• १२ साउन २०८१, शनिबार

सङ्कटापन्न तोपचराको गणना

blog

धनगढी समाचारदाता

धनगढी, असार २६ गते । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै पाइने सुनौलो तोपचरा (फिन्स विभर) को गणना सुरु गरिएको छ । सङ्कटापन्न सूचीमा रहेको सो प्रजातिको चराको सङ्ख्या, अवस्था पत्ता लगाउने उद्देश्यका साथ गणना सुरु गरिएको हो । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको समन्वयमा नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले गणना गर्न लागेको हो । बिसिएनले हरेक वर्ष यो निकुञ्जमा सुनौलो तोपचराको गणना गर्दै आएको छ । यस निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान, लालपानी, मोहनपुर, सिंहपुर, फाँटालगायत घाँसे मैदानमा सुनौलो तोपचरा पाइने गरेको छ ।

यसको सङ्ख्या अद्यावधिक गर्न गणना गरिने चराविद् हिरूलाल डङ्गौराले बताउनुभयो । उहाँले नेपालको शुक्लाफाँटामा मात्रै पाइने सुनौलो तोपचराको सङ्ख्या कम हुँदै गएको जानकारी दिनुभयो । गत वर्ष शुक्लाफाँटामा २११ वटा सुनौलो तोपचरा फेला परेका थिए । यसै गरी १२९ वटा सव्रिmय र ८९ निष्व्रिmय गुँड भेटिएको थियो । योभन्दा अघिल्लो वर्ष २४४ वटा सुनौलो तोपचरा अभिलेख गरिएको थियो । यस्तै १३९ वटा सव्रिmय गुँड देखिएको थियो । 

बासस्थानमा आएको परिवर्तनका कारण उक्त प्रजातिका चराको सङ्ख्या घट्ने अवस्थामा रहेको बताइन्छ । प्रजननको समयमा काग र चिबे प्रजातिका चराले सुनौलो तोपचराको अन्डा र बच्चा खाइदिने गरेको बताइन्छ । 

वैशाखदेखि जेठसम्म सुनौलो तोपचराले प्रजनन गर्नेे गर्छ । शुक्लाफाँटामा सन् १९९६ मा चरा विशेषज्ञ डा. हेमसागर बरालले सुनौलो तोपचरा फेला पार्नुभएको थियो । नेपालमा छातीकाले, धर्के, सुनौलो र बया गरी चार प्रकारका तोपचरा पाइने गरेका छन् । 

यो निकुञ्जमा सन् २०१४ मा ६०, २०१५ मा दुई सय र २०१६ मा २५० सुनौलो तोप चरा पाइएका थिए । यसै गरी सन् २०१७ मा सबैभन्दा बढी तीन सय, २०१८ मा २५४, २०१९ मा १७६, २०२० मा २५३, २०२१ मा २४८ र सन् २०२२ मा २४४ वटा सुनौलो तोपचरा पाइएको अभिलेख छ ।