• १६ भदौ २०८१, आइतबार

फोहोर व्यवस्थापनमा सुधार

blog

काठमाडौँ, साउन १५ गते । काठमाडौँ उपत्यकाको सरसफाइको अवस्था अहिले चुस्त छ । सामान्यतः आर्थिक वर्ष समाप्त हुने र नयाँ आव लाग्ने सङक्रमणको समयमा उपत्यकामा हुने फोहोरको सकस यस पटक बेहोर्नु परेन ।

विगतमा हरेक वर्ष जसो असार र साउनमा विभिन्न माग राखी काठमाडौँको फोहोर व्यवस्थापन अवरोध हुन्थ्यो । एक/एक महिनासम्म फोहोर नउठेर काठमाडौँको चोक र गल्ली दुर्गन्धित बन्थे । फोहोर व्यवस्थापनको अवरोध हटाउन सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र स्थानीयवासीबिच पटक पटक वार्ता र संवाद हुन्थ्यो ।

यो वर्ष न त फोहोर व्यवस्थापन अवरोध भयो न त कुनै वार्ता संवाद नै गर्नु पर्‍यो । यो वर्ष बिनाअवरोध नियमित रूपमा काठमाडौँको फोहोर व्यवस्थापन हुँदै आएको छ ।

काठमाडौँ उपत्यकाको फोहोर नुवाकोट र धादिङको सिमानामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ तर त्यहाँका स्थानीयले विभिन्न माग राखी फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका थिए । काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले विगतमा ती स्थानीयसँग सहकार्य र समन्वय हुन नसक्दा फोहोर व्यवस्थापनमा अवरोध हुने गरेको बताउनुभयो । यस वर्ष भने स्थानीयवासीका अधिकांश माग सम्बोधनको प्रयास गरिएकाले फोहोर व्यवस्थापनमा अवरोध नभएको बताउनुभयो ।

उहाँका अनुसार बन्चरेडाँडावासी, नुवाकोटको ककनी र धादिङको धुनीबेँसीका स्थानीयका मागलाई सम्बोधन गर्ने प्रयास गरियो । उनीहरूसँग भएका लिखित र मौखिक सहमति र सम्झौताको कार्यान्वयन गरियो । जसले गर्दा स्थानीयवासीबाट फोहोर व्यवस्थापनमा सहयोग हुँदै आएको छ । आव २०८०/८१ मा स्थानीयका माग सम्बोधन गर्न काठमाडौँ महानगरपालिकाले १५ करोड रुपियाँ खर्च गरेको वातावरण व्यवस्थापन विभाग प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार राति फोहोर ढुवानी गर्नेबाहेक अन्य विषयमा स्थानीयवासीसँग करिब सहमति भइसकेको छ । सहमतिबमोजिम महानगरपालिकाले १५० जना स्थानीयवासीलाई रोजगारी दिएको छ । त्यसै गरी ‘ल्यान्डफिल साइट’ सञ्चालनले सो क्षेत्रको वातावरण तथा स्वास्थ्यमा पारेको प्रभाव, त्यहाँका बस्ती स्थानान्तरणलगायतका विषयमा सहरी विकास मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कनको काम सुरु भइसकेको छ ।

त्यसै गरी काठमाडौँ महानगरपालिकाले त्यहाँका स्थानीयवासीको जीवन बिमा, स्वास्थ्य बिमा गर्नुका साथै शिक्षक दरबन्दीका लागि समेत रकम पठाएको छ । स्थानीय सात हजार जनाको स्वास्थ्य बिमा गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयस्तरमा विभिन्न पूर्वाधार विकास गर्न छ करोड, बिमामा तीन करोड, शिक्षकको तलबका लागि तीन करोड, क्यान्सरपीडितको आर्थिक सहयोगमा दुई करोड, अन्य स्वास्थ्य खर्चमा १० लाख, विद्यालय भवन निर्माणमा दुई करोड सहयोग भएको छ । काठमाडौँ महानगरपालिकाको तीन करोड रुपियाँको लागतमा सिसडोल सडक स्तरोन्नति भइरहेको छ । त्यसै गरी बालीनाली तथा घरटहरा क्षतिपूर्तिबापत ६० लाख रुपियाँ प्रदान गरिएको छ ।

उहाँले भन्नुभयो, “काठमाडौँ महानगरपालिकाले स्थानीयवासीलाई यस प्रकारको रकम हरेक वर्ष नै उपलब्ध गराउने छ । आगामी दिनमा सहयोग रकम वृद्धि हुन सक्छ तर कम हुन सक्दैन ।” यति हुँदाहुँदै पनि ल्यान्डफिल साइट क्षेत्रका बासिन्दा काठमाडौँको फोहोर काठमाडौँमा नै व्यवस्थापन चाहन्छन् । उनीहरू त्यहाँ फोहोर पूर्ण रूपमा बन्द हुनुपर्ने चाहन्छन् ।

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष श्रीराम ढुङ्गानाले काठमाडौँको फोहोर काठमाडौँमा नै विसर्जन हुनु पर्छ भन्ने मागप्रति सम्पूर्ण प्रभावित जनता प्रतिबद्ध रहेको बताउनुभयो । हाम्रो घरआँगनमा फोहोर फाल्ने काम नरोकिएसम्म त्यहाँका जनताको स्वास्थ्य बिमा र जीवन बिमा गर्नुको कुनै अर्थ नरहेको बताउँदै उहाँले सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाले दाबी गरे जस्तो ल्यान्डफिल साइट क्षेत्रमा कुनै काम नभएको दाबी गर्नुभयो । उहाँले आवश्यक परे फेरि पहिलेकै जस्तो आन्दोलन गर्ने बताउनुभयो ।