• १२ साउन २०८१, शनिबार

महिला एसिया कप : अभ्यास खेलमा नेपाल श्रीलङ्कासँग ३३ रनले पराजित

blog

काठमाडौँ, असार २५ गते। महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलङ्कासँग ३३ रनले पराजित भएको छ। एसिया कप खेल्न श्रीलङ्का पुगेको महिला राष्ट्रिय क्रिकेट टिमले श्रीलङ्का डेभलपमेन्टसँग पहिलो अभ्यास खेल खेलेको हो। 

टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलङ्काका लागि आई डुलानी र नुथ्याङगनाले समान २७–२७ रन जोड्नुभयो। उहाँहरू दुवै जनाले ४१–४१ बलको सामना गर्नुभएको थियो। श्रीलङ्का डेभलपमेन्टले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११८ रन बनाएको थियो। 

नेपालका लागि शबनम राईले १४ रन खर्चिएर तीन विकेट लिनुभयो भने राजमती ऐरीले १२ रन खर्चिएर एक विकेट हात पर्नुभयो। 

वर्षाले अवरुद्ध भएको खेल १५ ओभरमा छोटाउँदा नेपालले ९६ रनको लक्ष्य पछ्याएको  थियो। नेपालले पूरै १५ ओभर खेल्दै ९ विकेट गुमाएर मात्र ६३ रन बनाएको हो। नेपालका लागि रुबिना क्षेत्रीले १७ र सीता राना मगरले ११ रन जोड्नुभयो। 



नेपालको ब्याटिङ लाइनलाई कमजोर पार्न श्रीलङ्काका लागि देमी बिहङगाले मात्र ७ रन खर्चिए तीन विकेट हात पार्दा एम शिवानीले १० रन खर्चिएर दुई विकेट लिनुभयो। 

महिला एसिया कप अगाडि नेपालले श्रीलङ्कासँग तीन वटा अभ्यास खेल खेल्दैछ। साउन ४ गतेदेखि १३ गतेसम्म हुने एसिया कममा नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, मलेसिया, थाइल्यान्ड र युएईसहित आठ टिम सहभागी छन्। दुई समूहमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपालको समूहमा युएई, पाकिस्तान र भारत छन् ।