ढल्केबर समाचारदाता
धनुषा, असोज २९ गते । धनुषाका १२ वटा स्थानीय तहका शिक्षक तलब भत्ताबाट वञ्चित भएका छन् । स्थानीय तहको आन्तरिक विवाद र प्रशासनिक समस्याका कारण यहाँका शिक्षक तलब भत्ताबाट वञ्चित भएका हुन् ।
नेपाल शिक्षक सङ्घ धनुषाका सुरेश यादवले मिथिला, छीरेश्वरनाथ, जनकपुरधाम, धनुषाधाम, सहिद नगर, कमला, हंसपुर, धनौजी, मुखियापट्टि मुसहरनिया, मिथिला विहारी, औरही र जनकनन्दनी गरी १२ वटा स्थानीय तहका शिक्षक साउनदेखि तलब पाउन नसकेको बताउनुभयो । चाडपर्वका बेलामा समेत तलब भत्ता नपाउँदा शिक्षक निराश बनेको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार शिक्षकले सम्बन्धित स्थानीय तहका प्रमुखलगायत सरोकारवाला निकायमा पटक पटक ज्ञापनपत्र बुझाए पनि सुनुवाइ हुन सकेको छैन । सङ्घीय सरकारले समयमै पठाएको शिक्षकको तलब रकम जनप्रतिनिधिबिचको आन्तरिक मतभेदका कारण रोकिएको हो ।
उहाँले भन्नुभयो, “सङ्घीय सरकारले शिक्षकको तलब मासिक रूपमा निकासा गर्ने व्यवस्था गरेको छ तर स्थानीय तहको बेथितिले शिक्षक समस्यामा परेका छन् । यदि दीपावलीअघि पनि तलब उपलब्ध नगराए सङ्घर्षका घोषणा गर्छौं । शिक्षकको तलब यथाशीघ्र निकासा गरी शैक्षिक वातावरण सहज बनाउन उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय कर्मचारी आन्दोलन परिचालन समिति छीरेश्वरनाथका संयोजक विष्णुदेव यादवले तलब भत्ता रोकिँदा साधारण जीवनयापन गर्नसमेत आर्थिक सङ्कट उत्पन्न भएको गुनासो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दसैं, तिहार र छठ जस्ता पर्वका बेलामा समेत कर्मचारी तलब भत्ताबाट वञ्चित हुँदा निकै समस्यामा परेका छन् ।”
जिल्लाको १८ वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहले आर्थिक वर्ष २०८२÷८३ को नीति, कार्यव्रmम तथा बजेट पारित गर्न नगर सभा गर्न सकेको छैन । नगर सभा सम्पन्न गरेका सात वटा स्थानीय तहले पनि प्रशासनिक समस्याका कारण शिक्षकलगायत कर्मचारीको तलब भत्ता उपलब्ध गराउन सकेको छैन । बजेट समयमै नआउँदा स्थानीय विकास, पूर्वाधार निर्माण, स्वास्थ्य र शिक्षालगायतका क्षेत्रमा समेत असर परेको स्थानीयको भनाइ छ । छीरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामउदगार अधिकारीले नगर सभा नभएकाले शिक्षकको तलब भत्ता उपलब्ध गराउन नसकिएको बताउनुभयो । नगर प्रमुख सुखदेव यादवले नगर सभा सम्पन्न गर्न नियमित छलफलमा रहेको जानकारी दिनुभयो ।
भारदह समाचारदाता सुधा देवका अनुसार दसैँ सकेर तिहार नजिकिँदै लाग्दासमेत सप्तरीको चार पालिकाले अझै कर्मचारीलाई तलब खुवाउन सकेको छैन । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका, राजविराज नगरपालिका, कञ्चनरूप नगरपालिका तथा खड्क नगरपालिकाले कर्मचारीलाई अहिलेसम्म तलब खुवाउन नसकेको हो ।
तलब भत्ता तत्काल उपलब्ध गराउन अग्निसाइर कृष्णासवरन गाउँपालिका शिक्षक, स्वास्थ्यकर्मी, खडक नगरपालिकाका शिक्षक तथा कञ्चनपुर नगरपालिका शिक्षकले माग गरेका छन् । दसैँ सकिएर तिहार आउनै लाग्दासमेत चार महिनादेखिको तलब भत्ता नपाउँदा परिवार धान्न कठिनाइ भएको आन्दोलित शिक्षक र कर्मचारीले बताएका छन् ।