• १२ साउन २०८१, शनिबार

अनेसासको अध्यक्षमा वाग्ले

blog

कृष्णराज खनाल

नर्थ क्यारोलिना, असार २७ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्षमा सर्वज्ञ वाग्ले (क्यालिफोर्निया) निर्वाचित हुनुभएको छ ।

अनेसासको निर्वाचन समितिले अमेरिकी समय अनुसार बुधवार दिउँसो निर्वाचनको घोषणा गरेको हो । वाग्लेले ८५९ मत पाउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी विमला निरौलाले ५९५ मत ल्याउनुभएको थियो ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार अनेसासको वरिष्ठ उपाध्यक्षमा कवि लालगोपाल सुवेदी निर्वाचित हुनुभएको छ भने अमेरिकी क्षेत्रको उपाध्यक्षमा अर्का कवि सुदीपभद्र खनाल निर्वाचित हुनुभएको छ । उहाँहरू दुवै प्रतिद्वन्द्वीभन्दा निकै फराकिलो मतान्तरले विजयी हुनुभएको हो । त्यस्तै, एसिया क्षेत्रीय उपाध्यक्षमा सरिता अर्याल, अफ्रिका क्षेत्रीय उपाध्यक्षमा गणेश खड्का, ओसिनिया क्षेत्रीय उपाध्यक्षमा हरिप्रसाद अधिकारी र युरोप क्षेत्रीय उपाध्यक्षमा डिल्लीराम अंगाई निर्वाचित हुनुभएको छ ।

अनेसासको महासचिवमा राजु सिटौला (डेनवर) चयन हुनुभएको छ । त्यसैगरी सचिवमा रविन शर्मा र कोषाध्यक्षमा तारा अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यमा पाँचै जना निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचित हुनुहुनेहरुमा पुष्पा खनाल, सुमन वर्षा घिमिरे, दीप कार्की, रत्नालोक्सोम सुब्बा र तारा उप्रेती हुनुहुन्छ ।

निर्वाचन समितिले बुधवार फेसबुकमार्फत निर्वाचन परिणामको प्रत्यक्ष प्रसारण गरेको थियो । निर्वाचनमा विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष वाग्लेले नेपाली भाषा र साहित्यको उन्नयनमा लाग्न थप प्रेरणा र उत्साह थपिएको बताउँदै आफ्नो कार्यकालमा सबै साहित्यकारहरूलाई समेट्न प्रयास गर्ने जानकारी दिनुभयो ।