• १ साउन २०८१, मङ्गलबार

चार करोडभन्दा बढी राजस्व सङ्कलन

blog

नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन १ गते । म्याग्दीको बेनी नगरपालिकाले गत आर्थिकमा चार करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०-०८१ को असार मसान्तसम्म नगरपालिकाले चार करोड ५४ लाख ५० हजार आन्तरिक आम्दानी अनुमान गरेकोमा चार करोड दश लाख ४७ हजार नौ सय ९४ रुपियाँ आम्दानी गरेको हो । 

यो अनुमानित आम्दानीको ९० प्रतिशत प्रगति हो । संकलित राजस्व अपेक्षितभन्दा कम सङ्कलन भएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो । आन्तरिक आम्दानी आशा गरे अनुसार सङ्कलन नहुँदा योजना तथा कार्यक्रम कार्यान्वयन गर्न समस्या भएको उहाँले बताउनुभयो । 

बेनी नगरपालिकाले सोमबार गलेश्वरमा आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले बेनी नगर क्षेत्रभित्र पर्ने विभिन्न ७ वटा बगरको ढुङ्गा,गिटी र बालुवा बिक्री गरेर ८० लाख ५४ हजार ६ सय ४४ रुपियाँ सङ्कलन गरेको जानकारी दिनुभयो ।  

अग्निखेत बगरबाट ८ लाख ७१ हजार तीनसय ४५, डम्बरा बगरको २० लाख ३१ हजार नौसय ४१, जोगिगाडे बगरबाट ५ लाख १४ हजार नौसय पचास, चुत्रेनी तल्लो बगरबाट ६ लाख ४५ हजार सातसय ११, चुत्रेनी माथिल्लो बगरको ९ लाख ७५ हजार तीन सय ४०, बगुवा खोला बगरबाट २५ लाख ९३ हजार चार सय २५ र दुधेखोला घुमाउने बगरबाट ४ लाख २१ हजार ९ सय ३२ रुपियाँ राजश्व संकलन भएको बेनी नगरपालिकाले जनाएको छ । 

ढुङ्गा, बालुवाको आम्दानी बाहेक नगरपालिकाले व्यवसायको सिफारिस दस्तुर, नक्सा पास, सरकारी सम्पत्तिको भाडा, घरबहाल कर, भूमि कर,व्यक्तिगत घटना दर्ता, व्यवसाय कर, नाता प्रमाणित लगायतका करहरु सङ्कलन गरेर आन्तरिक आम्दानी गर्ने गरेको छ । 

अघिल्लो आर्थिक २०७९-८० मा नगरपालिकाले चार करोड ५० लाख १८ हजार सातसय ६९ रुपियाँ आन्तरिक आम्दानी गरेको थियो । आन्तरिक आम्दानीको स्रोतको खोजी र कर सङ्कलनलाई कडाइ गरेर आगामी दिनमा नगरपालिकाले आन्तरिक आम्दानी बढाउने लक्ष्य लिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।