काठमाडौँ, जेठ २४ गते। आम जनता पार्टीका अध्यक्ष, पूर्व मन्त्री एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर-३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले गणतन्त्रमा पनि जनता मालिक हुन नसकेको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नु हुँदै साहले भन्नुभयो, ‘‘हामी गणतन्त्रका लागि लडेका थियौँ। गणतन्त्र भनेको जनताको हुन्छ तर यो गणतन्त्र जनताको हुन सकेन। हामी लोकतन्त्रका लागि लडेका थियौँ तर अहिले दलतन्त्र मात्र भयो। जनता मालिक हुने र जनताको कारिन्दा सरकार र संसद् हुनुपर्ने थियो। तर त्यो हुन सकेन।’’
तीन पटक प्रत्यक्ष निर्वाचित सांसद बनिसक्नु भएका साहले विभिन्न तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाली सक्नुभएको छ। बुवा बाबुलाल साह र आमा लक्ष्मीमिया देवीको कोखबाट रौतहटको मौलापुरमा २०२८ सालमा जन्मनुभएका साहले औपचारिक शिक्षा रौतहटमै लिनुभएको हो। माध्यमिक तहको पढाइ रौतहटकै सदरमुकाम गौरबाट पूरा गर्नुभएका उहाँले नेपाल ल क्याम्पस, काठमाडौँबाट कानुन विषयमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको छ। २०४६ सालदेखि राजनीतिमा सक्रिय साहको दलीय राजनीतिमा अबद्धता भने २०४९ सालबाट भएको हो।
२०५४ सालको स्थानीय निर्वाचनमा रौतहटको पतौरा गाविसका वडाध्यक्ष बन्नुभएका साह २०५८ सालमा मधेशी राष्ट्रिय मुक्ति मोर्चाको महासचिव बन्नुभयो। मुक्ति मोर्चाको महासचिव बनेसँगै उहाँले रानीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको देखिन्छ। नेता साह तत्कालीन नेकपा (माओवादी)मा लागेर २०५५ सालमा भूमिगत हुनुभयो। त्यसपछि जनयुद्धको समयमा नौ वर्ष भूमिगत बन्नुभएका साहले मधेशी मुक्ति मोर्चालाई सङ्गठित गर्नुभयो। त्यसताका उहाँले भोजपुरा राज्य समिति इन्चार्जसहितका महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभयो।
तत्कालीन राज्यविरुद्धको सङ्घर्षकै क्रममा उहाँ २०५९ सालमा गिरफ्तारीमा परेसँगै एक वर्ष बेपत्ता हुनुभयो। तत्कालीन माओवादी र राज्यपक्षको वार्ता सुरु भएपछि उहाँ सार्वजनिक हुनुभएको हो। २०६० सालमा माओवादीको केन्द्रीय सदस्य बन्नुभएका साह २०६३ सालमा अन्तरिम संसद्को सदस्य बन्नुभयो। देश सङ्घीयतामा गएपछि माओवादीले साहलाई मधेश प्रदेशको अध्यक्षको जिम्मेवारी दियो।
माओवादीबाट मधेशको राजनीतिमा हाबी देखिनुभएका साह २०६४ सालमा पहिलो पटक संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभयो। पहिलो संविधान निर्माणताका उहाँले संविधान सभा अन्तर्गतको न्याय प्रणाली सम्बन्धी समितिको सभापति बनेर काम गर्नुभयो। २०७० को दोस्रो संविधानसभा चुनावमा रौतहट-३ बाट निर्वाचित हुनुभयो। संविधान निर्माणताका उहाँले मस्यौदा समितिमा बसेर काम गर्नुभयो। २०७२ सालमा समिति सभापति कृष्णप्रसाद सिटौलाले अघिल्लो संविधानसभाले सर्वसम्मत रूपमा गरेका निर्णयको स्वामित्व ग्रहण गर्न अस्वीकार गरेको आरोप लगाउँदै साहले २०७२ साउन २९ गते मस्यौदा समितिबाट राजीनामा दिनुभयो।
साह झलनाथ खनाल, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको सरकारमा क्रमश कानुन, सहरी विकास र भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रीसमेत बनिसक्नुभएको छ। नेता साह २०६८ र २०६९ मा क्रमशः कानुनमन्त्री र भूमिसुधार मन्त्री बन्नुभयो भने २०७३ मा सहरी विकास मन्त्री बन्नुभएको हो।
२०७५ सालमा माओवादी र एमालेले एकता गरेर नेकपा बनेपछि नेकपाको मधेश प्रदेश अध्यक्ष बन्नुभयो। त्यसपछि नेकपा विभाजन हुँदा उहाँ एमालेमा प्रवेश गर्नुभयो। एमालेमा प्रवेश गरेपछि साह केही समय एमालेको स्थायी कमिटी सदस्यसमेत बन्नुभयो। उहाँले २०७९ असोजमा एमालेले दिएको टिकट त्यागेर रौतहट-३ मा स्वतन्त्र उम्मेवारी दिनुभयो। २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर भारी मतका साथ प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि साह आम जनता पार्टीको अध्यक्ष बन्नुभयो। मधेश राष्ट्रिय मुक्ति मोर्चा, माओवादी, नेकपा हुँदै एमाले जस्ता शक्तिशाली सङ्गठन भएका पार्टी परित्याग गर्दै उहाँ अहिले आफ्नै नेतृत्वको पार्टी आम जनता पार्टीको अध्यक्षका रूपमा राजनीतिमा सक्रिय हुनुहुन्छ। साह अहिले प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्य हुनुहुन्छ।
दलगत हिसाबले अस्थिर, सामूहिक निर्णयमा भन्दा आफ्नै हठमा रमाउने नेताको परिचय बनाउनुभएका साह मधेश राजनीतिमा प्रभावशाली नेताको रूपमा परिचित हुनुहुन्छ। आफ्नो निर्वाचन क्षेत्रका जनताबिच लोकप्रिय नेता साहले राजनीतिसँगै केही पुस्तकसमेत लेख्नुभएको छ। उहाँले मधेशका पीडा र आफ्नै जीवनको भोगाइ केन्द्रित भएर ‘मधेशी मुक्तिका आधार’, ‘मेरा यातनाका २७० दिन’, ‘जनयुद्ध र मधेशी मुक्तिको कार्यदिशा’ जस्ता पुस्तकसमेत लेख्नुभएको छ। साहले केही गीतसमेत रचना गर्नुभएको छ।
प्रस्तुत छ - आम जनता पार्टीका अध्यक्ष, पूर्व मन्त्री एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर-३ का प्रतिनिधि सभा सदस्य प्रभु साहसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :