• ७ मंसिर २०८१, शुक्रबार

पर्यटकीय स्थल तिम्बुङ पोखरी

blog

अधिकांश लिम्बूभाषी विद्वान एवं स्थानीय तिम्बुङवासीका अनुसार लिम्बू भाषामा बन्दुक पड्किएको आवाजलाई ‘तेम्बक’ भनिने हुनाले अपभ्रंश भएर तिम्बुकको अर्थ ‘बन्दुक पड्केको’ बोध हुन्छ । लिम्बू भाषामा ‘ते’ भनेको ‘बन्दुक’, ‘बुङ्’ भनेको ‘पड्किएको’ अर्थ अनुसार पोखरीभित्र समय समयमा बन्दुक पड्केको जस्तो आवाज सुनिएकाले नाम नै ‘तिम्बुक पोखरी’ रहन गएको भनिन्छ । त्यसै गरी कतिपय लिम्बूभाषी विद्वान्का अनुसार ‘तिम्बु’ भनेको ‘टिलपिल भरिएको’ भन्ने अर्थ बोध हुने भएकाले यो पोखरीको नाम तिम्बुङ पोखरी रहन गएको हो । करिब ४६६ मिटर लम्बाइ र १५४ मिटरदेखि दुई सय मिटरसम्म चौडाइ रहेको तिम्बुङ पोखरी नेपाल–भारत सिमानादेखि एक किलोमिटरभित्र नेपालको ताप्लेजुङ, पाँचथर जिल्लाको सिमानामा पर्छ । 

यो पोखरीको गहिराइ यति नै छ भनेर किटान गरी भन्न सकिएको छैन । समुद्री सतहबाट करिब चार हजार ४८० मिटर उचाइमा अवस्थित तिम्बुङ पोखरीबाट निस्केको पवित्र खोलाले ताप्लेजुङ जिल्ला र पाँचथर जिल्लालाई जोडेको छ । पाँचथर जिल्लाको सदरमुकाम फिदिमबाट करिब १८ कोस टाढा तिम्बुङ पोखरी पाँचथर फलैँचा गाविस हालको याङवाराक गाउँपालिका र ताप्लेजुङ जिल्लाको कालीखोला गाविस हालको सिदिङ्वा गाउँपालिकामा अवस्थित छ । त्यसकारण ताप्लेजुङ र पाँचथर दुई वटै जिल्लाका आआफ्ना आस्थाका केन्द्रका रूपमा कहिल्यै नछुट्टिने गरी जोडिएको छ, तिम्बुङ पोखरी । प्राकृतिक सौन्दर्यले भरिपूर्ण तिम्बुङ दुई वटै जिल्लाका अमूल्य सम्पदाका रूपमा कहलिएको ऐतिहासिक पोखरी हो । 

देशकै यस्तो रमणीय स्थलमा गएर यहाँका प्राकृतिक छटासँग रम्न, चुम्नका लागि पाँचथर फिदिमको गणेश चोक अथवा ताप्लेजुङको फुङलिङ बजारबाट जान सकिन्छ । तिम्बुङ पोखरी जाने उत्तम सिजन सामान्यतः जेठदेखि असोजसम्म हो । असोजमा यहाँका प्राकृतिक दृश्य खुल्ने भएकाले अवलोकन गर्न आउने जोकोहीका लागि यो ठाउँ मनमोहक छ । त्यसपछि यो क्षेत्र हिँउको सिरकले ढकमक्क ढाकिन सुरु गर्छ । हिउँ खेलेर आनन्द लिन चाहनेका लागि यो क्षेत्र झनै रमाइलो र मनमोहक छ । छिमेकी राष्ट्र भारतको सिक्किमसँग सीमा जोडिएको पर्यटकीय तीर्थस्थल तिम्बुङ पोखरी क्षेत्र जैविक विविधताका हिसाबले जिल्लाको राजधानी नै मानिन्छ । यो क्षेत्र पदमचाल, विसमा, चिराइतोलगायतका अमूल्य जडीबुटीको अथाह भण्डार क्षेत्र हो । तिम्बुङ पोखरी जाने क्रममा बाटोमा हिमाली जनावर, पन्छी र विभिन्न प्रजातिका वनस्पती देख्न सकिन्छ । 

यो क्षेत्र धार्मिक तीर्थस्थलका हिसाबले पुण्य भूमि हो । यहाँ आएर दर्शन गर्दा मानिसले सोचेको पुग्ने र मोक्ष प्राप्त गर्न सकिने गहिरो आस्था एवं विश्वास रहिआएको छ । तिम्बुङ पोखरी क्षेत्रको वरपर शिवपोखरी, सूर्यकुण्ड, दुधकुण्ड, हाँसपोखरी, मयूरपोखरी, नीरपोखरीलगायतका अनेक पोखरी छन् । यस क्षेत्रमा कुम्भकर्ण हिमालवरिपरि प्रशस्त कुण्ड मालाकार रूपमा रहेकाले यस स्थानलाई पूर्वको गोसाइँकुण्ड पनि भन्ने गरेको पाइन्छ । सफा, स्वच्छ र पारदर्शी देखिने तिम्बुङ पोखरीभित्र तीर्थालुले चढाएका सिक्का पोखरीको पिँधमा जस्ताको तस्तै टलक्क टल्केको देख्न सकिन्छ । 

विश्वको तेस्रो सर्वोच्च शिखर कञ्चनजङ्घा हिमालनजिक रहेको यो पोखरी हेर्न आउने पर्यटकले अनेक आनन्द लिन पाउँछन् । अतः कञ्चनजङ्घा, कुम्भकर्ण हिमालको मनोरम दृश्य पनि नियाल्दै तिम्बुकको पोखरीमा मन भुलाउँदै मनोरञ्जन लिने पर्यटक यो ठाउँमा एक पटक आएपछि घरी घरी आइरहन्छन् । नेपाल सरकारले देशका प्रमुख सय पर्यटकीय गन्तव्यको सूचीभित्र तिम्बुङ पोखरीलाई पनि सूचीकृत गरेपछि यस क्षेत्रमा वार्षिक बजेट विनियोजन हुँदै आएको छ । त्यो विनियोजित बजेटले यस क्षेत्रमा होमस्टे, सडकलगायतका विकास निर्माण र सञ्चालनमा ठुलो सहयोग पु¥याउँदै आएको छ । 

इसापूर्व ८०० ताका हिमालय क्षेत्रवरिपारि भोट, चीन र हिमालय नेपालमा बसोबास गर्दै आएका स्थानीय प्रथम किराँती राजा यलम्बर हाङका वंशज, सन्तान र सन्ततीहरूले लामो समयसम्म नेपालमा राज्य गर्न सफल भए । यलम्बर हाङ उपत्यकामा लामो समयसम्म शासन गर्ने महिषपाल राजाहरूमध्येका अन्तिम राजा भुवनसिंहलाई परास्त गरी पहिलो किराँत राजाका रूपमा उदाउनुभयो । राजा यलम्बरले पवित्र तिम्बुङ पोखरीमा स्नान गर्नुभएको स्मरण स्थानीय जनमानसमा व्याप्त छ । यसरी यलम्बरकालीन अस्तित्वसँग गाँसिएको तिम्बुङ पोखरी र सँगैका अन्य दुधकुण्ड प्रागैतिहासिक कालदेखि नै राष्ट्रिय पहिचान बोकेर बसेका छन् । भोट तिब्बत र सोलु सगरमाथा जोड्ने नाङपाला भन्ज्याङदेखि भोट तिब्बतको रिउ र ताप्लेजुङ ओलाङचुङ्गोला जोड्ने टिपताला भन्ज्याङ अनि सिक्किम र ताप्लेजुङ पाँचथर जोड्ने तिम्बुङ पोखरी क्षेत्र राई, लिम्बूहरूको पहिचानयुक्त उद्गमस्थल एवं पावन जन्मभूमि हो ।

यसरी प्रागैतिहासिक, प्राचीन, पुरातात्त्विक महत्वको लिम्बू पहिचानसँग जोडिएको विश्वासमा आधारित तिम्बुङ पोखरीलाई नयाँ नामबाट होइन; पुरानै परम्परागत पुरातात्त्विक नाम तिम्बुङबाटै पोखरीको पहिचान अक्षुण्ण राख्नु राज्यको दायित्व हुन आएको छ । यस क्षेत्रको मौलिक पहिचान कायम राख्न स्थानीयवासीले समय समयमा खबरदारी गर्नुपर्ने हुन्छ । तिम्बुङ पोखरी नेपाल र आमनेपाली जनमानसको ऐतिहासिक आस्था, प्राचीन पहिचान, पुरातात्त्विक महत्व र अस्तित्वसँग जोडिएको संवेदनशील धरोहर हो । यस्तो मनै लोभिने ऐतिहासिक ठाउँमा एक पटक आएर गएका पर्यटकको धीत मर्दैन । बारम्बार आइरहन मन लाग्छ भन्ने पर्यटककै भनाइ सुनिन्छ । त्यसकारण स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यटकहरू यस पवित्र ऐतिहासिक तिम्बुङ पोखरी आइरहन्छन्, घरी घरी ।

Author

कविता सुब्बा