काठमाडौँ, भदौ ८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माण गरी अन्तरदेशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरणमा सहकार्य गर्न आह्वान गर्नुभएको छ ।
भारतको गुजरतामा आयोजित आठौँ धर्म–धम्ब सम्मेलनलाई शुक्रबार साँझ सम्बोधन गर्नुहुँदै उहाँले धार्मिक पर्यटनको प्रवर्द्धनका साथै विश्वभरका आगन्तुकहरूलाई नेपालका धार्मिक स्थलहरूको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आह्वान गर्नुभएको हो ।
उहाँले नेपालका पशुपतिनाथ हलेसी र मुक्तिनाथ तथा भारतको काशीस्थित शान्तिस्तुपा दुई देशबिचका साझा सम्पदाहरू रहेको उल्लेख गर्नुहुँदै नेपालमा यस सम्मेलनको भावना प्रतिबिम्बित हुने खालको आध्यात्मिक अनुभूति गर्न सकिने उल्लेख गर्नुहुँदै सम्मेलनका सहभागीहरूलाई नेपाल भ्रमणमा आउन निम्तो दिनुभएको थियो ।
भुटान श्रीलङ्का लगायतका देशका मन्त्रीहरू र अन्य देशका धार्मिक विचारकहरूको ठुलो सङ्ख्यामा सहभागिता रहेको सो सम्मेलनमा मन्त्री पाण्डेले एकता र विविधता नै हाम्रो परम्पराको आधारभूत मान्यता भएको बताउनुहुँदै शान्ति र करुणको प्रतीकको रूपमा नेपालमा धर्म र धम्बका सिद्धान्तहरू सदियौँदेखि व्यवहारमा रहेको कुरामा जोड दिनुभयो ।
सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “हाम्रा मनमोहक हिमाल, पवित्र तीर्थस्थलहरू तथा सांस्कृतिक सम्पदाहरूले ब्रह्माण्डीय शक्ति र दैवीय उपस्थितिको झल्को दिई रहेका छन् तसर्थ नेपाल प्रकृति र दैवीय शक्तिको जीवित उदाहरण हो ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतमा हाम्रा आध्यात्मिक सम्पदाहरूको संरक्षण प्रवर्द्धन गर्ने निर्णय गरेको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो “म हाम्रो संस्कृति, पर्यटन र उड्डयनको चक्र निर्माणका लागि अन्तर देशीय पूर्वाधार निर्माण र आवागमनको सुदृढीकरण, धार्मिक पर्यटनको प्रवर्द्धनका साथै विश्वभरका आगन्तुकहरूलाई हाम्रा धार्मिक स्थलहरूको पवित्रताको सहज अनुभूति गराउने वातावरणको निर्माणका लागि सहकार्य गर्न आह्वान गर्दछु । सायद यही नै धर्म–धम्ब परम्पराको वास्तविक अर्थ प्रतिको योगदान हुने छ ।”
इण्डिया फाउन्डेसनको पहलमा भारतको गुजरातमा आयोजित सम्मेलनमा धर्म–धम्ब हिन्दु र बौद्ध सभ्यताहरूबिच सदियाैँदेखि स्थायी निरन्तर रूपमा निकट रहेका विचारहरू भएको र जुन आज पनि सान्दर्भिक भएको बताइएको थियो ।
अहिलेको बदलिँदो विश्वमा यी दुई विचार बिचको सम्बन्धको पहिचानमा ध्यान केन्द्रित गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो । यो सम्मेलनको मुख्य उद्देश्य यी दुई विचारबिच आपसमा परागसेचन (क्रस पोलिनेशन) गराउने र दुई प्राचीन सभ्यताहरू बिचको सद्भाव बढाउँदै धर्म–धम्ब स्वतन्त्रताको वास्तविक महोल खडा गर्ने रहेको छ । शताब्दीयौँदेखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको धर्म–धम्ब बिचको साझा विचारहरूलाई एकीकृत गर्नु आजको भूमण्डलीकरणले युगमा अति आवश्यक ठानिएको विषयमा सो सम्मेलनमा जोड दिइएको थियो ।
भारत फाउन्डेसनले गुजरात विश्वविद्यालय, अहमदाबादसँगको सहकार्यमा गुजरातको अहमदाबादमा आठौँ सम्मेलनको नारा ‘धर्म र धम्बमा ब्रह्माण्ड विज्ञान’ रहेको छ ।
सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाका लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म–धम्ब परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ । आठौँ अन्तर्राष्ट्रिय धर्म-धम्ब सम्मेलनमा १८ देशका तीन सयभन्दा बढी विज्ञ तथा प्राज्ञको सहभागिता रहेको अनुमान छ ।