कुनै पनि देशका लागि विदेशी मुद्रा अत्यन्त महत्वपूर्ण हुन्छ । विदेशी मुद्रालाई विदेशी विनिमय भनेर पनि चिनिन्छ । विदेशी मुद्रा जति धेरै कमाइ भयो देशलाई त्यति फाइदा हुन्छ । यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ ।
अन्य देशबाट वस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नु पर्दछ । पर्याप्त विदेशी मुद्रा रहेमा यस्तो भुक्तानी सहज हुन्छ । यदि विदेशी मुद्रा अभाव हुन गएमा आयातबापतको भुक्तानी गर्न कठिनाइ पर्दछ । यसो भएमा मुलुकको अर्थतन्त्र सङ्कटमा पर्न सक्छ । कोभिड–२०१९ कालमा श्रीलङ्काले यस्तो समस्या बेहोरेको थियो ।
नेपालबाहेक अन्य देशका मुद्रा नेपालका लागि विदेशी मुद्रा हुन् । कुनै पनि मुलुकमा दैनिक कारोबारमा विदेशी मुद्रा प्रयोग गरिँदैन । विदेशी मुद्रा सटही गरेर सम्बन्धित देशको मुद्रा नै प्रयोग गर्नु पर्दछ । दैनिक भुक्तानीमा विदेशी मुद्रा कारोबार गर्दा देशको अर्थतन्त्रमा हानि पुग्छ । यसो गर्दा अर्थतन्त्रमा कति पैसा छ भन्ने राज्यका निकायलाई थाहा हुँदैन । यसले मूल्यवृद्धि गराउने, मौद्रिक नीति कार्यान्वयन गर्न कठिनाइ पर्ने, मुलुकको सार्वभौमसत्तामा आँच आउने जस्ता समस्या आइपर्न सक्छ । तसर्थ विदेशी मुद्रा सटही गरेर नेपाली रुपियाँमै कारोबार गर्नु पर्दछ ।
नेपालको विदेशी मुद्रा कमाइ हुने स्रोत मुख्यतः रेमिट्यान्स हो । यसका साथै नेपाली सामान निर्यात गरेबापत प्राप्त विदेशी मुद्रा, विदेशी पर्यटकले यहाँ खर्च गरेको विदेशी मुद्रा, प्रत्यक्ष विदेशी लगानी आदि हुन् । यस प्रकारका स्रोतबाट प्राप्त पैसाले देशको आयातबापतको ठुलो भुक्तानी गर्न सघाएको छ ।
नेपालबाट लाखौँ युवा देशबाहिर जानाले देशभित्र श्रमशक्तिको अभाव र उत्पादन न्यून भई देशले ठुलो मात्रामा वस्तु तथा सेवा आयात गर्नु परिरहेको छ । तत्कालका लागि वैदेशिक रोजगार राम्रो देखिए पनि दीर्घकालमा वैदेशिक रोजगारभन्दा मुलुकभित्र नै उद्यम व्यवसाय सञ्चालन गरी उत्पादन, आय तथा रोजगारी बढाउनु उपयुक्त हुन्छ । यसले मुलुकलाई दिगो आर्थिक विकासको दिशामा अघि बढ्न मद्दत पुग्छ ।
विदेशी मुद्रा राज्यको सम्पत्ति हो । यसको प्रयोग गर्दा राज्यको स्वीकृति लिनुपर्ने हुन्छ । नेपालमा भित्रिएको समग्र विदेशी विनिमय जिम्मा लिई सोको व्यवस्थापन गर्ने काम केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले गर्दै आएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजत दिने, सोसम्बन्धी नीति नियम बनाउने र कार्यान्वयन गर्ने, इजाजत दिइएको संस्थाको कारोबारको निरीक्षण तथा सुपरीवेक्षण गर्ने, सुपरीवेक्षणका क्रममा कुनै कैफियत भेटिएमा कारबाही गर्नेलगायतका कार्य राष्ट्र बैङ्कले नै गर्दछ ।
विदेशी मुद्रा जथाभाबी प्रयोग गरी दुरुपयोग गर्नु हुँदैन । आफैँले कमाएको भए पनि विदेशी मुद्रा सरकारी निकायले तोकेबमोजिम मात्र खर्च गर्न पाइन्छ । विदेशी मुद्राको कमाइ गरी बैङ्कमा खाता खोलेर व्यक्तिले राख्न सक्दछ तर आफूलाई आवश्यक परेमा राज्यबाट स्वीकृति लिएर मात्र खर्च गर्न पाइन्छ । यसको दुरुपयोग गरेमा कानुनबमोजिम कारबाही हुने गर्दछ ।
नेपाली मुद्राको अन्य विदेशी मुद्रासँगको सटही दरलाई विनिमय दर भनिन्छ । अहिले भारुसँग नेपाली मुद्राको विनिमय दर स्थिर छ । यो दर हाल भारु १००।– बराबर नेपाली रु. १६०।– तोकिएको छ तर अमेरिकी डलरसँगको सटही दर भने भारतीय रुपियाँसँग बन्धित (एभननभम) गरिएको छ । यसले गर्दा भारतीय रुपियाँको अमेरिकी डलरसँग विनिमय दर परिवर्तन हुँदा नेपाली रुपियाँको पनि परिवर्तन हुने गर्दछ । यसबाहेक अन्य देशका मुद्रासँगको विनिमय दर स्वतन्त्र छाडिएको हुँदा अन्य देशको मुद्रासँगको विनिमय दर तलमाथि भइरहन्छ ।
नेपालको अर्थतन्त्र अहिले आयातप्रधान हुन पुगेको छ । अर्थात् हामी निर्यातको तुलनामा ठुलो मात्रामा आयात गर्दछौँ । आयातबापत विदेशी मुद्रा भुक्तानी गर्न नेपालले अन्य देशको मुद्राको माग बढी गर्नु परेको छ । यस कारण नेपाली मुद्रा कमजोर हुन गई अन्य देशको मुद्रा प्राप्त गर्न धेरै नेपाली मुद्रा तिर्नु पर्दछ । नेपालबाट धेरै वस्तु तथा सेवा निर्यात गर्न सकेमा विदेशीले नेपाली मुद्रा माग गर्ने भएकाले नेपाली रुपियाँ बलियो हुने छ ।
कुनै पनि व्यक्ति वा संस्था कसैले पनि स्वीकृति नलिई विदेशी मुद्रा सटही तथा कारोबार गर्न पाइँदैन । यदि विदेशी पर्यटकले उपहार दिएमा वा विदेशमा बस्ने नेपाली परिवारजनले विदेशी मुद्रा पठाइदिएमा सो विदेशी मुद्रा इजाजतप्राप्त बैङ्क वा वित्तीय संस्था वा मनिचेन्जरमा गई साटेर नेपाली मुद्रा नै कारोबार गर्नु पर्दछ ।
नेपालमा वाणिज्य बैङ्क तथा वित्तीय संस्था, मनिचेन्जर कम्पनी तथा केही ठुला होटेल, ट्राभल्स/ट्रेकिङ, टुर्स एजेन्सीले विदेशी मुद्राको कारोबार गर्न स्वीकृति लिएका छन् । विदेशी मुद्रा सटही गर्दा ती स्वीकृति प्राप्त कम्पनीसँग मात्र कारोबार गर्नु पर्दछ । सो कारोबार गरी रसिद या निस्सा लिनु जरुरी छ । यसो गरेमा राष्ट्रका लागि आम्दानी हुने गर्दछ र विदेशी मुद्राको अभिलेख पनि रहन्छ ।
–युवामञ्च