• १६ भदौ २०८१, आइतबार

भरोसा जगाउँदै महिला भलिबल

blog

भारतलाई हराएर च्याम्पियन बन्ने नेपालको सपना अधुरै रह्यो । उपाधि जितेको भए नेपाली भलिबल टिमले घरेलु कोर्टमा पहिलो अन्तर्राष्ट्रिय उपाधि हात पार्ने थियो । यद्यपि यस टिमले नेपाली महिला भलिबलको भविष्यलाई लिएर ठुलो भरोसा दिलाएको छ ।

फुटबल र क्रिकेटको मात्र धेरै चर्चा हुने नेपाली खेलकुद वृत्तमा अहिले भलिबल पनि थपिएको छ । भलिबलको चर्चा पनि महिला टिमका कारण चुलिँदै छ । महिला भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार उपलब्धिसहित समर्थकलाई आफूसँग जोड्न बाध्य बनाउँदै छ । यसै महिना काभा नेसन्स भलिबल लिगमा दमदार प्रदर्शनसहित फाइनल यात्रा र त्यस क्रममा भारतलाई हराएपछि नेपालको महिला भलिबलले अहिलेसम्मकै सबभन्दा धेरै माया र सम्मान पायो । जुनसुकै खेल होस्, अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गर्दा नेपाली समर्थक राष्ट्रिय भावनाले ओतप्रोत हुन्छन् । अझ भारतलाई हराएमा नेपाली समर्थकले सो टिमलाई आँखाको नानीमा नै राख्छन्; जुन काभा नेसन्स लिगमा पनि प्रमाणित भएको हो । दशरथ रङ्गशालाको कभर्ड हलमा नेपालको महिला भलिबल टिमले भारतको वर्चस्व तोडेपछि महिला भलिबलको चर्चा चुलिएको हो ।

लिग चरणमा दक्षिण एसियामा अजेय मानिएको भारतविरुद्धको जित ऐतिहासिक थियो । महिला भलिबलमा नेपालले पहिलो पटक भारतलाई हरायो । नेपालले सो प्रदर्शन फाइनलमा भने दोहो¥याउन सकेन । यद्यपि फाइनलमा पनि भारत दबाबमा खेलेको थियो । नेपालले भारतविरुद्ध पाँच सेटसम्म प्रतिस्पर्धा तानेको  थियो । अझ सुरुका तीन सेटमा २–१ को अग्रता बनाएको घरेलु टिम नेपालसमक्ष चौथो सेटमै उपाधि आफ्नो पक्षमा पार्ने मौका थियो तर ‘बिग म्याच एक्सपोजर’ को कमी मान्न सकिन्छ, लक्ष्यनजिक पुगेपछि नेपाली खेलाडी अत्तालिए । चौथो सेट प्रतिस्पर्धात्मक खेलमा गुमाएको नेपाल पाँचौँ सेटमा निरीह नै बन्यो । भारतलाई हराएर च्याम्पियन बन्ने नेपालको सपना अधुरै रह्यो । उपाधि जितेको भए नेपाली भलिबल टिमले घरेलु कोर्टमा पहिलो अन्तर्राष्ट्रिय उपाधि हात पार्ने थियो । यद्यपि यस टिमले नेपाल महिला भलिबलको भविष्यलाई लिएर ठुलो भरोसा दिलाएको छ । 

यस्तो हारले पीडा दिन्छ नै तर रङ्गशालामा गएर फाइनल खेल प्रत्यक्ष हेर्ने हजारौँ घरेलु दर्शक तथा युट्युबमा प्रत्यक्ष प्रसारण हेर्ने चार लाखभन्दा बढी समर्थकको छाती आफ्नो टिमको प्रदर्शनले चौडा भएको थियो । सबैले आफ्नो महिला भलिबल टिमको उत्कृष्ट प्रदर्शनमा गर्व गरे । भारतीय खेलाडीले उपाधि जितेपछि कोर्टमै खुसीले रोएको दृश्यले पनि नेपालमा नेपालविरुद्धको जित उनीहरूका लागि कति कठिन थियो भन्ने सिद्ध हुन्छ ।

नेपाल लगातार दोस्रो पटक भारतविरुद्धको उपाधि खेलमा जितको नजिक पुगेर चुकेको हो । सन् २०१९ मा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा पनि नेपालको महिला भलिबल टिमले यस्तै नियति बेहोरेको थियो । सो समय पनि नेपालले ‘फिनिसिङ टच’ दिन नसक्दा भारत भाग्यमानी बनेको थियो । सायद सो खेलपछि नै नेपाली महिला भलिबल टिममा जुनसुकै टिमलाई पनि हराउन सक्छु भन्ने विश्वास उत्पन्न भएको देखिन्छ । यस पटक भारत र इरानको उपस्थितिबिच नेपालले उपाधि जित्छु भन्ने विश्वास देखाएको थियो जुन विश्वास हचुवा थिएन भन्ने नेपालको महिला भलिबल टिमले प्रमाणित ग¥यो । प्रतियोगितामा नेपालले भारत मात्र होइन, श्रीलङ्का र माल्दिभ्सलाई पनि हरायो । लिगमा इरानसँग ३–२ सेटमा हारे पनि सेमिफाइनलमा सोही टिमविरुद्ध ३–० को सहज जित निकालेर नेपालले फाइनलमा स्थान बनाएको थियो ।

चौथो काभा नेसन्स लिगबाट नेपालले महिला भलिबलमा आफ्नो स्तर धेरै माथि पुगिसकेको देखाएको छ । त्यसैले यस टिममाथि अहिले सबै गर्व गर्दै छन् । काभा नेसन्स लिगपछि नेपालका सबै महिला भलिबल खेलाडी अहिले स्टार बनेका छन् । उनीहरूलाई मिडियामा अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ । विभिन्न कार्यक्रममा लगातार उपस्थिति जनाइरहेका छन् । पुरस्कारको घोषणा पनि भइरहेको छ । विशेषतः कप्तान अरुणा शाहीसहित निरुता ठगुन्ना, सरस्वती चौधरी, उषा भण्डारी र सलिना श्रेष्ठको ठुलो नाम बनेको छ । पुनम चन्द, साफिया पुन, सुमित्रा रेग्मी, सङ्गम महतो, कामना विष्ट, प्रगति नाथ र आरती सुवेदीले पनि ठुलो आशा जगाउनुभएको छ । यस पटक टिममा नेपाली भलिबलले पाएको अहिलेसम्मका सर्वश्रेष्ठ खेलाडीमध्ये एक प्रतिभा माली चोटका कारण हुनुहुन्थेन । यी नामको चर्चा गर्दा महिला भलिबललाई यहाँसम्म ल्याउन निमा श्रेष्ठ, नेविका चौधरी, मञ्जु गुरुङ, रमिला तन्डुकार, सिपोरा गुरुङ, परीक्षा गुरुङ, कोपिला उप्रेती, नीता शाह जस्ता पूर्वखेलाडीको योगदान पनि बिर्सन हुँदैन किनभने १० वर्षअघि फर्किने हो भने नेपाल भलिबलले यति प्रगति गर्छ भन्ने सोच्नु पनि जायज थिएन । 

नेपालमा पहिलो राष्ट्रिय महिला भलिबल २०३७ सालमा भएको थियो तर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको इतिहास हेर्ने हो भने १० वर्षअघि नेपालले आधा दर्जन च्याम्पियनसिप पनि खेलेको थिएन । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नेपाली महिला टिमलाई दक्षिण एसियाली खेलकुद आउनु पथ्र्यो । महिला भलिबल शून्यकै अवस्थामा थियो । यद्यपि विभिन्न क्लबको गठन, विभागीय टिमको सहयोग र लगातार प्रतियोगिताले गर्दा पछिल्लो दशकसम्म शून्यको स्थितिमा रहेको भलिबल तीव्र गतिले प्रगतिपथतर्फ लम्केको देखिन्छ । सक्रियताको सुरुको समयमा महिला भलिबल अगाडि आउनुमा एपिएफ, पुलिस, आर्मी, पश्चिमाञ्चल र न्यु डायमन्डको ठुलो योगदान छ । घरेलु प्रतियोगितामा यी टिमको प्रतिद्वन्द्वीले पनि महिला भलिबलको बिस्तारै स्तरीय हुँदै गएको हो भन्दा फरक पर्दैन । अहिले नेपाली महिला भलिबलका सङ्ग्रहमा सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको दुई ट्रफी छ । दक्षिण एसियाली खेलकुदमा त नेपाली महिला भलिबलको पदक जित्ने बानी नै छ ।

भलिबल नेपालको राष्ट्रिय खेल हो । सात वर्षअघि फुटबल, क्रिकेट र तेक्वान्दोलाई पछाडि पार्दै भलिबल राष्ट्रिय खेल घोषित भएको थियो । मुलुकको भौगोलिक विकटता, अन्य खेलको तुलनामा थोरै लगानी, सर्वसाधारणको पहुँच, यस खेलको लोकप्रियता र सर्वसुलभ भएकाले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको भनिएको थियो । एक त महिला भलिबलको लगातार सफलता अनि नेपालको राष्ट्रिय खेल भएकाले पनि भलिबललाई अझ विशेष प्राथमिकता दिनुपर्ने आवाज उठ्न थालेको छ । यसमा लगानी र भौतिक पूर्वाधारका बारेमा चिन्ता व्यक्त गर्न थालिएको छ ।

हुन त महिला भलिबलको प्रगतिमा नेपाल भलिबल सङ्घको राम्रो नेतृत्व पनि जिम्मेवार छ । सङ्घको आयोजनामा भलिबलले लगातार एक्सपोजर पाइरहेको छ तर अबको चुनौती खेलमै ध्यान केन्द्रित गर्न खेलाडीलाई आर्थिक रूपमा सबल बनाउने, रङ्गशाला निर्माण आदि हुन् । यसका लागि सरकारको साथ जरुरी छ । गत वर्षको भदौबाट भलिबल खेलाडीलाई मासिक पाँच हजार रुपियाँ दिन थालिएको छ । यद्यपि त्यो तलब भलिबल सङ्घले दातामार्फत उपलब्ध गराइरहेको छ । अहिले भलिबलको ‘फ्रेन्चाई लिग’ घोषणा भएपछि भने भलिबल खेलाडी अझ व्यावसायिक बन्ने अपेक्षा गरिएको छ । ‘फ्रेन्चाई लिग’ मा ‘ए’ श्रेणीका खेलाडीले एक लाख ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले एक लाख र ‘सी’ श्रेणीका खेलाडीले ५० हजार रुपियाँ पाउने छन् ।

यसै गरी नेपालमा अन्तर्राष्ट्रिय मात्र होइन, राष्ट्रिय प्रतियोगिता हुँदा पनि उल्लेख्य मात्रामा दर्शकको उपस्थिति हुन्छ । हालै सम्पन्न काभा फाइनलमै आधाभन्दा बढीले टिकट नै पाएनन् । त्यसैले पनि अहिलेको प्रमुख आवश्यकता सुविधासम्पन्न आधुनिक भलिबल कभर्ड हल हो । यसका लागि भलिबल सङ्घ सरकारसँग जग्गा उपलब्ध गराउन आग्रह गर्दै छ । फलाम तातेको छ, त्यसैले यसमा प्रहार गर्ने अहिले सही समय हो । नत्र अहिलेको जोस शिथिल हुन बेर लाग्ने छैन ।