• १२ साउन २०८१, शनिबार

चार गाउँमा बल्यो बिजुली

blog

पुष्कर भण्डारी 

डडेलधुरा, असार २६ गते  । नवदुर्गा गाउँपालिका–४ का गाउँमा लामो समयपछि बिजुली बलेको छ । सोलार र टुकीको भरमा उज्यालो बाल्न बाध्य यस क्षेत्रका चार गाउँका बासिन्दा बिजुली बलेपछि खुसी भएका छन् ।

वडा नम्बर ४ को इस्लेग, काकाडपानी, खटौटे, चलकट्टेलगायतका गाउँमा बिजुली पु¥याउन सफल भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मी अवस्थीले बताउनुभयो । बिजुली पुगेसँगै सयौँ घरधुरी लाभान्वित भएको उहाँको भनाइ छ । 

उहाँका अनुसार वडा नम्बर ४ को सिरोड गाउँमा गत वर्ष पुसमा बिजुली बलेको थियो । तत्कालीन बेलापुर गाउँ विकास समितिको मुकाम खुनीमा २०६० सालमै बिजुली बलेको थियो ।

तर खुनी आसपासका गाउँहरू सिरोड, कटाल, काकाडपानी, खटौटे, चलकट्टे, इसलेकलगायतका गाउँमा भने बिजुली बल्न दुई दशक लागेको छ । ढिलै भए पनि गाउँमा बिजुली बलेपछि स्थानीय खुसी भएका हुन् । 

आर्थिक वर्ष २०७८÷७९ मा करिब ५० लाख रुपियाँको लागतमा गाउँमा बिजुली बलेको हो । वडा नम्बर ४ सँगै ५ मा पनि विद्युत् विस्तारको काम अघि बढेको उहाँले बताउनुभयो । गत वर्ष नै बिजुली बलिसक्नुपर्ने भए पनि ठेकेदारको लापर्बाहीका कारण बिजुली बाल्न ढिलो भएको उहाँले बताउनुभयो ।

“ग्रामीण क्षेत्रमा कच्ची सडक, त्यसमाथि सामान ढुवानीको समस्या भयो,” उहाँले भन्नुभयो, “बिजुलीका तार, पोललगायतका सामग्री पु¥याउन गाउँपालिकाको डोजर प्रयोग गरेर सडक खन्यौँ । ठेकेदारको काममा सघाउन गाउँपालिकाले लाखौँ रकम खर्च गरेपछि बिजुली बलेको छ ।”

विसं २०७८ को अन्त्यमै विद्युत् विस्तारको काम सक्ने गरेर दुई वटा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जिल्ला कार्यालय प्रमुख रमेश अवस्थीले पोल गाडेर ठेकेदार बेपत्ता भएकाले ढिला भएको बताउनुभयो । 

उहाँका अनुसार बारम्बारको ताकितापछि गत वर्षदेखि ठेकेदारले काम सुरु गरेको थियो । आरआर कन्स्ट्रक्सन र सकुन इन्जिनियरिङ निर्माण सेवासँग अमरगढी नगरपालिका, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा विद्युत् विस्तारका लागि करिब ५० लाख रुपियाँको लागतमा ठेक्का सम्झौता भएको थियो तर निर्माण कम्पनी काम अधुरै छोडेर बेपत्ता भएका थिए । 

गत वर्ष २०८० सालमा विद्युत् विस्तारको काम गर्न ३५ लाख रुपियाँबराबरको भिन्नाभिन्नै तीन स्थान तोकिएर पुनः टेन्डर गरिएको उहाँले बताउनुभयो । ठेकेदारले समयमै काम पूरा नगर्ने समस्या रहेको उहाँको भनाइ छ । 

हाल डडेलधुराको ७५ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । बाँकी २५ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पु¥याउने काम भइरहेको र ठेकेदारले समयमै काम पूरा गरे चालु आवभित्रै शतप्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुग्ने विश्वास गरिएको छ ।