• २० माघ २०८२, मङ्गलबार

लमजुङमा बुझाइए ६९ नाल भरुवा बन्दुक

blog

लमजुङमा बुझाइए ६९ नाल भरुवा बन्दुक ।

नवीनराज कुइँकेल

लमजुङ, माघ २० गते । विभिन्न व्यक्तिले इजाजत लिएर राखेका ६९ थान हतियार प्रहरी प्रशासनलाई बुझाइएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लमजुङ प्रशासनले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको थियो । सो निर्देशनपछि ६९ थान हतियार प्राप्त भएको प्रहरीले जनाएको छ ।

हतियार राखेका व्यक्तिले आफूलाई पायक पर्ने नजिकको प्रहरी चौकीमा पुगेर हतियार बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतका अनुसार कुन्छामा ९ थान, भोटेओडारमा ७ थान, भोर्लेटारमा १३ थान, सुन्दरबजारमा ५ थान, चितिमा ४ थान हतियार प्राप्त भएको छ । यसैगरी तीनपिल्लेमा ८ थान, गौंडामा २ थान, जगतमा २ थान, भकुण्डेमा ५ थान, दुरडाँडामा १ थान र बेँसीसहरमा १४ थान हतियार बुझाइएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै जिल्ला सुरक्षा समितिले सम्वन्धित सबैलाई माघ ६ गते सूचना जारी गर्दै हतियार बुझाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार जिल्लामा एक हजार बढी हतियार भए पनि हालसम्म ६९ जनाले मात्र बुझाएको पाइएको हो ।

निर्वाचनलाई शान्तपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले माघ २० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो । प्रशासनले जारी गरेको सूचना अनुसार हतियार बुझाउने समय मङ्गलबारसम्म बाँकी रहेको छ । निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम प्रत्येक निर्वाचनका बेला जिल्लाका विभिन्न व्यक्तीसँग इजाजतसहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गर्दै आएको छ । केही समयका लागि हतियार प्रशासनलाई बुझाउन भने पनि निश्चित समयपछि फिर्ता गरिने प्रशासनले जनाएको छ ।

जिल्लामा इजाजत प्राप्त हतियार लिएका व्यक्तिहरूले जिल्ला प्रहरी कार्यलय वा नजिकको प्रहरी चौकीमा बुझाउन सक्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । इजाजत प्राप्त व्यक्तिहरूले हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजाना अन्तर्गत कारबाही गर्ने प्रशासनले जनाएको छ । साथै, सम्बन्धित सबैलाई सूचनाको पालना गर्न आग्रह गरिएको छ । 

प्रशासनको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१–८२ मा जम्मा एक सय ४३ थान हतियार मात्र नवीकरण भएको छ । सो अवधिमा २१ थान हतियारको नामसारी भएको छ । अघिल्लो वर्ष २०८०–८१ मा करिब तीन सय हतियार मात्र नवीकरण भएका थिए ।

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले हातहतियार नवीकरण नगरी सञ्चालन गर्नु अवैध हुने र यसले सुरक्षामा चुनौती थपिने बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार, अवैध रूपमा घरघरमै लुकाइएका एक सय ९७ थान हतियार गत आर्थिक वर्षमा मात्र बरामद गरिएका छन् । तीमध्ये अधिकांश हतियार विगत पाँच वर्षदेखि नवीकरण नभएका र दर्ता विवरण नभेटिएका बरामद गरिएको थियो ।

विगतमा सामाजिक प्रतिष्ठा, आत्मरक्षा र सिकारका नाममा अनुमति दिइएका हतियार अहिले कहाँ छन् भन्ने सुनिश्चित जानकारी राज्यसँग छैन । सशस्त्र द्वन्द्वकालमा हराएका थुप्रै हतियारहरूको समेत अभिलेख छैन ।