नेपाली गीतसङ्गीतको एक जमानाको स्वर्णभूमि दार्जिलिङले एक से एक सुरकर्मी जन्माएको छ । नेपालमा आई गौरवमय उचाइ प्राप्त गरेका अम्बर गुरुङ तथा गोपाल योन्जन र मुम्बईको पाश्र्व सङ्गीतमा रञ्जित गजमेरको चर्चा जति गरे पनि कमै हुन्छ । सुरको साइनो काठमाडौँ र दार्जिलिङबिच कति कसिलो थियो भन्ने कुरा नारायणगोपालको सफलताका कारकहरू गोपाल योन्जन तथा दिव्य खालिङको सहकार्यले पुष्टि गरेको छ ।
बाबु दोर्जे लामा र आमा साङ ल्हामुको कोखबाट इसं १९५४ डिसेम्बर ११ मा दार्जिलिङको कलेज भ्यालीमा जन्मेकी दावाका भाइबहिनी नै १० जना थिए । घरकी जेठी छोरीका रूपमा जन्मनु परेकाले सानै उमेरदेखि नै घरायसी जिम्मेवारीसमेत बेहोर्नु प¥यो उनले । स्थानीय सिंहमारी स्कुलमा प्राथमिक अध्ययन सुरु गरेकी उनले स्कुल नै तीन पटक फेर्नु प¥यो । क्रमशः न्यु सेन्ट माइक स्कुल र सेन्ट टेरेजा स्कुलबाट प्रवेशिका उनले उत्तीर्ण गरिन् ।
यसरी तीन स्कुल फेरे पनि उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरेको सेन्ट टेरेजाबाट नै प्रमाणपत्र र स्नातक तह पार गरिन् । बाल्यकालदेखि नै घरायसी जिम्मेवारीले थिचिएकी दावा स्नातक पार गर्नेबित्तिकै भारतीय स्वास्थ्य विभागको जागिरमा समाहित भइन् । केटाकेटी छँदा आफ्ना समवयी साथी खुसी हुँदै उफ्रिँदै खेलेको देख्दा उनलाई पनि खेल्न मन त लाग्दो हो तर बग्रेल्ती भाइबहिनी भएकाले उनले तिनीहरूको पनि आमापछिको अर्को अभिभावकीय जिम्मेवारीको बोझ उठाउनु परेको थियो ।
त्यो जमानाको दार्जिलिङ साहित्य र कलाको अनुपम नगरी थियो । हिमालय कला मन्दिर तथा सङ्गम समूह एकातिर प्रतिस्पर्धा गर्दथे भने अर्कातिर सावन समूह । कर्म योन्जन, दिलमाया खाती, डेजी बराइली, चन्दन लमजेल, कर्म योन्जन, जितेन्द्र बर्देवाहरूको साङ्गीतिक रौनकलाई दावाले नजानिँदो गरी बुझिसकेकी थिइन् । उनको परिवारमा त कोही पनि सङ्गीतका अनुरागी थिएनन्, फेरि त्यो जमानामा केटीहरूले सानै उमेरदेखि नाचगान गर्नु समाजमा त्यति राम्रो पनि मानिँदैनथ्यो । यसो भए पनि उनको सङ्गीतप्रतिको अनुरागलाई त्यतिखेरको त्यहाँको साङ्गीतिक वातावरणमा सङ्गीतकारको परिचय बनाएका उनका काका बहादुर लामाले यो केटीको कलाकारिताको भविष्य राम्रो छ भन्ने ठम्याएर उनलाई सहयोग गर्न लागिपरे ।
उनीलाई सङ्गीत सिकाउन भनी काका आफू काम गर्ने त्यहाँको सरकारी स्कुलबाट सिधै घर आउन थाले । आफ्ना आमाबाबु पनि आफ्नी भरोसायोग्य छोरीको सङ्गीतपछिको रुचिलाई रोक्ने भन्दा हौसला बढाउन नै लागिपरे । काकाको गुरुकुलमा सिक्दासिक्दै उनी अरुणा लामा, कुमार सुब्बा र कर्म योन्जनका गीतबाट प्रभावित बन्दै गइन् । उनीहरूका गीत गुनगुनाउँदै गर्दा इस्वीको साठीको दशकतिर भानु जयन्तीका अवसरमा आफ्नै काकाको रचना र सङ्गीत रहेको ‘पहाड बिच प्रकृति ...’ बोलको गीत गाउँदै स्थानीय गोर्खा दुःख निवारण सम्मेलनको मञ्चमा उक्लिँदा उनी आठ वर्षकी मात्रै थिइन् ।
बाबुआमाको ढाडस र काकाको प्रत्यक्ष सहयोगले उनलाई सानै उमेरदेखि सुर साधनामा रमाउन प्रेरित ग¥यो । यस अर्थमा उनको कलाकारिताको प्रारम्भिक गुरु उनै काका रहे । किशोरी दावाको गायकी वयस्क गायिकाको परिपक्व स्वरका समकक्षमा गुन्जिएपछि उपस्थित सारा दर्शक मन्त्रमुग्ध भएको दावालाई आज पनि सम्झना छ । दर्शकको अनुरोधमा उनले एउटै गीत चार पटक गाउन बाध्य हुनुले पनि उनको गायन क्षमताको आकलन त्यतिबेलै गर्न थालियो । एउटी जामा लगाएकी फुच्चीले जम्पिङ नोट्स भएको गाउन कठिन गीतलाई नोट नछुटाई सहजै गाएर श्रोताको मुटुमा राज गर्न सकेकी थिइन् ।
क्रमशः उनको गायकी परिचय दार्जिलिङमा छरिन थाल्यो । भारतीय स्वास्थ्य विभागको जागिर सुरु गरेपछिको पहिलो महिनाको तलबबाट उनले भारु ६९ रुपियाँ ३५ पैसामा रेडियो किनेको क्षण उनलाई आज पनि रोमाञ्चकारी लाग्छ । उनका काकाले दावामा सम्भावनाको अथाह रूप देखिसकेका थिए ।
काकाकै शब्द र सङ्गीत रहेको गीत ‘बादल बर्सियो ...’ उनले त्यहाँको एउटा स्कुलको कार्यक्रममा गाएको मात्र होइन दोस्रो स्थान पनि प्राप्त गरिन् । समय क्रममा विक्रम संवत्को दोस्रो दशकको मध्यतिर नेपालको पूर्वी जिल्ला इलाममा भएको राष्ट्रिय कवि सम्मेलनमा गीतका माध्यमबाट सबैको मन जितिन् । त्यहाँका अग्रज गायक तथा उस्ताद जितेन्द्र बर्देवासँगै नेपालको इलाममा आएर गाएको उनको गीतले गणेश रसिक, कवि अगमसिंह गिरी तथा केदारमान व्यथितसमेत भावविभोर भएका थिए । यसपछि उनको ख्याति चुलिँदै गएर पछि काकाको सान्निध्यले स्वर अझ माझिँदै गयो । त्यहाँ आयोजना भएको देवकोटा सङ्गीत प्रतियोगितामा उनले पुनः दोस्रो स्थान पाइन् र यसमा पनि उनका काकाकै ठुलो योगदान थियो ।
सानै उमेरमा उनको अद्भुत साङ्गीतिक प्रतिभा देखेपछि उनीलाई हितैषीहरूले सङ्गीतको सैद्धान्तिक अध्ययन गर्न हौस्याए । जसको फलस्वरूप उनी स्थानीय सङ्गीतज्ञ केबी राईको गुरुकुलमा औपचारिक छात्रा हुन पुगिन् । छ महिना मात्रै हुँदैथ्यो औपचारिक अध्ययन भएको तर उनी व्यावहारिक पासोमा परिहालिन् अर्थात् उनको बिहे भयो यसैबिच । केबी राईको गुरुकुलमा छँदै नवप्रतिभाको खोजीमा समर्पित आकाशवाणी खर्साङको युवामञ्च कार्यक्रममार्फत उनका केही गीत रेकर्ड हुन पुगे ।
सन् १९६९ मा तेजेन्द्र गुरुङको शब्द र वसन्त क्षेत्रीको सङ्गीतमा उनको “मायालुले सम्झ्यो कि कसो बाडुली लाग्यो नि लौ मलाई...’ बोलको गीत पहिलो पटक रेकर्ड भयो । खर्साङमा त रेकर्ड भयो अब उनको चाहना काठमाडौँ गई रेडियो नेपालमा रेकर्ड गर्न बाँकी नै थियो । संयोग पनि कस्तो राजा महेन्द्रले आफ्नो जन्मोत्सवमा दार्जिलिङका कलाकारलाई निम्याउँदै आएका थिए । यसै सिलसिलामा दार्जिलिङ्गे टोलीसित सन् १९७० मा दावा पनि नेपाल आइन् र कालाप्रेमी राजा महेन्द्रसामु आफ्नो गायकी प्रस्तुत गरिन् । त्यतिबेला गोपाल योन्जन नेपाल आइसकेका थिए र उनै गोपालले उनलाई रेडियो नेपालमा गीत रेकर्ड गर्ने वातावरण बनाइदिए ।
‘रात गहिरिँदै जान्छ... शुभकामना खाली खाली..., सहरभित्र के को हल्ला... तथा मायालुले सम्झ्यो कि कसो ...’ जस्ता कालजयी गीत रेकर्ड भए । ‘मायालुले सम्झ्यो कि कसो...’ भन्ने गीत दार्जिलिङका अल्लारे हरेक युवाको ओठ ओठमा झुन्डिएपछि उनको जीवन सेलिब्रेटी हुँदै गयो । उरन्ठ्याउला युवाले दावालाई ‘बाडुली लाग्यो नि लौ मलाई...’ भन्दै जिस्क्याउँदा खुसी नै लाग्थ्यो उनलाई । यसरी आफू १० कक्षा पढ्दापढ्दै रेकर्ड भएका यो गीतले उनलाई प्रसिद्धिको टाकुरामा पु¥यायो ।
आफ्नै काका बहादुर लामा र केबी राईको गुरुकुल उनलाई खुब फाप्यो । हुन त शान्ति ठटालको सङ्गीत र शशि ठटालको शब्द रहेको ‘बाडुली लाग्यो नि लौ मलाई...’ स्वयं शान्ति र अरुणा लामाले आफ्ना स्वरमा रेकर्ड गर्ने निश्चय गरेका थिए तर एक्कासि दावा र डेजी बराइलीको युगल स्वरमा रेकर्ड हुँदा शान्ति अवाक् भएकी थिइन् । दावासित निकै रिसाएकी पनि तर कलाकारको मन न हो चाँडै शान्ति दिदीको मन पग्लियो र पुनः सम्बन्ध पहिलाकै तहमा पुग्यो ।
नेपाल आउने क्रम बढेपछि राजा वीरेन्द्रको जन्मोत्सवमा भएको मितज्यू नाइटमा दार्र्जिलिङको प्रतिनिधित्व गर्दै प्रस्तुति दिएपछि गोपाल योन्जनले उनलाई उपमा योन्जन भनी नयाँ नाम दिए । गोपालको रचना र सङ्गीत रहेको सेमी क्लासिकल बिटको ‘फूलको डाली डाली...’ गीतमाथि दावाले ठुलो न्याय गरेपछि योन्जनले सो उपाधि दिएका हुन् भने शान्ति ठटालले दोस्रो पुस्ताका तीन महिला स्वर महारथीमा उर्मिला श्रेष्ठ, मीरा राणा र दावालाई नै यस्तो उपाधि दिएकी थिइन् ।
अघिल्लो पुस्ताका अरुणा लामा, तारादेवी र स्वयं शान्ति दिदी आफैँ महारथी छँदै थिए । धनञ्जय थापा, विश्वमणि हिङमाङ, मनबहादुर गुरुङ, राजेन्द्र सारा, तेजेन्द्रबहादुर गुरुङ आदिका शब्दमा दावाले आफ्नो गायकी जीवनमा बद्री दुर्गा खरेल, कुमार सुब्बा, अशोक राई, रमेश गुरुङ तथा आफ्नै सङ्गीत संयोजनमा मर्मस्पर्शी गीत गाएकी छन् । गोपाल योन्जनले उनलाई लगाएको गुनको त जति चर्चा गरे पनि कमै हुन्छ ।
सन् २००६ मा कर्म योन्जन र कुमार सुब्बाको मायालु दबाबमा उनले नेपालको पलेँटी शृङ्खलामा सहभागिता जनाएपछि उनको थप परिचय काठमाडौँले फेरि पायो । यसै मेसोमा उनले काठमाडाँै एक हप्ता बस्दा शास्त्रीय सङ्गीतको औपचारिक अध्ययन पनि गर्न पाइन् । प्रायः भावनात्मक गीत उनका रोजाइमा रहे पनि प्रारम्भिक चरणमा उनले मनबहादुर मुखियाको शब्द र कर्म योन्जनको सङ्गीत रहेको देउरालीका ठिटी हो नक्कल पार्नु पर्दैन...’ जस्ता रोमान्टिक र रमाइला गीत पनि गाइन् तर ती गीत उनको लिड भोकलमा थिएनन् खाली कोरसका रूपमा थिए ।
बेलायती सेनामा कार्यरत दार्जिलिङका रोहितकुमार देवान त्यतिबेलादैखि नै दावाको गीतका फ्यान थिए । उनको लाइभ कार्यक्रमसमेत हेरेका रोहित भित्रभित्रै दावालाई आफ्नो मुटुमा सजाउन थालिसकेका थिए । यता दावा भने अघि नै भनिसकियो आमापछिको १० जना भाइबहिनीको दोस्रो अभिभावक थिइन् । बिहेपछि उनको चलायमान साङ्गीतिक जीवनमा केही रोकावट आएकै हो तर उनीभित्रको गायकी आत्माले सङ्गीत छाड्न दिएन । केही समय श्रीमान्सित हङकङ बस्दा उनी त्यहाँ नेपाली भाषी गोर्खालीले चलाएको रेडियोमा कार्यक्रम प्रस्तोताका रूपमा पनि रहिन् ।
नेपालबाट पाएको बच्चु कैलाश, सिके रसाइली, मीरा राणा तथा गणेश रसिकको सहयोग उनी कहिल्यै नभुल्ने बताउँछिन् भने पुरानो चलचित्र प्रताप सुब्बाको निर्देशन रहेको परालको आगोमा कोरस गायनका रूपमा भए पनि पाश्र्व स्वर दिन पाउँदाको छुट्टै अनुभव छ उनीसँग । खर्साङबाट पहिलो पटक बनेको ‘जार’ चलचित्रमा पनि उनको पाश्र्व स्वर थियो तर विविध कारणले त्यो फिल्म रिलिज हुन सकेन ।
केही समयअघि युट्युबमा रिलिज भएको प्रकाश सायमिको शब्द र वसन्त क्षेत्रीको सङ्गीतको म्युजिक भिडियो ‘तिमीसित हिँडे...’ मा दावा दम्पतीको जीवनको लघुआख्यान रूप गायकीमा प्रस्तुत गरिएको छ । स्वयं दावा दम्पतीकै अभिनयसमेत रहेको यो गीतले सच्चा प्रेमको सार्थक विम्ब उजागर गरेको छ । साढे चार दशकको उनको साङ्गीतिक यात्रा तथा काठमाडौँ र दार्जिलिङको अवस्थाबारे दावा भन्छिन्, “हाम्रो पालामा सङ्गीतमा स्वरको प्राधन्यता हुन्थ्यो तर आज स्वरलाई प्रविधि र वाद्यवादनले छोपेको हुन्छ । अहिलेको पुस्तालाई त्यो सार्थक लाग्ला तर हाम्रो पुरानो पुस्तालाई आफ्नै पुरानोपन प्यारो लाग्छ ।”
नेपाली सुगम सङ्गीत राल्फा अभियानपछि दुई भागमा बाँडिनुअघि र पछिको समयकी एउटी प्रतिनिधि गायिका दावा ग्याल्मो देवान भजनदेखि सेन्टिमेन्टलसम्मका गीतमा छरपस्ट छिन् । सङ्गम तथा नवरङ्ग नामक एल्बमबाट पहिल्यै श्रोतामाझ गायकी छाप उनले छाडिसकेकी थिइन् । समकालीन र केहीअघिका वाणिका प्रधान, अनुपमा प्रधान, हिरा रसाइली, डेजी बराइली, विमोचना लमजेल, मेलिना राई, अञ्जु पन्तका गीत दावाका मनमा गढेका छन् । न तारादेवीको जस्तो, न शान्ति ठटालको जस्तो दावाकै जस्तो पृथक् स्वर छ दावाको । दार्जिलिङको भूभागबाट कवि तथा गीतकार माधवप्रसाद घिमिरेका शब्दलाई पहिलो पटक अशोक राईको सङ्गीतमा साङ्गीतिक न्याय गर्ने कर्मी पनि उनै दावा हुन् ।
नेपालबाट साधना प्रतिष्ठान इटहरीको साधना सम्मान, हार्मोनी पोखराबाट हार्माेनी सम्मान, भीमविराग सङ्गीत प्रतिष्ठान हेटौँडाबाट सम्मान तथा बिजुलीमाया श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार, सिर्जना कलेज अफ फाइन आटर््स काठमाडौँबाट अष्टमात्रिका सम्मान आदि दावाको पोल्टामा परेका छन् । यसै गरी भारतवर्षबाट उनले सुमधुर कोसेली सम्मान, दार्जिलिङ चिया तथा पर्यटन उत्सवबाट सम्मान, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनबाट सम्मान, सोही संस्थाबाट अरुणा लामा स्मृति पुरस्कार, नेपाली अकादेमी दार्जिलिङ तथा सप्तरङ्गी समूह दार्जिलिङबाट उनले सम्मान पाएकी छन् । यसै मेसोमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतबाट सन् १९१८ मा प्राप्त पुरस्कार उल्लेखनीय छ ।
–युवामञ्च