लहान समाचारदाता
लहान, माघ २० गते । आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा सिराहा निर्वाचन क्षेत्र नं. ३ मा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका उम्मेदवारबिचमा नै प्रतिस्पर्धा हुने स्थानीय सचेत मतदाताको भनाइ छ । २०७९ सालको निर्वाचनमा पूर्वमन्त्रीसमेत रहेका नेकपा (एमाले) का केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठले पूर्वमन्त्री तत्कालीन नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विश्वनाथ साहलाई एक हजार १८२ मतले पराजित गरी निर्वाचित हुनुभएको थियो ।
नेकपा (एमाले), जनता समाजवादी पार्टीबिचको गठबन्धनका उम्मेदवार श्रेष्ठ रहनुभएको थियो । माओवादी केन्द्रका उम्मेदवार साहलाई नेपाली कांग्रेस, तत्कालीन नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको थियो । यस पटकको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट अशेश्वर यादव र नेपाली कांग्रेस पार्टीबाट सुभाषचन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शम्भु यादव र जनमत पार्टीका रोहित महतोको उम्मेदवारीले बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
गोलबजार र सिराहा नगरपालिका, नरहा र विष्णुपुर गाउँपालिका र अर्नमा गाउँपालिका रहेको यस क्षेत्रमा यसअघिको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) ले जित हासिल गर्दै आइरहेको थिए । यस पटक यस क्षेत्रमा स्वतन्त्रसहित ४१ उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि प्रमुख पुरानो दलका पुरानो अनुहार र नयाँ दलका नयाँ अनुहार भएका उम्मेदवारबिचमै प्रतिस्पर्धा हुने शिक्षक राजकिशोर यादवको भनाइ छ । उहाँका अनुसार आफ्नो दलको असली हैसियत देखाउने चुनावी प्रतिस्पर्धाका रूपमा यो चुनावलाई लिइएको छ । उहाँले नेपाली कांग्रेस पार्टीमा आन्तरिक एकता सिराहामा देखिएकाले नेपाली कांग्रेस यस पटक बलियो रहेको बताउनुभयो ।
कृषि सडक निर्माण, शिक्षामा सुधार, सीमा सुरक्षा, व्यापार प्रवर्धन र कमला नदीमा स्थायी पुलको पुनर्निर्माणसहितका आवश्यकता यस क्षेत्रका जनताले गरेका छन् । सिराहास्थित सत्यनारायण सूर्यनारायाण मोरवैता क्याम्पसको पुरानो साख जोगाउन भरपर्दो आधार, प्राविधिक शिक्षाको व्यवस्थापन, सलहेस पर्यटनको विकास, स्वदेशमा रोजगारीसहितका विषयमा चुनावी विश्वसनीय प्रतिबद्धताको प्रतीक्षामा सचेत मतदाता रहेका छन् ।
यस पटक जाति र भूगोलभन्दा परिवर्तनको आवाज मतदाताले व्यक्त गरिरहेकाले नयाँ र पुरानो पुस्ताबिच प्रतिस्पर्धा हुन सक्ने सम्भावनालाई समेत नकार्न नसकिने पत्रकार अर्जुन थपलियाको भनाइ छ । यस क्षेत्रमा ह्याट्रिक लगाउने कसरतमा पूर्वन्याय तथा कानुनमन्त्री नेकपा (एमाले) का उम्मेदवार लीलानाथ श्रेष्ठ लाग्नुभएको छ भने २०७९ को निर्वाचनमा थोरै मतले पराजित पूर्वशान्तिमन्त्री नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विश्वनाथ साह मिहिनेत गरिरहनुभएको छ ।