लमजुङ समाचारदाता
लमजुङ, माघ २० गते । मर्स्याङ्दी नदीमा जलयात्रीको घुइँचो लाग्थ्यो । माघदेखि जेठ र मध्य असोजदेखि मङ्सिरसम्म समूहगत (र्याफ्टिङ) र एक्लै (कायाकिङ) का लागि दौडिएका डुङ्गाले मर्स्याङ्दी नदी ढाकिन्थ्यो ।
कुनै बेला मर्स्याङ्दी साहसी विदेशी जलयात्रीको पहिलो रोजाइमा पर्थ्याे किन भने त्यसबेला यो नदी र्याफ्टिङका लागि नेपालकै उच्च श्रेणीको मानिन्थ्यो । र्याफ्टिङ फस्टाउन थालेपछि नदी किनारमा सयौँ होटेल निर्माण भए । सिजनका बेला मर्स्याङ्दी किनारमा हजारौँले रोजगार पाउँथे । त्यसबेला मर्स्याङ्दी किनारको रौनक नै बेग्लै थियो । अहिले भने मर्स्याङ्दी किनार सुनसान बनेको छ ।
र्याफ्टिङ व्यवसायीका अनुसार एक दशकयता मर्स्याङ्दीमा जलयात्रा गर्नेको सङ्ख्या शून्य छ । लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भरतकुमार श्रेष्ठका अनुसार र्याफ्टिङका लागि विदेशी जलयात्री आउन छाडेपछि मर्स्याङ्दी किनारमा खोलिएका होेटेल प्रायः बन्द भइसकेका छन् ।
दस वर्षअघिसम्म जलयात्री लमजुङको सदरमुकाम बेँसीसहरबाट भुलभुले हुँदै ङादी पुग्थे र त्यहाँबाट र्याफ्टिङ गर्दै फर्कन्थे । बेँसीसहर–चामे सडक बन्नुअघि बेँसीसहरबाट भुलभुलेसम्म डुङ्गा बोकाएर लगिने हुँदा रोजगारीको पनि राम्रै अवसर जुट्ने गथ्र्यो । कोही कोही त भुलभुलेबाट स्याँगेसम्म पुगेर लामो दुरीको र्याफ्टिङ गर्थे । अहिले स्याँगेसम्म मोटर गुड्न थालेको छ तर जलयात्री आउन छाडेका छन् ।
र्याफ्टिङका पथप्रदर्शक एवं दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीका अनुसार मर्स्याङ्दीको र्याफ्टिङ लमजुङको भुलभुलेबाट सुरु भएर चितवनको नारायणगढ पुगेपछि टुङ्गिन्थ्यो । भुलभुलेदेखि नारायणगढसम्मको र्याफ्टिङमा पाँच दिन लाथ्यो । तनहुँको खैरेनीमा मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण भएपछि तीन दिनमा छोटिएको जलयात्रा लमजुङको उदीपुरमा मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना बनेपछि यात्रा झनै छोटियो ।
अहिले मर्स्याङ्दीका विभिन्न ठाउँमा जलविद्युत् आयोजना बन्न थालेपछि जलयात्री पनि आउन छाडे । यतिबेला र्याफ्टिङ खुदीबाट उदीपुर, पाउँदीबाट तनहुँको विमलनगर र खैरेनीबाट चितवनको नारायणगढसम्मको झन्जटिलो यात्रा गर्नुपर्ने हुन्छ । मर्स्याङ्दीमा बनेका तीन ठुला जलविद्युत् आयोजना र बाढीपहिरोका समयमा अड्किएका ढुङ्गा सफा नगर्दा मर्स्याङ्दीमा र्याफ्टिङ गर्न जलयात्री झन्झट मान्ने गर्छन् । जसका कारण जलयात्री पर्यटक नआउँदा मर्स्याङ्दीको रौनक त हराएको छ नै आम्दनीको स्रोत पनि गुमेको छ ।
आजभोलि व्यावसायिक रूपमा र्याफ्टिङ हुन छाडेपछि मेला महोत्सवको अवसरमा मात्र र्याफ्टिङ गर्ने गरिएको छ । लमजुङ उद्योग वाणिज्य सङ्घले नवौँ लमजुङ महोत्सवको अवसरमा मस्र्याङ्दी नदीमा र्याफ्टिङ र कायाकिङ गराएको छ । मस्र्याङ्दीमा हराउँदै गएको र्याफ्टिङलाई प्रवर्धन गर्न महोत्सवको अवसरमा छोटो दुरीको जलयात्रा प्याकेज राखिएको हो । महोत्सवमा पर्यटन उपसमितिले बेँसीसहर–६, पुमाखोला दोभानदेखि मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको तलाउसम्म र बेँसीसहर–६ कै बेलौती बिसौनादेखि सोही गन्तव्यसम्म व्यावसायिक प्याकेज बनाएर र्याफ्टिङ सुरु गरिएको नवौँ लमजुङ महोत्सव पर्यटन उपसमिति संयोजक कृष्णजङ गुरुङले बताउनुभयो ।
मर्स्याङ्दी बचाऊँ अभियान बेँसीसहरका संयोजक राम थापाले र्याफ्टिङ व्यवसाय बचाउन पनि मर्स्याङ्दी नदी बचाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बेँसीसहरमा अलिकति नदी बचेको छ । प्राकृतिक सौन्दर्य, जलचर, थलचर र र्याफ्टिङका लागि पनि जोगाउनु पर्छ । हाइड्रो मात्रै भन्नुभन्दा पनि पर्यटनलाई पनि जोड दिनु पर्छ ।”
नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्ट्स (नारा) का अनुसार नेपालमा र्याफ्टिङ २०२७ सालदेखि सुरु भएर २०३२ सालबाट व्यावसायिक रूप पाएको हो । नेपाल भित्रिने कुल पर्यटकमध्ये १५ प्रतिशतले र्याफ्टिङ जाने नाराको अनुमान छ तर २०५६ सालदेखि नेपाल सरकारले र्याफ्टिङका लागि अनुमति लिनुपर्ने प्रावधान हटाएपछि यसको लेखाजोखा पनि हराएको छ ।