• १९ माघ २०८२, सोमबार

नेपाल–भारत सीमाक्षेत्रमा ‘निपाह भाइरस’ को त्रास

blog

पशुपतिनगरमा सूर्योदय नगरपालिकाले स्थापना गरेको हेल्थ डेक्स । तस्बिरः प्रेम अधिकारी

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), माघ १९ गते । छिमेकी देश भारतको पश्चिम बंगालमा घातक निपाह भाइरस फैलन थालेपछि नेपालको सीमावर्ती क्षेत्रमा सचेतना अपनाउन थालिएको छ । 

इलामको सूर्योदय नगरपालिकासँग सीमा जोडिएको पश्चिम बंगालमा हाल दुई जना स्वास्थ्यकर्मीमा निपाह भाइरसको संक्रमण देखिएसँगै सूर्योदय नगरपालिकाले सीमा क्षेत्रमा सचेतना अपनाएको हो । 

नगरपालिकाले निपाह भाइरस नेपालमा प्रवेश गर्दा सीमावर्ती क्षेत्रबाट फैलन सक्ने भएकाले खुल्ला रुपमा हुने आवत–जावतमा कडाई गर्दै सीमावर्ती पशुपतिनगर बजारमा स्वास्थ्य चेकजाँचमा कडाई गर्ने भएको सूर्योदय नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्रीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पशुपतिनगरमा रहेको अस्पतालमा आइसोलेसन निर्माण गर्ने तयारी भएको छ । साथै नगरले पशुपतिनगरमा सञ्चालन गरेको हेल्थ डेक्समा सीमामा आउजाउ गर्ने ब्यक्तिको स्वास्थ्य परीक्षणमा कडाई गर्ने भएको छ । 

पशुपतिनगर लगायतका सीमा नाकाबाट खुल्ला रुपमा आउजाउ हुने गरेकाले नगरपालिकाले निपाह भाइरसबाट बच्न पहिलो चरणमा सरोकारवालासँग सचेतना कार्यक्रम गरेको छ । 

जिल्ला स्वाथ्य कार्यालय, नगरका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी र बिद्यालयका प्रधानाध्यापकसँग नगरले निपाह भाइरस र सर्ने तरिकाबारे प्रारम्भिक चरणमा जानकारी गराएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले निपाह भाइरस कोरोनाभन्दा घातक भएकाले अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी बढी जोखिममा रहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार चमेराबाट फैलिएको उक्त भाइरस पशुपंक्षी र जनावरबाट मानिसमा सर्ने भएकाले स्वास्थ्य सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । हालसम्म औषधी तथा खोप पत्ता लगाउन नसकिएको उक्त भाइरस सरेपछि ४ देखि १४ दिनमा लक्षण देखिने गरिएको छ । 

उक्त भाइरसले भेटेपछि सुरुमा टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्ने, खोकी लाग्ने र स्वास प्रश्वासमा समस्या देखिने गरेको फिक्कल अस्पतालका डा. सरोज दर्नालले जानकारी दिनुभयो । यो भाइरसले मस्तिस्क र फोक्सोमा असर गर्ने भएकाले भाइरस संक्रमितमध्ये ४० देखि ७५ प्रतिशतको मृत्यु हुने गरेको तत्थ्याङ्क रहेको छ । 

चमेराले जुठो हालेका फलफुलबाट र खजुरको रसबाट भारतमा यो भाइरस फैलिएको छ । स्वास्थ्य कार्यालय इलामका प्रमुख शाक्यले फलफुल खाँदा बोक्रा तासेर र तातोपानीमा राखेर खान सुझाव दिनुभयो । काटिएको मासु र पशुपंक्षीको ¥यालबाट यो भाइरस मानिसमा सर्नेगरेको छ । यो भाइरस हावाको माध्यम तथा स्वास प्रस्वासबाट भने सर्दैन । 

इलामको सलकपुरदेखि सन्दकपुरसम्मको ५२ दशमलब पाँच किलोमिटर क्षेत्र भारतसँग सीमा जोडिएको छ । यहाँ खुल्ला रुपमा दुबैतर्फ आउजाउ हुने गरेकाले जोखिम बढ्न सक्ने भएपछि नगरपालिकाले सचेतना सुरु गरेको सूर्योदय नगरपालिकाका कार्यबाहक नगर प्रमुख दुर्गाकुमार बरालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भारतको पश्चिम बंगाल हामीसँग सीमा जोडिएको खुल्ला क्षेत्र हो, यो भाइरस जतिबेला पनि हाम्रोमा फैलन सक्छ । भाइरस फैलन नदिन सक्रिय बन्नुपर्छ ।’