• ७ मंसिर २०८१, शुक्रबार

परराष्ट्रमन्त्री डा. राणालाई जनसम्पर्क समिति भारतको बधाई

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपाली कांग्रेस जनसम्पर्क समिति भारतद्वारा बधाई तथा शुभकामना व्यक्त । तस्बिर : परराष्ट्रमन्त्रीको सचिवालय

काठमाडौँ, भदौ ६ गते । हाल भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपाली कांग्रेस जनसम्पर्क समिति भारतले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

नेपाली कांग्रेस जनसम्पर्क समिति, भारतका पदाधिकारीहरूले बिहीबार बिहान परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. राणालाई नयाँ दिल्लीमा भेटेर बधाई तथा सम्मान प्रदान गर्नुभएको हो ।

सो समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको पदाधिकारीहरूको टोलीले जनसम्पर्क समिति भारतका क्रियाकलापहरूका बारेमा जानकारी गराउँदै मन्त्री डा. राणाको कार्यकालमा नेपाल भारत सम्बन्ध थप सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री डा. राणाले नेपाली कांग्रेसको विचार र सिद्धान्तमा प्रतिबद्ध रहेर भारतमा रहेका नेपाली समुदायको हितमा काम गर्न र नेपाली कांग्रेसको सङ्गठनलाई प्रवासमा थप विस्तार गरी सशक्त बनाउन आग्रह गर्नुभयो ।

गत आइतबार नयाँ दिल्ली पुग्नुभएका मन्त्री डा. राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस. जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो ।

भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएका मन्त्री डा. राणा आज अपराह्न स्वदेश फर्कँदै हुनुहुन्छ ।