ठाकुरप्रसाद आचार्य
बेनी, साउन २९ गते । चालु आर्थिक वर्षमा म्याग्दीमा कृषि र पशुपालनका क्षेत्रमा करिब पाँच करोड बजेट खर्च हुने भएको छ । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत चालु आवमा कृषि उत्पादन वृद्धि र प्रवर्द्धनका लागि पाँच करोड ९९ लाख ७ हजार रुपियाँ बजेट खर्च हुन लागेको हो ।
कृषि ज्ञान केन्द्रले आलु र सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्यसहित चालु आवमा तीन करोड ३३ लाख २५ हजार बजेट विनियोजन गरेको कृषि ज्ञान केन्द्रले खायन आलु प्रवर्द्धन तथा बिउ आलु उत्पादनका लागि एक करोड २० लाख रपियाँ बजेट विनियोजन भएको कार्यालय प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो ।
गत वर्षदेखि सञ्चालन भएको खायन आलु उत्पादन कार्यक्रम सफल भएपछि चालु आवमा पनि निरन्तरता दिएको उहाँले बताउनुभयो ।
सुन्तला जातको फलफूल विकास आयोजनाका लागि ६७ लाख बजेट विनियोजन गरेको छ । सुन्तला किसानलाई तालिम, बाली कटानी, यान्त्रिकीकरण, सिंचाइ व्यवस्थापन, नयाँ बगैँचा विस्तार र पुरानाको सुधार तथा बिमालगायत कार्यक्रम गरिने कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गतवर्ष सञ्चालन गरिएको खायन आलु उत्पादन कार्यक्रमबाट धेरै किसानहरु लाभान्वित भएकाले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएका छौं । समूह/सहकारीमार्फत किसानलाई अनुदान वितरण गर्ने नीतिगत व्यवस्था मिलाएका छौं ।’’
यसैगरी, खाद्यवाली प्रवद्र्धनमा १३ लाख र तरकारी बाली प्रवर्द्धन कार्यक्रमका लागि १५ लाख पचास हजार रुपियाँ चालु आर्थिक वर्षमा खर्च हुने कार्यालय प्रमुख बाँस्तोलाले जानकारी दिनुभयो ।
कृषि तथ्याङ्क तथा बजार विकास कार्यक्रमका लागि १० लाख ९० हजार, फलफूल विकास कार्यक्रमका लागि २१ लाख ६० हजार, मसला तथा निर्यातयोग्य बाली प्रवर्द्धनका लागि ६ लाख, रैथाने बाली प्रवर्द्धन कार्यक्रमका लागि २१ लाख, जलवायुमैत्री प्रविधि प्रवर्द्धन कार्यक्रमका लागि पाँच लाख र पोषण सुरक्षा कार्यक्रमा २० लाख रुपियाँ बजेट विनियोजन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस्तै, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशुपालन किसालाई लक्षित गरेर चाल आवमा एक करोड ६५ लाख ८२ हजार रुपियाँ विनियोजन भएको कार्यालय प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पशुस्वास्थ्य कार्यक्रका लागि २६ लाख २० हजार, पशु आहारा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न पाँच लाख दश हजार, पशुपंक्षी तथा मत्स्य व्यवसाय प्रवर्धन कार्यक्रमका लागि ४७ लाख रुपियाँ बजेट विनियोजन भएको छ । पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन गर्न ८० लाख र अन्य कार्यक्रम सञ्चालनका लागि १५ लाख रुपियाँ बजेट विनियोजन भएको कार्यालय प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो ।
बजेट सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले कृषि र पशु विकासका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले परिश्रमी किसानहरुलाई अनुदान उपलब्ध गराएर प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो । राज्यबाट प्राप्त अनुदानको सही रुपमा सदुपयोग गर्दै कृषि उत्पादन वृद्धि गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाको उपप्रमुख ज्योति लामिछाने, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन लगायतले कृषि र पशु विकासका कार्यक्रमहरु सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय गरेर गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि,स्थानीय तहका कृषि तथा पशुसेवा तर्फका प्राविधिकहरु र कृषकहरुको सहभागिता थियो ।