सिराज खान
नेपालगन्ज, चैत १५ गते । मानवसेवा आश्रमले लुम्बिनी प्रदेशभर सडकपेटी, सार्वजनिक स्थल वा खुला आकाशमुनि जीवन बिताइरहेका बेसहारा नागरिकको उद्धारका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ।
“सहयोगापेक्षी सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश” बनाउने लक्ष्यसहित सुरु हुने यस प्रदेशस्तरीय अभियान चैत १५ गतेदेखि चैत ३० गतेसम्म सञ्चालन गरिने आश्रमले जनाएको छ।
मानवसेवा आश्रम बाँकेका प्रमुख उर्विन सापकोटाले अभियानअन्तर्गत सडकमा अलपत्र, मानसिक रूपमा कमजोर, अशक्त वा अभिभावकविहीन व्यक्तिहरूको खोजी, उद्धार, स्वास्थ्यको प्रारम्भिक जाँच र सुरक्षित आश्रयमा व्यवस्थापन गरिने जानकारी दिनुभयो।
अभियान टोली लुम्बिनी प्रदेशका १२ जिल्लामा पुगेर प्रत्यक्ष अध्ययन र उद्धार सेवा प्रदान गर्ने तयारीमा छ। यसमा बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र रुपन्देही समावेश छन्।
सापकोटाका अनुसार अभियानको उद्देश्य केवल उद्धारमा सीमित नभई स्थानीय तह र सरोकारवालासँग सहकार्य गरी दीर्घकालीन रूपमा सडकआश्रित मानवमुक्त प्रदेश निर्माण गर्नु हो। हाल बाँकेको नेपालगन्ज आश्रममा ८० जना आश्रित छन्।
वि.सं. २०६९ देखि सक्रिय मानवसेवा आश्रमले बेसहारा, अशक्त र मानसिक रूपमा अस्वस्थ व्यक्तिको उद्धार, उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनमा काम गर्दै आएको छ। लुम्बिनी प्रदेशका विभिन्न शाखामार्फत ३७५ जना आश्रितलाई सेवा दिइँदै आएको छ।
संयोजक सरु अधिकारीका अनुसार रुपन्देही बुटवल शाखामा ५५, तिलोत्तमा १८०, दाङ ६० र नेपालगन्ज ८० जना आश्रितहरू संरक्षणमा छन्।
आश्रमले सर्वसाधारणलाई अपिल गर्दै सडकमा अलपत्र वा सहयोगापेक्षी व्यक्तिहरू देखिएमा नजिकको उद्धार टोली वा आश्रमलाई तत्काल जानकारी दिन आग्रह गरेको छ।