• १२ पुस २०८१, शुक्रबार

एसइईका अब्बल विद्यार्थीका कुरा

blog

भाइबहिनीहरू, परीक्षामा राम्रो अङ्क ल्याउन बढी मेहनत गर्नु पर्छ । कक्षा १० को वार्षिक परीक्षालाई माध्यमिक शिक्षा परीक्षा भनिन्छ । यसलाई हामी एसइई पनि भन्छौँ । २०८० सालको एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये १८६ जनाले मात्र स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट एभरेज) अर्थात् जिपिए ४.० ल्याउन सफल भएका थिए । यसबाट पनि थाहा हुन्छ कि जिपिए ४.० प्राप्त गर्न कति कठिन हुने रहेछ है ? सामान्य पढेका भरमा उच्च अङ्क प्राप्त गर्न सकिँदैन ।

गत वर्षको एसइईमा जिपिए ४.० प्राप्त गरेका केही विद्यार्थीसँग कुराकानी गरेका थियौँ । उहाँहरूले खेलकुदलाई भन्दा पढाइमा बढी ध्यान दिएकाले सफलता प्राप्त गर्न सकेको बताउनुभयो । धेरै अभ्यास गर्नुपर्ने भन्दै उहाँहरूले कक्षामा शिक्षकले पढाउनुभएको कुरालाई निकै ध्यानपूर्वक सुन्नुपर्ने सुझाव दिनुभयो ।

बर्दियाका स्वस्तिक अधिकारी काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयबाट एसइईमा सम्मिलित हुनुभएको हो । उहाँले पनि एसइईमा जिपिए ४.० प्राप्त गर्नुभएको हो । नयाँ पाठ्यक्रिम र पाठ्यपुस्तक भएकाले परीक्षामा कुन पाठबाट कस्तो प्रश्न सोधिन्छ भन्नेमा आफूलाई अन्योल रहेको भन्दै सबै पाठलाई उत्तिकै प्राथमिकताका साथ ध्यान दिएर पढेकाले राम्रो नतिजा हासिल भएको सुनाउनुभयो ।

उहाँले कक्षा १० मा बिहान  ५ः३० बजे उठ्ने र राति १२ बजेसम्म पढ्ने गरेको बताउनुभयो । “स्कुलमा पढाइएको कुरा घोक्नुभन्दा बुझेर अभ्यास बढी गर्नु पर्छ,” उहाँले भन्नुभयो । 

स्वस्तिकले रचनात्मक सोचको विकास नगर्दासम्म सफलता प्राप्त हुन कठिन हुने धारणा राख्नुभयो । मोबाइल फोनमा फेसबुक, इन्स्ट्राग्राम आदि हेरेर समय खेर फाल्न नहुने सुझाव दिँदै उहाँले शिक्षकले पढाउनुभएका कतिपय कुरा नबुझेमा युट्युब वा गुगलबाट सर्च गरेर सूचना प्रविधिको उपयोग गर्नुपर्ने बताउनुभयो ।  चितवनको भरतपुर आँपटारीको स्मल हेभेन मोडेल स्कुलकी छात्रा प्रशंसा पराजुलीले पनि २०८० सालको एसइईमा जिपिए ४.० ल्याउनुभएको छ । १५ वर्षकी प्रशंसाले आफूले सोचेको भन्दा राम्रो नतिजा प्राप्त गरेको बताउनुभयो ।

बिहान ५ बजे उठेर अध्ययन गर्ने र त्यसपछि विद्यालयमा पुगी साँझ ६ बजेसम्म अध्ययन गर्ने गरेको सुनाउँदै उहाँले घरमा साँझ ७ देखि राति १० बजेसम्म पढ्ने गरेको बताउनुभयो । उहाँले बजारमा पाइने अभ्यास पुस्तिकाबाट अभ्यास गर्दा बढी ज्ञान हासिल हुन सक्ने बताउँदै घोक्दा आज पढेको कुरा भोलि बिर्सिने भएकाले बढीभन्दा बढी अभ्यास गर्नुपर्ने सुझाव दिनुभयो ।

अनावश्यक रूपमा मोबाइल फोन चलाउँदा असर गर्छ भन्ने सोच राख्नुभएकी प्रशंसाले भन्नुभयो, “बढी अङ्क ल्याउन जुनसुकै बेला पनि पढिराख्नु पर्दैन । सन्तुलित रूपमा पढ्नु पर्छ । नआएको कुरा सोध्न शिक्षकसँग डराउनु हुन्न ।”

गोर्खाका कुशल पोखरेलले काठमाडौँको ज्ञानोदय माध्यमिक विद्यालयबाट एसइईमा सम्मिलित हुनुभएको थियो । १६ वर्षका कुशलले आफूले मेहनत गरे अनुसार नै नतिजा प्राप्त भएको बताउनुभयो ।

विद्यालयले सञ्चालन गर्ने गरेको तयारी कक्षामा पढ्न बिहान ६ः३० बजे विद्यालय आउँदा उहाँले आफूसाथ खाना लिएर आउनु हुन्थ्यो र विद्यालयमै खाना खाने गर्नु हुन्थ्यो । दिउँसो ४ः३० बजे विद्यालय बन्द भएपछि हतार हतारमा घर पुग्नु हुन्थ्यो र राति १० बजेसम्म पढ्ने गर्नु हुन्थ्यो । बुझेर पढ्ने बानी भएका कुशलले कक्षामा ध्यान दिएमा शिक्षकले पढाउनुभएको सजिलै बुझ्न सकिने बताउनुभयो ।

उहाँले बढी जिपिए प्राप्त गर्न सुरुदेखि नै लक्ष्य लिएर सोही अनुसार पढाइमा निकै मेहनत गर्नु पर्छ भन्दै आफू भविष्यमा सूचना प्रविधिका बारेमा उच्च शिक्षा अध्ययन गर्ने बताउनुभयो ।

काठमाडौँको कपनस्थित जोसेफ हाई स्कुलकी १५ वर्षीय अनुपा थापाले एसइईमा  ४.० जिपिए प्राप्त गर्नुभयो । ओखलढुङ्गाकी अनुपाले पनि मेहनत गरे अनुसार नै नतिजा प्राप्त गरेको बताउनुभयो ।

उहाँ बिहान ५ बजे उठेर राति ११ बजे सुत्ने गर्नुभएको छ । विद्यालयमा तयारी अभ्यास बढी गर्ने गरिएको सुनाउँदै गणित विषय निकै सजिलो लाग्ने गरेको बताउनुभयो । स्वतन्त्र रूपमा पढ्ने वातावरण हुन सक्दा विद्यार्थीले सफलता बढी प्राप्त गर्न सक्ने उहाँको भनाइ छ ।

उहाँले जुन बेला पनि पढिरहनेभन्दा अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुनुपर्ने सुझाव दिनुभयो । भविष्यमा चिकित्सक बन्ने लक्ष्य उहाँको छ ।

ललितपुरको धापाखेलस्थित जेम्स स्कुलकी साम्राज्ञी लामिछानेले पनि सोचेको जस्तै नतिजा प्राप्त भएको सुनाउनुभयो । मकवानपुरबाट बसाइँ सर्नुभएकी साम्राज्ञीले अब्बल नतिजा प्राप्तिका लागि कक्षा १० मा मात्र मेहनत गरेर नपुग्ने बताउनुभयो । उहाँ बिहान अतिरिक्त कक्षा लिन विद्यालय पुग्नु हुन्थ्यो भने राति ९ः३० बजे सुत्ने गर्नु हुन्थ्यो । “निद्रा बिगार्नु हुँदैन । समयमा सुत्नु पर्छ । अबेरसम्म उठेर मात्र पढाइ राम्रो हुँदैन” उहाँले भन्नुभयो ।

हाल ए लेभल अध्ययन गरिरहनुभएकी साम्राज्ञीले आफूलाई नआएका कुरा गुगल र युट्युबमा खोज्नुपर्ने सल्लाह दिनुभयो । उहाँले पढाइमा अरूसँग कहिल्यै तुलना गर्नु हुन्न भन्दै नबुझेका कुरा शिक्षकलाई सोध्न डराउनु वा हिचकिचाउनु हुँदैन भन्नुभयो । उहाँले कुनै कुनै कुरा घोक्नु पनि पर्छ भन्दै विद्यालयबाट घर फर्किएपछि दिउँसो शिक्षकले पढाउनुभएका कुरा पुनः अध्ययन गर्नु पर्छ भन्नुभयो । 

एसएलसीदेखि एसइईसम्म 

कक्षा १० को वार्षिक परीक्षालाई पहिले इन्ट्रान्स वा म्याट्रिकुलेसन भनिन्थ्यो । पहिले यो परीक्षामा सम्मिलित हुन नेपाली विद्यार्थी भारत जानु पथ्र्यो । पछि १९९० सालबाट नेपालमै परीक्षा दिने व्यवस्था सुरु भयो र यसलाई एसएलसी (स्कुल लेभल सर्टिफिकेट) परीक्षा भनिन्थ्यो । 

परीक्षामा सबैभन्दा धेरै अङ्क ल्याउनेमध्ये १० औँ स्थानसम्मका विद्यार्थीको नाम गोरखापत्रमा सार्वजनिक गर्ने चलन पनि थियो । यसरी बढी अङ्क ल्याउने परीक्षार्थीको नाम सार्वजनिक गर्ने चलन २०६१ सालसम्म गरियो ।

२०७३ सालबाट एसएलसी परीक्षाको नाम परिवर्तन गरी एसइई अर्थात् माध्यमिक शिक्षा परीक्षा राखियो । पहिले प्रतिशतका आधारमा प्रथम, द्वितीय र तृतीय गरी तीन श्रेणीमा नतिजा सार्वजनिक गरिन्थ्यो तर २०७१ सालबाट अक्षराङ्कन (लेटर ग्रेडिङ) पद्धतिबाट नतिजा सार्वजनिक गर्न थालियो । 

सुरुको वर्षमा प्राविधिक धारतर्फको नतिजा अक्षराङ्कन पद्धतिबाट सार्वजनिक गरियो भने २०७२ सालबाट साधारण धारतर्फ पनि लागु गरियो ।

विसं २०८० को एसइईबाट ७५ पूर्णाङ्कको सैद्धान्तिक (थ्योरी) तर्फ न्यूनतम ३५ प्रतिशत र २५ पूर्णाङ्कको आन्तरिक (इन्टरनल) तर्फ न्यूनतम ४० प्रतिशत ल्याउन नसक्ने परीक्षार्थीको नतिजामा नन ग्रेडेड (एनजी) लेख्न थालिएको छ । 

२०८० सालको एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएकोमा दुई लाख ४२ हजार ३१३ जनाको एनजी उल्लेख छ । उनीहरू पुनः परीक्षामा सम्मिलित हुनुपर्ने छ ।

  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।