• १२ साउन २०८१, शनिबार

बर्खे झरीमा चर्को भाडा, यात्रु मर्कामा

blog

मार्तडी–कोल्टी सडकखण्डमा चल्ने सवारीसाधनले चर्को भाडा लिएपछि पैदलयात्रा गर्दै सर्वसाधारण ।

रामबहादुर विक

मार्तडी, असार २८ गते  । बर्खाको समय झमझम पानी परेको छ, पहिरोका कारण कतिपय सडक हिलाम्मे छन् । सवारीसाधन पर्खेर बसेका यात्रुसँग सवारीचालक भने भाडामा मोलमोलाइ गरिरहेका भेटिन्छन् ।

दुर्गम पहाडी जिल्ला बाजुराका सर्वसाधारणले बर्खा होस् या हिउँदमा झरी लागेको बेलामा होस् वा पहिरोका कारण केही समय सडक अवरुद्ध भएमा र दसैँतिहारका बेला चालकले मुखले तोकेको भाडादरमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।  

यहाँका यातायात व्यवसायी र चालकका लागि बर्खे झरी भाडा बढाउने बहाना बनेको छ । मुगुको धैनाका राजमल मल्ल उच्च अध्ययनका लागि काठमाडौँ पढ्न निस्किनुभयो । धैनादेखि बाजुराको धुलाचौर हुँदै कोल्टी पुग्नलाई मल्लले बाजुराबाट काठमाडौँ पुग्ने भाडा खर्चिसक्नुभएको छ । मुगु–धुलाचौर–कोल्टी हुँदै बाजुरा सदरमुकाम मार्तडीसम्मको भाडा निकै महँगो तिर्नु परेको गुनासो उहाँले पोख्नुभयो । मुगु हुँदै काठमाडौँ जाने भाडा निकै महँगो भएपछि बाजुराबाट काठमाडौँ जान हिँडेका मल्लले यता झन् महँगोमा परेको गुनासो राख्नुभयो । 

कोल्टीदेखि मार्तडीसम्मको भाडा एक हजार पाँच सय रुपियाँ तिरेका मल्लले भन्नुभयो, “गाडी गुड्न थालेपछि सहज भयो तर गरिबले तिर्नै नसक्ने गरेर भाडा असुल्नु त ठिक भएन नि । पाँचसय रुपियाँ भाडा रहेको सडकमा यातायात व्यवसायीले दोब्बर÷तेब्बर भाडा असुल्ने गरेका छन् । बर्खाको समय, बाटो राम्रो छैन, पहिरो जान्छ, ज्यान जोखिममा राखेर गाडी चलाउनु पर्छ भन्ने कुरा यातायात व्यवसायी र चालकका लागि चर्को भाडा असुल्ने बहाना बनेको छ । जिल्ला प्रशासन र प्रहरीका अगाडि नै मनोमानी तरिकाले भाडा असुल्ने गरेको पीडित यात्रु बताउँछन् । 

बर्खाको समयमा ठुला सवारीसाधन मार्तडीबाट सिधै कोल्टी पुग्ने गरेका छैनन् । तीन÷चार ठाउँमा गाडी फेर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ । करिब ४१ किलोमिटर दुरी रहेको यो सडकखण्डमा यति चर्को भाडा असुल्नु गैरकानुनी कार्य भएको भनाइ यात्रुको छ । 

गन्तव्यमा जानैपर्ने बाध्यताका कारण धेरै जसो यात्रु चालकले बोलेको भाडादरमा नै आउजाउ गर्न बाध्य छन् । पीडित यात्रु नरबहादुर विक मार्तडी–कोल्टी सडकखण्डको अनाइ हँुदै दानसागुसम्मको भाडा एक हजार पाँच सय रुपियाँ तिरेको बताउनुहुन्छ । महँगो भाडा तिर्न नसक्नेहरू भने एक दिन पैदल हिँडेर आवातजावत गर्न बाध्य भएका छन् । भाडा महँगो भएका कारण कतिपय नागरिक मार्तडी–कोल्टीसम्मको आउजाउ पैदलयात्रा गर्ने गरेका छन् । सवारीसाधनमा चार घण्टा लाग्ने दुरीमा यात्रु एक दिनभर हिँडेर पुग्ने गरेका छन् । 

बर्खाको समयमा भाडामा केही तलमाथि भएको हुन सक्छ, यसलाई जटिल समस्या मान्न नहुने जवाफ प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको छ । “नियमभन्दा बढी भाडा असुल्नेलाई त कारबाही भइहाल्छ,” उहाँले भन्नुभयो । भाडाको विषयमा अहिलेको समय र परिस्थितिलाई ध्यानमा राख्नुपर्ने बुझाइ उहाँको छ ।  

चर्को भाडा असुलेर नागरिक ठगिँदै गर्दा सम्बन्धित निकाय मौन भएर बस्न नहुने नेकपा (एमाले) का सचिव काशी विकले बताउनुभयो । उहाँले प्रशासन कार्यालय र प्रहरीले अनुगमन गरी चर्को भाडा असुल्नेलाई कारबाही गर्नुपर्ने बताउनुहुन्छ । सवारीटिकट काउन्टरका कर्मचारी मनोज रोकाया सडकको अवस्था साह्रै खराब भएको र यातायात व्यवसायीलाई इन्धनको पैसा उठाउन समस्या भएकाले भाडा केही महँगो भएको  बताउनुहुन्छ । सडक जोखिम हुँदाहँुदै पनि एक दिनभर हिँड्नुपर्ने सडकखण्डमा गाडीले तीन घण्टामा गन्तव्य स्थानमा पु¥याउँछ भने यसलाई नै यात्रुले उपलब्धिमूलक सुविधा मान्नुपर्ने भनाइ रोकायाको छ । चालक गणेश बडुवाल पनि आफूहरूको जोखिमको उचित मूल्याङ्कन यात्रुले गर्नुपर्ने बताउनुहुन्छ । 

सवारीधनी तथा चालक र प्रशासनलगायत सरोकारवालाहरू यात्रुसँग मनलाग्दी भाडा असुली धन्दालाई बाध्यता र परिस्थिति भन्दै आएका छन् तर नागरिक अधिकारकर्मी भने विभिन्न बहानामा चर्को भाडा असुली नागरिक तथा यात्रुमाथिको लुट र कानुनी रूपमा अपराध कार्य भएको बताउँछन् ।