मुस्ताङ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), जेठ २५ गते । हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल दामोदरकुण्डमा भक्तजन र पर्यटकलाई अवलोकन तथा दर्शनका लागि खुला गरिएको छ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ मा समुद्री सतहबाट चार हजार ८९० मिटर उचाइमा रहेको दामोदरकुण्डमा जेठ २० देखि खुला गरिएको सुर्खाङ प्रहरी चौकीले जनाएको छ ।
दाना अन्नपूर्ण दामोदरकुण्ड समितिले भक्तजन र पर्यटकको सहजताका लागि कुण्ड जाने मार्गका बारेमा जानकारीसहित खुला गरेको सुर्खाङ प्रहरी चौकीका हवलदार हरिराम चौधरीले बताउनुभयो । चौधरीले भन्नुभयो, “अहिले दैनिक रूपमा दामोदरकुण्डमा जाने भक्तजनको सङ्ख्या बढ्दै जान थालेको छ, समस्यामा परेकालाई उद्धारसहित विभिन्न सहयोगका लागि नियमित गस्तीमा जान्छौँ ।”
हाल दैनिक जसो धार्मिक भक्तजन सडकमार्ग हुँदै घिमीठाँटीसम्म पुग्ने र त्यहाँबाट पैदल तथा घोडाबाट दामोदरकुण्डसम्म पुग्न सकिन्छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा निःशुल्क भोजन तथा आवास सुविधा रहेको समितिका अध्यक्ष टासी गुरुङले बताउनुभयो । समितिले भक्तजन र पर्यटकलाई लेक लागेको अवस्थामा उद्धार तथा औषधी उपचारमा समेत सघाउने गरेको अध्यक्ष गुरुङको भनाइ छ ।
धर्मशालामा करिब ५० जनाको क्षमता रहेको छ । पैदलयात्रामा समस्या हुनेलाई दामोदरकुण्ड जान र आउन प्रतिघोडा १० हजार रुपियाँसम्म शुल्क लिने गरेका छन् । दामोदरकुण्डमा जेठदेखि असोजसम्म भक्तजन दामोदरकुण्ड आउने गरेपछि अत्यधिक चिसोका कारण धेरै भक्तजन भदौ महिनासम्म आउने गरेको दाना अन्नपूर्ण दामोदरकुण्ड समितिले जनाएको छ । दामोदरकुण्डमा बर्सेनि पाँच हजार रुपियाँको हाराहारीमा भक्तजन र पर्यटक पुग्ने गर्छन् । अर्धनिषेधित क्षेत्रमा पर्ने भएकाले भारतीयसहित तेस्रो देशका पर्यटकलाई १० दिनका लागि पाँच सय डलर तिरेर मात्रै प्रवेश अनुमति दिने गरिन्छ ।
यसलाई मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहानसमेत भनिन्छ । दामोदरकुण्डमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला पाइन्छ । कुबेरका छोराले दामोदरकुण्डमा स्नान गरी पाप पखालेको धार्मिक मान्यता रहेको छ । दामोदरकुण्डमा तीन वटा जलाशय चक्रकुण्ड, दुधकुण्ड र तामाकुण्ड छन् । यीमध्ये मुख्य कुण्ड चक्रकुण्ड, जहाँ चक्रकुण्ड र दुधकुण्ड एक स्थानमा पर्छ भने तामाकुण्ड करिब एक सय मिटर टाढा रहेको छ ।