• २० माघ २०८२, मङ्गलबार

निर्वाचन आचारसंहिता पालना गर्न अनुगमन अधिकृतको अपिल

blog

जयकृष्ण यादव 

इनरुवा, माघ २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जिम्मेवारी तोकिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले सुनसरीमा निर्वाचन आचारसंहिता पालन गर्न अपिल गरेको छ । आयोगले तोकेका अनुगमन अधिकृतले जिल्लामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाधलिरहित, पारदर्शी एवं विश्वासनीय रूपमा सम्पन्न गर्न आचारसंहिता पालन गर्न अपिल गरेको हो ।

जिल्ला स्तरीय आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि गठित सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको टोलीले उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे,नगरेको बारे अनुगमन तथा कारबाही गर्ने भएकाले आचारसंहितालाई पालन गर्न अपिल गर्नुभएको छ ।

निर्वाचनलार्य स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वासनीय रूपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएकाले अधिकृतहरूले आचारसिंहता पालन गर्न १८ बुदें सूचना सहित अपिल जारी गर्नुभएको छ । उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिता पालना गरे, नगरेको बारे अनुगमन तथा कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार र निमित कोष नियन्त्रक हिमाल श्रेष्ठलाई अनुगमन अधिकृत तोकिएको छ ।

अनुगमन अधिकृतले राजनीतिक दल, उम्मेदवार, भ्रातृ सङ्गठन तथा सञ्चारमाध्यमले आचारसंहिता पालना गरे,नगरेको विषयलाई नियमन गर्ने जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो । निर्वाचन सफल बनाउन सबैको उत्तिकै दायित्व हुने भएकाले कोही कसैले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएमा अनुगमन अधिकृतले कारबाही गर्ने पौडेलले जानकारी दिनुभयो ।

अनुगमन अधिकृतले जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अङ्कित लोगो वा स्टिकर वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेटलगायत लगाए, नलगाएको, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार पोस्टर, भित्तेलेखन, तुल, डिजिटल डिस्प्लेको प्रयोग भएको वा नभएको विषय अनुगमन गर्ने बताइएको छ। 

निर्वाचन आचारसंहिता अनुसार सवारी साधनको प्रयोग भए नभएको, घोषणापत्र सार्वजनिक गरे नगरेको, निर्वाचन प्रचार प्रसारका लागि सरकारी, सार्वजनिक निकाय, गैर–सरकारी संस्थाबाट कुनै प्रकारको आर्थिक सहयोग लिए नलिएको, निर्वाचन खर्चका लागि बैँक तथा वित्तीय संस्थामा छुट्टै खाता खोल्ने तथा खर्च गर्ने पदाधिकारी तोकी खर्च गर्ने व्यवस्था गरे नगरेको लगायतका विषयमा अनुगमन गरिने जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आयोगले गत माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयन गरेको छ । सुनसरीमा आगामी निर्वाचनका लागि चार निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्रसहित १०८ जना उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन् । 

आयोगले सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरूलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य गर्ने जिम्मेवारी सहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।