• २० माघ २०८२, मङ्गलबार

नारायणी नदीमा क्रुज सञ्चालन

blog

नारायणी नदीमा सञ्चालन भएको पहिलो राइनो क्रुज ।

नवलपुर समाचारदाता 

नवलपुर, माघ २० गते । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीबाट ५० करोड रुपियाँको लगानीमा नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा ल्याइएको छ । नवलपुर र यहाँको पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित आइतबार साँझदेखि राइनो क्रुज सञ्चालनमा ल्याइएको हो । 

राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटेल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नारायणी नदीमा राइनो क्रुज सञ्चालनमा ल्याएका हुन् । गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले क्रुज उद्घाटन गर्दै यो आफ्नो पालिकाको नमुना गहना भएको भन्दै यसको सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

अहिले गैँडाकोटको पुलचोकदेखि देवघाटसम्म सञ्चालन हुने छ । यसले यहाँको पर्यटन प्रवर्धनमा ठुलो टेवा दिने भन्दै अधिकारीले क्रुजलाई देवघाटधामसम्म मात्रै नभई देवघाटधामदेखि त्रिवेणीधामसम्म जोड्नुपर्ने बताउनुभयो । क्रुज सञ्चालनका लागि नारायणीको धेरै ठाउँमा अवरोध भएको भन्दै उहाँले बाधा अडचन हटाएर नदीलाई गहिरो बनाउन आवश्यक पर्ने सहयोगसमेत पालिकाले गर्ने बताउनुभयो । साढे दुईतले क्रुजको लम्बाइ ९५ फिट र चौडाइ २१ फिट रहेको रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले जानकारी दिनुभयो । क्रुजको पूरा क्षमता दुई सय जनासम्म भए पनि १५० जनालाई सुविधा उपलब्ध गराउने गरी सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ ।  क्रुजको यात्रा पूर्ण रूपमा सुरक्षित रहेको भन्दै ढुङ्गेलले यो यातायातका लागि नभई रमाइलो जलयात्राका लागि सञ्चालनमा ल्याइएको बताउनुभयो । 

सामान्यता क्रुजिङको समय बढीमा एक घण्टाको भए पनि कार्यक्रम तथा प्याकेज अनुसार थपघट गर्न सकिने बताइएको छ । क्रुजिङका लागि साधारण टिकट पाँच सय रुपियाँ तोकिएको छ । ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङको दुई हजार तथा डिनर क्रुजिङको तीन हजार एवं अन्य कार्यक्रमको प्याकेज अनुसार शुल्क निर्धारण गरिएको जानकारी उहाँले दिनुभयो । 

राइनो क्रुज सञ्चालनपछि सम्भाव्यता अध्ययन गर्दै थप दुई वटा ‘मिनी क्रुज’ पनि सञ्चालन गर्ने तयारी रहेको बताइएको छ । क्रुजले प्रतियात्रु १० लाख रुपियाँ बराबरको बिमा गराएको पनि ढुङ्गेलले बताउनुभयो । वर्षभरि सञ्चालन गर्ने योजनासहित सञ्चालनमा ल्याइएको क्रुजले ठुलो हावा तथा पानीको बहाबमा पनि यात्रा गर्न सक्ने क्षमता रहेको ढुङ्गेलले बताउनुभयो ।