• २५ जेठ २०८२, आइतबार

हर्मीचौर–बलेवा खण्डको निर्माण सम्पन्न

blog

कालीगण्डकी काेरिडोरको गुल्मीको हर्मीचौरदेखि बागलुङको बलेवा खण्ड । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की

काठेखोला (बागलुङ), जेठ २५ गते । छिमेकी देश भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी काेरिडोरको बागलुङ खण्ड अवधिको ६ महिना अगाडि सम्पन्न भएको छ । 

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको कालिगण्डकी काेरिडोरको गुल्मीको हर्मीचौरदेखि बागलुङको बलेवा खण्डको ४४.४८ किलोमिटर सडक निर्माणको जिम्मा पाएको कालीका कन्ट्रक्सनले तोकिएको समयभन्दा करिव ६ महिनाअघि  सम्पन्न गरेको हो । 

यो खण्ड गुल्मीको कालीगण्डकी गाउँपालिका र बागलुङ जिल्लाको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा पर्छ । काेरिडोर आयोजना कार्यालयका अनुसार २०७९ साल मङ्सिर २६ गते यो सडक खण्डको ठेक्का लागेको थियो । कालीका कन्ट्रक्सनसँग ३ अर्ब ३३ करोडको लागतमा ४४.४८ किलोमिटर खण्डमा ९ मिटर चौडाईमा डिभिएसपी प्रविधिको कालोपत्र गर्नेगरी २०८२ मङ्सिर २५ मा सक्ने सम्झौता थियो । 

जेठ दोस्रो साता काम सम्पन्न भएको ठेकेदार कम्पनी कालीका कन्ट्रक्सन ‘हर्मीचौर–बलेवा’ खण्डका आयोजना प्रमुख महेश सुवेदीले जानकारी दिनुभयो । प्रमुख सुवेदीका अनुसार निर्माणको ६५ करोड बजेट सरकारबाट भुक्तानी हुन बाँकी रहेको जानकारी दिनुभयो । 

निर्माणको ९७ प्रतिशत काम सम्पन्न भइसकेको प्रमुख सुवेदीको भनाइ छ । ‘हामीले निर्माणको ९७ प्रतिशत काम सम्पन्न गरेका छौं’ उहाँले भन्नुभयो, ‘सडकको रङरोगन तत्काल गर्न नमिल्ने भएकोले त्यो काम बाँकी छ । भदौ, असोजमा रङ रोगन र सडक मार्किङको काम सकिन्छ ।’

निर्माण सम्पन्न गरेपछि कम्पनीले एक वर्षसम्म सडक मर्मत सम्भारको काम गर्नुपर्ने सम्झौता रहेको छ । सम्झौता अवधिमा सडकमा समस्या आएमा कम्पनीले मर्मत गर्ने उहाँले बताउनुभयो । 

काेरिडोर आयोजना प्रमुख कल्पना अधिकारीले काम सम्पन्न भएको कम्पनी र स्रोत अभावमा काम रोकेका ठेकेदारलाई भुक्तानी दिन नपाएको भन्दै राज्यले स्रोत सुनिश्चित गर्नुपर्ने बताउनुभयो । ‘निर्माण सम्पन्न गरेको कम्पनीलाई बजेट अभावमा भुक्तानी गर्न सकिएको छैन,’ उहाँले भन्नुभयो, ‘सरकारबाट केही भनिएको छैन । अर्थ मन्त्रालयमा थप बजेटको लागि टिप्पणी उठाएर फाइल बुझाइएको छ ।’ दृढ इच्छा शक्ति र कर्मचारी बिच टिमवर्क भएमा समयमै निर्माण गर्न सकिने प्रमुख सुवेदीले बताउनुभयो । 

कन्ट्रक्सनले जसरी सबै निर्माण व्यवसायीले समयमै आयोजनाहरूको निर्माण सम्पन्न गर्न सके विकास निर्माणले फड्को मार्ने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको भनाइ छ । 

‘राम्रो गर्नेलाई सम्मान गर्ने र सकारात्मक सन्देश दिन सकेमा धेरै आयोजनाहरू समयमा सकिने छन्’ उहाँले भन्नुभयो, ‘काम गर्ने वातावरण समेत स्थानीय तहले मिलाउन सक्नुपर्छ ।’

काेरिडोर स्तरीय बनेपछि जैमिनीको कुश्मीसेरादेखि दैनिक बुटवलका लागि बस सेवा सञ्चालन भइसकेको छ । सडक कालोपत्रे भएपछि १०–१२ घण्टा लाग्ने सडक अहिले ५ घण्टामा छोटिएको छ । यस्तै, कुश्मीशेरादेखि जिल्ला सदरमुकाम बागलुङ बजार आवत–जावतमा सहजता भएको स्थानीयले बताउनुभयो ।