प्रेम अधिकारी
पशुपतिनगर(इलाम), माघ २० गते । इलामको सूर्योदय नगरपालिका १० मा खेलमैदान निर्माणका लागि १८ रोपनी बढी जग्गा खरिद गरिएको छ । खेलमैदानको अभाव रहेको फिक्कल क्षेत्रमा चाँडै सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नका लागि स्थानीय युनाइटेड फिक्कल क्लबले रमितेमा १८ रोपनी १२ आना जमिन खरिद गरेको हो ।
क्लबको सचिव श्रृजन गदालका अनुसार खेल मैदान निर्माणका लागि २५ रोपनी जमिन पुर्याइने छ । १८ रोपनी १२ आना जमिनको लालपुर्जा क्लबले प्राप्त गरी सकेको छ भने थप जग्गाको लालपुर्जा लिने काम भइरहेको छ ।
क्लबले जग्गा खरिदका लागि रकम जुटाउन विभिन्न सांस्कृतिक कार्यक्रम, सडक महोत्सव, हाउसी खेल सञ्चालन गर्दै आएको थियो । सचिव गदालका अनुसार जग्गा प्राप्तीसँगै अब खेल मैदान निर्माणका लागि डिपिआर गरी आधुनिक खेल मैदान निर्माणको काम थालिने छ । क्लबले खेलमैदान निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गर्ने जनाएको छ । साथै एन्फामा समेत बजेटका लागि अनुरोध गर्ने भएको छ ।
युनाइटेड फिक्कल क्लबका अयक्ष चन्द्र फागोले वर्षौंपछि प्रयासमा क्लबको नाममा जग्गा प्राप्ति भएको बताउनुभयो । उहाले भन्नुभयो, ‘जग्गा नहुँदा समस्या थियो, अव आधिकारिक रूपमा काम गर्नका लागि बाटो खुलेको छ ।’
सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजार हो । बजार आसपास खेलमैदान नहुदा समस्या हुँदै आएको थियो । सूर्योदय नगरपालिका वडा नंं. १० का वडाध्यक्ष पेमा उगेन लामाले फिक्कलमा अन्तर्राष्ट्रिय स्तरको खेलमैदान निर्माण गर्नका लािग वडा र नगरले समेत क्लबलाई सहयोग गर्ने बताउनुभयो । यहाको मौषम समेत उपयुक्त भएकाले खेलकुद तालिम समेत सञ्चालन गर्ने गरी खेलमैदान निर्माण गर्नु पर्ने स्थानीय युवा अभिषेक प्रताप पौडेलले बताउनुभयो । भारतसँग सीमाना जोडिएको यस क्षेत्रमा भारतीय खेलाडीको समेत बाक्लो उपस्थिति हुने गरेको छ ।