• १६ भदौ २०८१, आइतबार

म्यान्मारमा सिधा उडानको पहल

blog

काठमाडौँ, भदौ ११ गते । नेपाल म्यान्मार चेम्बर अफ कमर्सले नेपालदेखि म्यान्मारसम्म सिधा उडानका लागि पहल गरेको छ । नेपालका लागि गणतन्त्र म्यान्मारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गसँगको सोमबारको भेटमा चेम्बरले लुम्बिनीदेखि म्यान्मारसम्मको सिधा उडानका लागि आग्रह गरेको हो । 

भेटमा चेम्बरका अध्यक्ष शिवकुमार अग्रवालले विगत १३ वर्षदेखि द्विपक्षीय व्यापारका क्षेत्रमा म्यान्मारबाट सहयोग प्राप्त भएको बताउनुभयो । त्यस्तै उहाँले नवनियुक्त राजदूत मौङ्गको कार्यकालमा नेपाल र म्यान्मारबिच सिधा हवाई उडानको सुरुवात हुन सके यसमा कोसेढुङ्गा साबित हुने बताउनुभयो । 

म्यान्मारमा ८० प्रतिशत बौद्ध धर्मावलम्बी रहेकाले गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा म्यान्मारबाट सिधा हवाई उडान व्यावसायिक रूपमा सम्भव रहेको अध्यक्ष अग्रवालले बताउनुभयो । म्यान्मारमा ठुलो सङ्ख्यामा रहेका नेपालीभाषीलाई पनि यसले सेवा प्रदान गर्न सक्ने उहाँको भनाइ थियो । 

नेपाल र म्यान्मारबिचको व्यापार समस्याका रूपमा रहेको भुक्तानीको समस्यालाई नयाँ राजदूतको कार्यकालमा सहजीकरण गरिदिन पनि चेम्बरले आग्रह गरेको थियो । नेपालले निर्यात गर्न सक्ने क्षेत्रमध्ये सफ्टवेयर, हस्तकला, उच्च मूल्यका कृषि उत्पादन, चिया, कफीलगायतको प्रवर्धन गर्नुपर्नेमा पनि चेम्बरले जोड दिएको थियो । 

भेटमा राजदूत मौङ्गले नेपालप्रति म्यान्मारको सरकार र जनताको सद्भाव रहेको उल्लेख गर्दै द्विपक्षीय व्यापारमा देखिएका समस्या समाधान गर्ने तथा थप व्यवसाय विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेपालमा म्यान्मारका पर्यटकको सङ्ख्या बढाउन सम्भावना रहेकाले सिधा हवाई सेवालाई दिगो रूपमा अघि बढाउने आफ्नो योजना रहेको पनि उहाँको भनाइ थियो । यसका निम्ति पर्यटनसम्बन्धी प्याकेज कार्यक्रमको आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयो । 

पर्यटन प्रवर्धनका लागि दुवै मुलुकले डकुमेन्ट्री प्रदर्शन गरी एकापसमा भ्रमण बढाउनुपर्ने राजदूत मौङ्गको सुझाव थियो । सो क्रममा उहाँले नेपाल म्यान्मार चेम्बर अफ कमर्ससँग सहकार्य गरी म्यान्मार चेम्बर अफ कमर्ससँग भाइचाराको सम्बन्ध विस्तार गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।