चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ २४ गते । हिमाली जिल्ला ताप्लेजुङमा डेंगु सङ्क्रमणको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय ताप्लेजुङले गर्मीयाममा डेंगु सङ्क्रमणको जोखिम बढ्नसक्ने भएकाले जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको हो ।
स्वास्थ्य कार्यालयले सदरमुकाम फुङ्लिङमा शनिबार डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट तथा डेंगु नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै डेंगु सङ्क्रमणको जोखिमबाट सबैले सतर्कता अपनाउन आग्रह गरेको हो । विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरोकारवालाको सहभागितामा आयोजित अभिमुखीकरण तथा पैरवी कार्यक्रममा हिमाली जिल्लामा पनि डेंगुको जोखिम बढेकाले सतर्क रहनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको हो ।
स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उदयनारायण दुलालले तराईसहितका गर्मी क्षेत्रमा हुने डेंगु सङ्क्रमण पछिल्लो समय पहाड तथा हिमाली क्षेत्रमा पनि देखा पर्न थालेको बताउनुभयो । हिमालतिर पनि डेंगु सङ्क्रमण देखा पर्नु जलवायु परिवर्तनको कारण हुनसक्ने दुलालको भनाइ छ ।
गर्मी मौसममा डेंगु सङ्क्रमणको जोखिम बढी हुने गरेको स्थास्थ्य कार्यालयका खोप अधिकृत दिनेश रायले बताउनुभयो । हालको डेंगु सङ्क्रमणको जोखिम हुने गर्मी मौसममा सबैले सतर्कता अपाउनुपर्ने रायले बताउनुभयो । डेंगु सङ्क्रमण फैलिन नदिन साथै नियन्त्रणका लागि सबैले लामखुट्टे नष्ट गर्ने अभियान चलाउनुपर्ने उहाँले बताउनुभयो । उहाँकाअनुसार विगतदेखि हालसम्म जिल्लामा करिव ४५ जनामा डेंगु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ ।
अभिमुखीकरण तथा पैरवी कार्यक्रममा फुङ्लिङ नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले डेंगु रोगसम्बन्धी प्रस्तुति राख्नुभएको थियो । प्रस्तुतिका क्रममा खवासले पानी जम्ने ठाउँबाट डेंगु सार्ने लामखुट्टेको विकास हुने र सोही लामखुट्टेले डेंगु रोगको सङ्क्रमण फैलाउने जानकारी दिनुभयो । पानी जम्ने ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्ने र फुलबाट लार्भा हुँदै वयस्क भएपछि मानिसलाई टोकेर डेंगु रोग फैलाउने उहाँले बताउनुभयो ।
डेंगु रोगको हालसम्म औषधी नभएकाले सङ्क्रमण जोगिनलाई सचेतता अपनाउनुको विकल्प नहुने पनि उहाँले बताउनुभयो । डेंगु रोग फैलाउने लामखुट्टे पाइने सम्भावित ठाउँको पहिचान गरी नियन्त्रण गर्न सरसफाई लगायतका क्रियाकलाप गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । फुङ्लिङ नगरपालिका, स्वास्थ्य शाखा प्रमुख मञ्जु गुरुङले डेंगु रोगको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि वडा–वडामा सचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्दै आएकोे जानकारी दिनुभयो ।