• १५ चैत २०८२, आइतबार

प्रधानमन्त्री कप एनभिए भलिबल लिगको तयारी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, चैत १५ गते ।  १० औँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग वैशाखको दोस्रो हप्ता सुरु हुने भएको छ । नेपाल भलिबल सङ्घ (एनभिए) ले शनिबार आयोजित पत्रकार सम्मेलनमा भलिबल लिग वैशाख १० देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुने जनाएको छ । 

यस प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ गरी कुल १४ टोलीको सहभागिता रहने छ । पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपिएफ, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम, कोशी प्रदेश र बुढानीलकण्ठ क्लब सहभागी हुने छन् । महिलातर्फ न्यु डायमन्ड, नेपाल प्रहरी, एपिएफ, सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

एनभिएका महासचिव रोशन श्रेष्ठले चैत महिनामा आयोजना गर्ने भनिएको प्रधानमन्त्री एनभिए महिला तथा पुरुष भलिबल लिग विविध कारण वश गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले यस पटक घरेलु भलिबल खेलकै इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठुलो नगद पुरस्कार भएको बताउनु हुँदै महिला र पुरुष पुरस्कारमा कुनै विवेध नगरी समान नगद पुस्कार प्रदान गर्ने जानकारी दिनुभयो । 

श्रेष्ठले भन्नुभयो, “नेपालको राष्ट्रिय खेल भलिबलको विकास, विस्तार र प्रवर्धनका लागि महिला/पुरुष विभिन्न उमेर समूहमा प्रतियोगिता गर्दै आएका छौँ । भलिबल खेलको व्यावसायिक विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न कुनै पनि विभेद नगरी बराबर गरेका हौँ । उहाँका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राखिएको छ । विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रो हुने टोलीले दुई लाख ५० हजार रुपियाँ पाउने छन् । 

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपियाँ प्रदान गरिने छ । एनभिएका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भलिबलको माध्यमबाट खेलाडीलाई सक्षम बनाउन यस प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो । पुरस्कार राशि धेरै छ, अझ महिला र पुरुषलाई बराबर पुरस्कार भएपछि खेलप्रति थप रुचि बढ्ने उहाँको विश्वास छ । 

चन्दले नेपाल भलिवल सङ्घको नीति अनुरूप एक टिममा बढीमा तीन जना विदेशी खेलाडी खेल्न सक्ने जानकारी दिँदै विदेशी खेलाडीको हकमा नेपाल सरकारको नियमानुसार सम्बन्धित टिमले श्रम स्वीकृतिलगायत अन्य आवश्यक प्रक्रिया मिलाउनुपर्ने बताउनुभयो । 

प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने छ । काठमाडौँबाहिरका टोलीका खेलाडीलाई दैनिक एक हजार दुई सय रुपियाँ र उपत्यकाभित्रका खेलाडीलाई तीन सय रुपियाँ खाजा खर्च उपलब्ध गराइने जनाइएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड १५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।