मध्यविन्दु समाचारदाता
मध्यविन्दु, माघ २० गते । आउँदो फागुन २१ गतेको निर्वाचनको सरगर्मी नवलपुरमा पनि बढ्दै छ । यहाँका दलहरू निर्वाचनलक्षित घरदैलो अभियानदेखि बैठक तथा भेलामा जुटेका छन् । जिल्लाको कावासोती–१५, शेरगन्जमा रहेको माझी, मुसहर समुदायलाई भने निर्वाचनप्रति कुनै चासो छैन । नारायणी नदीमा माछा मारेर अनि दैनिक ज्यालामजदुरी गरेर यहाँका समुदायले जीवन निर्वाह गर्दै आइरहेका छन् । यसअघिका निर्वाचनमा भोट खसालेर विजयी बनेकाले आफूहरूको समस्या समाधान नगरेको यस समुदायको गुनासो छ । मध्यवर्ती क्षेत्रमा पर्ने शेरगन्जमा यो समुदायको १०६ वटा घरमा करिब छ सय हाराहारी जनसङ्ख्या बसोबास गर्दै आएका छन् ।
निर्वाचनका बेला दलहरूले भोट बैङ्कका रूपमा प्रयोग गर्ने गरेको समुदायका अगुवा सन्तबहादुर माझीले बताउनुभयो । आफूहरूको पहिलो माग नै लालपुर्जा रहेको माझीले बताउनुभयो । यसअघि लालपुर्जा दिन्छौँ भनेर नै भोट दिएको अहिलेसम्म प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । लालपुर्जाविहीन यो समुदायलाई दलको पहिलो आश्वासन नै लालपुर्जा दिन्छौँ भन्ने हुन्छ । अहिलेसम्म उनीहरूको हातमा लालपुर्जा प्राप्त भएको भने छैन । यसअघिका चुनावमा पनि लालपुर्जा दिन्छौँ भनेर भोट मागेका दलहरूले अहिलेसम्म लालपुर्जा नदिएको ५५ वर्षकी दुर्गा मुसहरले गुनासो गर्नुभयो । “भोट माग्दा लालपुर्जा दिलाउँछाैँ, बाटोघाटो बनाइदिन्छाैँ, नारायणी नदीमा तटबन्ध बनाइदिन्छाँै भन्छन् तर जितेपछि गाउँमै आउँदैनन्, अब त म भोटै दिन्नँ,” मुसहरले भन्नुभयो ।
कावासोती नगरपालिकाको मुख्य बजार कावासोतीबाट करिब सात किलोमिटरको दुरीमा रहेको भए पनि यो गाउँको विकास खासै हुन सकेको छैन । गरिब, विपन्न र पिछडिएको समुदाय भएकाले कोहीकसैले वास्ता नगरेको गुनासो यहाँका बासिन्दाको छ । स्थानीय दिप्रज्या माझीलाई पनि देशमा निर्वाचन हुन लागेकोमा कुनै वास्ता छैन । “सबै भोट माग्न आउँछन् । गाउँको विकास गर्छु भन्छन् । रोजगारी दिन्छु भन्छन् तर जितेपछि केही गर्दैनन् त्यसैले अब त म भोट पनि दिन्नँ,” माझीले भन्नुभयो ।
२८ वर्षका पृथीराम माझीले पनि यसअघि दुई पटक भोट हालेको बताउनुहुन्छ तर यस पटक भोट नहाल्ने मनसाय बनाएको उहाँले सुनाउनुभयो । “हामीले भोट दिएर जिताएर उनीहरू ठुलो मान्छे भएर पैसा कमाए, गाडी चढे तर हामी त जहाँको त्यहीँ छौँ । हामीलाई लालपुर्जा, खानेपानी दिन्छु भने, छोराछोरीलाई फिरीमा पढाइदिन्छु भने तर केही पनि गरेनन्,” माझीले भन्नुभयो ।