• २० माघ २०८२, मङ्गलबार

‘निपाह’ भाइरसको जोखिम

blog

भारतको पश्चिम बङ्गालस्थित अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू ‘निपाह’ भाइरस सङक्रमित भई उपचाररतमध्ये दुई जना सघनकक्षमा छन् । भारतसँग नेपालको खुला सिमाना भएका कारण सीमापारि सङ्क्रमण भएको पुष्टि हुँदा सीमावारि पनि गम्भीर चासो लिनै पर्छ । 

छिमेकी मुलुक भारतमा ‘निपाह’ भाइरस पुष्टि भई नियन्त्रण तथा उपचारका उपाय तीव्र पारिएको छ । यसैका आधारमा नेपालमा पनि सतर्कता, निगरानी तथा तयारीका उपाय अपनाइएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘निपाह’ भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी देशभरका स्वास्थ्य संस्था तथा निकायलाई सचेत गराएको, स्थल तथा हवाई नाकामा रहेका स्वास्थ्य डेस्कलाई यात्रुको स्क्रिनङ गर्न सक्रिय बनाएको, अस्पतालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको तथा भाइरसको अन्तरिम परीक्षण एल्गोरिदम तयार गरी कार्यान्वयनमा छ ।  

के हो ‘निपाह’ भाइरस ?

अत्यन्तै घातक र उदीयमान जुनोटिक रोग ‘निपाह’ भाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले महामारी फैलन सक्ने प्राथमिकता प्राप्त रोगको सूचीमा राखेको छ । उच्च घातक भाइरस ‘निपाह’ प्यारामिक्सोभिरिडी परिवार अन्तर्गत ‘निपाह’ भाइरस हो । सिङ्गापुर र मलेसियामा सुँगुरपालक किसानमा सन् १९९९ मा पहिलो पटक यो भाइरस फैलिएको थियो । त्यो बेला सङक्रमितमध्ये ४० प्रतिशतको मृत्यु भएको थियो । छिमेकी मुलुक भारत र बङ्गलादेशमा सन् २००१ मा यो भाइरस देखिएको थियो । योबेला भारतको पश्चिम बङ्गालमा ६६ जना सङक्रमित र ४५ जनाको मृत्यु भएको थियो । सन् २००७ मा भने सङक्रमितमध्ये पाँच जनाको मृत्यु भएको थियो । सन् २०१८ मा भारतकै केरलामा यस भाइरसबाट १७ जनाको मृत्यु भएको थियो । त्यसपछि हरेक वर्ष जस्तो सङक्रमण र मृत्युदर ७० देखि एक सय प्रतिशत भएको तथ्याङ्क छ । नेपालमा यदि सङक्रमण देखिए सङक्रमण र मृत्युदर फरक नहुन सक्छ ।

सर्ने माध्यम 

सङक्रमित व्यक्ति वा सुँगुर वा चमेरोको नजिक र सिधा सम्पर्क भए यो भाइरस सर्न सक्छ । यो रोग सार्ने चमेरो प्रजाति नेपालमा पनि रहेका छन् तर ‘निपाह’ भाइरस रहे नरहेको यकिन भएको छैन । सम्भवतः मानिस र चमेरोको कुनै खालको सम्पर्क नभएकाले नेपालमा मानिस सङक्रमित नभएको हुन सक्छ । नेपालमा चमेरो पनि पाइने, सुँगुर, बाख्रा र गाईपालन गर्ने चलन पनि छ । चमेरोले टोकेर छाडेको फल विशेषतः काँचो खजुर खाएका कारण पनि मानिस सङक्रमित भएको अध्ययनले देखाएको छ । फिलिपिन्समा सङक्रमित घोडाबाट मानिसमा यो भाइरस सङक्रमण भएको पाइन्छ । सङक्रमित चमेराको ¥याल वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा पनि सङक्रमण हुन सक्छ । साथै सङक्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेरोबाट सुँगुर, गाई, बाख्रा जस्ता जनावर हुँदै पनि मानिसमा यो भाइरस सर्न सक्छ ।  

मानिसबाट मानिसमा सर्नु सबैभन्दा चिन्ताजनक हो । भारत तथा बङ्गलादेशमा भएका धेरै जसो यस्तै देखिन्छ । सन् २००१ मा भारतको सिलगुढीस्थित एक अस्पतालमा यस्तै एक उदाहरण देखिएको थियो, जहाँ ७५ प्रतिशतसम्म स्वास्थ्यकर्मी तथा अस्पताल आएका व्यक्ति सङक्रमित भएका थिए । सन् २०२६ मा देखिएको सङक्रमण पनि मानिसबाट मानिसमा सरेको हुन सक्ने आकलन छ । 

लक्षणहरू

भाइरस सङक्रमण भएको चारदेखि १४ दिनमा तर कतिपयमा ४५ दिनमा लक्षण देखिन्छ । सुरुवाती लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, मांसपेशी दुख्ने, घाँटी दुख्ने, बान्ता हुने, चक्कर लाग्ने र चेतनामा समस्या हुने हुन्छ । त्यसपछि गम्भीर लक्षणमा टाउको घुम्ने, निद्रालु वा सुस्तपन, चेतनामा परिवर्तन, मस्तिष्क सुन्निने, सङक्रमितमा असामान्य निमोनिया, सास फेर्न गाह्रो हुने, इन्सेफलाइटिस–मस्तिष्कको सुजनका लक्षण देखिन्छ । गम्भीर लक्षण देखिएको २४ देखि ४८ घण्टासम्म बिरामी अचेत अर्थात् कोमामा जान सक्छ ।  सङक्रमण जापनिज इन्सेफलाइटिस वा अन्य फ्लु र सङक्रमणसँग पनि मिल्न सक्छ । तसर्थ सङक्रमितको भ्रमण इतिहास जरुरी छ । निश्चित निदान भने प्रयोगशाला परीक्षणबाट गरिन्छ । सङक्रमितको रगत, पिसाब, ढाडको पानी वा नाक तथा घाँटीको स्वाबबाट पिसिआर वा एलाइजा प्रविधिबाट भाइरस रहे नरहेको पुष्टि गरिन्छ । भाइरस उच्च घातक भएकाले उच्च बायोसेफ्टीस्तरको प्रयोगशाला र जनशक्ति जरुरी पर्छ । 

व्यवस्थापन

हालसम्म यस भाइरसविरुद्ध विशेष एन्टिभाइरल औषधी वा खोप विकास भइसकेको छैन । उपचार लक्षणका आधारमा गरिन्छ । शरीरमा पानीको मात्रा सन्तुलन राखिन्छ । विभिन्न औषधी र उपाय प्रयोग गरिन्छ । केही एन्टिभाइरल औषधी परीक्षणका क्रममा छन् । खोपमा पनि १० भन्दा बढी परीक्षण भइरहेका छन् ।

चमेराले छोएको फलफूल वा खजुरको रस काँचै नखाने, नपिउने, फलफूल धोएर मात्र सेवन गर्नु पर्छ । सुँगुर र अन्य घरेलु जनावरसँग नजिकको सम्पर्कबाट बच्ने, जनावरको मासु सुरक्षित तरिकाले पकाएर मात्र खाने गर्नु पर्छ । सङक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क, खोक्दा, हाच्छिउँ गर्दा नजिक नजाने, मास्क र अन्य सुरक्षात्मक उपाय अपनाउनु पर्छ ।

यसै गरी सङक्रमितले प्रयोग गरेका कपडा, उपकरण वा खानासँगको सम्पर्कबाट बच्ने, पन्जा, मास्क प्रयोग गर्ने, भिडभाडमा जानु हुँदैन । पानी उमालेर मात्र पिउने, नियमित रूपमा साबुनपानी वा स्यानिटाइजरले हात धुनु पर्छ । ‘निपाह’ भाइरसबारे सर्ने तरिका, लक्षण, जोखिमबारे जानकारी राख्ने, आधिकारिक सूचना, सञ्जाल हेर्ने, स्वास्थ्य अधिकारीको निर्देशन पालना गर्ने, प्रभावित क्षेत्रबाट आएका वा शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्नु पर्छ ।

हालसम्म ‘निपाह’ भाइरसका घटना नेपालमा पुष्टि भएका छैनन् । साथै स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा पनि रहेका छन् । त्यसैले आमनागरिक आतङ्कित हुनु पर्दैन । बरु सबै नागरिकले आफू र परिवारलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न जरुरी छ । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायसँग समन्वय गर्दै अवस्था निरन्तर अनुगमन गरिरहेको छ । सर्वसाधारणलाई हल्लाको पछि नलाग्न मन्त्रालयले जारी गरेको आधिकारिक सूचना मात्र विश्वास गर्नु पर्छ । सबै नागरिक आतङ्कित नभई सचेत, सजग र जिम्मेवार भई सुरक्षित रहन जरुरी छ ।