडोल हो । त्यहाँ पुग्ने पासाङ ल्हामु राजमार्गको मुड्खु भञ्ज्याङदेखि तीन पिप्लेसम्मको स्थल मार्ग स्थानीयले अवरोध गरेपछि काठमाडौंमा फोहोर थुप्रिन थालेको हो ।काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने एक हजार ४५ मेट्रिक टन फोहोर लिएर दिनहुँ त्यसतर्फ गुड्ने सयौँ ट्रकका कारण विशेषगरी गर्मी याममा धुँवा, धुलो तथा बर्खा याममा हिलोको समस्या सिर्जना हुने स्वाभाविकै हो ।

यस समस्याको निराकरणका निम्ति सडकको गुणस्तर सुधारका अतिरिक्त उपयुक्त व्यवस्थापन महत्वपूर्ण विषयवस्तु हुन् । यी कुनै अन्यथा लिइनुपर्ने विषय पनि होइनन् । मुड्खु भञ्ज्याङदेखि तीनपिप्लेका स्थानीय बासिन्दाले यिनै माग राखेर सडक अवरुद्ध गरेको यो पहिलो पटक पनि होइन ।

यस आधारमा सडकको गुणस्तर अभिवृद्धि तथा उपयुक्त व्यवस्थापनका लागि तत्काल कार्य गरिनुपर्छ । पटक पटकको अवरोधपछि पनि यो सडकको अवस्था विगतभन्दा जीर्ण हुँदै गएको देखिन्छ । सम्बन्धित निकाय काग कराउँदै गर्दछ पीना सुक्दैको शैलीमा मस्त अनि व्यस्त रहेको प्रतीत हुन्छ । कसले सो सडकको जिम्मेवारी लिएको हो र किन नबनाएको हो भन्ने कुरामा गम्भीर हुनै पर्छ । 

स्थानीयका जायज मागलाई सम्बन्धित पक्षबाट सुनुवाइ हुनपर्ने विषयमा कुनै विवाद हुनु हुँदैन । शनिबार नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका गरी तीन सय प्रहरी जवान मुड्खु भञ्ज्याङ तीनपिप्ले क्षेत्रका सडकमा तैनाथ गरिएपछि मात्र फोहोर बोकेका डेढ सय ट्रक सिसडोलतर्फको आवगमन सम्भव भएको थियो ।

यस अर्थमा त्यहाँका जनतामा मागप्रति गरिएको बेवास्ताप्रति चर्को असन्तुष्टि रहेको स्पष्ट बुझ्न सकिन्छ । जनतालाई प्रहरी प्रशासनको दबाब देखाएर गरिने कार्य अहिले ठिक भए पनि दीर्घपयोगी हुनेमा शङ्कापूर्ण नै हुन्छ । सडकको गुणस्तर सुधार तथा व्यवस्थापनको ठेक्का आठ वर्षदेखि लिएर पनि कार्य सम्पन्न नगर्ने ठेकेदारमाथि कडाभन्दा कडा कारबाही नगरेर स्थानीय जनतामाथि नै दबाब दिने कार्यलाई स्वाभाविक रूपमा लिन सकिँदैन । 

काठमाडौं उपत्यकालाई सफा, स्वच्छ, सुन्दर तथा यसको गरिमा कायम राख्न मुख्य रूपमा यहाँको फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिनुपर्छ । तत्कालका लागि सिसडोलको कुनै विकल्प पनि देखिँदैन । यस अवस्थामा त्यस क्षेत्रका स्थानीयका जायज मागलाई सम्बोधन गर्नुपर्छ र नाजायज मागमा कडा हुनुपर्छ ।

अन्य वैकल्पिक उपायका रूपमा धरान नगरक्षेत्रले उत्पादित फोहोरको बायोग्यास उत्पादन सुरु गरेजस्तै मुलुककै ठूलो तथा पहिलो महानगरपालिकाले यसतर्फ ध्यान दिन सके केही मात्रामा भए पनि फोहोर व्यवस्थापनमा सघाउ पुग्ने निश्चित छ । निर्वाचनको सँघारमा रहेको महानगरलगायत काठमाडौँ उपत्यकाले फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय सुझाउन नसक्ने हो भने यो समस्या नै भोलिको क्यान्सर बन्न जान्छ ।