जुम्ला समाचारदाता
जुम्ला, असार २९ गते । जुम्लामा किसानले उच्च घनत्व फल्ने स्याउ विस्तारमा जोड दिन थालेका छन् । स्याउको क्षेत्र विस्तार गर्ने क्रममा इटालियन जातका गावा, फुजी, किङ्रेट, गोल्डेन, स्पिडलगायतका जातको स्याउ रोप्ने तथा उत्पादन वृद्धि गर्ने कामलाई जोड दिइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले ५० प्रतिशत अनुदान दिएर स्याउ वृद्धिमा सहयोग गर्दै आएको छ । कार्यालयका कृषि विकास अधिकृत खेमराज शाहीका अनुसार सुपरजोन कार्यालयबाट ५२ हेक्टरमा उच्च घनत्वको स्याउ किसानले रोपेका छन् । उहाँका अनुसार जुम्लामा आव २०७५/७६ सालबाट सुरु गरिएको परियोजनाबाट ५८ वटा स्याउ बगैँचामा लगानी भइरहेको छ ।
कार्यालयका अनुसार गुठीचौर गाउँपालिकामा मात्र स्याउ किसान मिनबहादुर भण्डारीको गुठीचौर एग्रोफर्मको मात्रै तीन वटा फर्ममा ४५ हजार बिरुवा रोपिएको छ । यस्तै किसान टङ्क गिरीको बगैँचामा १४ हजार बिरुवा रोपिएका छन् । कार्यालय प्रमुख सन्तोषकुमार चौधरीले यस वर्ष स्याउ सुपरजोनले गरेका कामको सर्वपक्षीय अनुगमनसमेत गरिएको जानकारी दिनुभयो । किसानलाई ७८ लाख बराबरको बगैँचा भएका किसानलाई अनुदान सहयोग गरिएको छ । उहाँले फुजी स्याउको विस्तारका विषयमा सरोकारवाला निकायलाई सम्बन्धित ठाउँमै जानकारी गराएको बताउनुभयो ।
कार्यालयले परियोजनाबाट सिँचाइ, घेराबार, टेलिस र तारमा लगानी तथा बिरुवा पनि ५० प्रतिशत लगानी गरेको छ । यस वर्ष असिना र पानीले स्थानीय स्याउ सखाप पारिरहेको अवस्थामा फुजी स्याउले केही आशा देखाएको कार्यालयले जनाएको छ । स्टार एग्रोफार्म तातोपानी गाउँपालिका–५ स्थित श्रीनगरचौरमा तीन हजार फुजी स्याउका बिरुवा रोपिएका छन् । किसान हरिबहादुर डाँगीका अनुसार इटालियन गाला र फुजी स्याउ रोपिएका छन् । कार्यालयले ५० प्रतिशत अनुदान दिँदा स्याउ खेती राम्रो भएको जनाएको छ । यस वर्ष १० लाख बढी आम्दानी हुने अनुमान पनि कार्यालयले गरेको छ । कार्यालयका अनुसार गत वर्ष बगैँचा खरिद दर १५० रुपियाँ थियो । यस वर्ष बढ्ने अनुमान गरिएको छ ।